यस्तो छ पुटिन शासनमा षड्यन्त्रमूलक हत्याको शृङ्खला

पुटिनसँग शत्रुता गरेर प्रिगोजिन बाँच्न सम्भव थिएन

राजनीतिमा आउनुअघि पुटिन सोभियत जासुसी संस्था केजिबीका एक अधिकारी थिए । सायद त्यसैले हुनसक्छ पुटिन शासनकालमा विपक्षीको हत्या कुनै न कुनै दुर्घटना वा रहस्यमय प्रकृतिबाट हुने गरेको छ । रुसमा राजनीतिक हत्याको शृङ्खलाबारे पढ्नुहोस ।

यस्तो छ पुटिन शासनमा षड्यन्त्रमूलक हत्याको शृङ्खला

काठमाडौं । गत बुधबार दिउँसो रुसको कुजेनकिनो गाउँमा एक विमान आकाशबाट अस्वाभाविक तवरले भुइँतिर झर्दै गरेको देखियो । केही बेरपछि संसारभरि खबर फैलियो— दुर्घटना भएको विमानमा रहेका १० जनामध्ये एक विद्रोही सैन्य समूह वाग्नरका प्रमुख येवगेनी प्रिगोजिन थिए । प्रिगोजिनलगायत विमानमा सवार सबै यात्रु दुर्घटनामा मारिएका छन् ।

प्रिगोजिन तिनै विद्रोही सैन्य नेता थिए, जसले करिब २ महिना अघि पुटिन प्रशासनसँग विद्रोह गरेका थिए । विद्रोहको केही दिनपछि बेलारुसी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको मध्यस्थतामा प्रिगोजिन र पुटिनबीच सम्झौता भयो, विद्रोहबापत् प्रिगोजिनमाथि कुनै कारबाही हुने छैन भनिएको थियो ।

तर, रुसी राजनीतिको परम्परालाई हेर्दा पुटिनसँग शत्रुता साँधेर प्रिगोजिन लामो समय बाँच्न पाउने सम्भावना भने थिएन।  राजनीतिमा आउनुअघि पुटिन सोभियत जासुसी संस्था केजिबीका एक अधिकारी थिए । सायद त्यसैले हुनसक्छ, पुटिन शासनकालमा विपक्षीको हत्या कुनै न कुनै दुर्घटना वा रहस्यमय प्रकृतिबाट हुने गरेको छ । यसको लामो शृङ्खला छ ।

तसर्थ, धेरैको अनुमान थियो कि प्रिगोजिनमाथि पनि कुनै त्यस्तै घटना हुन सक्ने छ । बुधबार भएको विमान दुर्घटनालाई विश्वले अस्वाभाविक मानेको छैन । यद्यपि यसको निष्पक्ष छानबिन हुने र सत्यतथ्य बाहिर आउने सम्भावना भने छैन ।

राष्ट्रपति पुुटिन र वाग्नर प्रमुख प्रिगोजिन कुनै बेला असाध्यै मिल्ने साथी थिए । पुटिनले नै प्रिगोजिनलाई निजी सैन्य दस्ता गठन गर्ने अनुमति दिएका थिए । खासमा वाग्नर समूह पुटिनकै योजनामा गठन भएको थियो, जसको मुख्य उद्देश्य रुसी सेना औपचारिक ढङ्गले पठाउन नमिल्ने युद्धहरूमा यसलाई पठाउनु थियो ।

वाग्नर समूहले युक्रेनसँग युद्ध सुरू अघिदेखि नै त्यहाँका पृथकतावादीलाई भित्रभित्रै सहयोग गर्ने गरेको थियो । प्रिगोजिन युक्रेन युद्धप्रति समर्पित थिए । वाग्नर समूह युक्रेनविरुद्ध लडिरहेको थियो । त्यसका अतिरिक्त सिरिया, लिविया, माली, सुडानलगायत विभिन्न अफ्रिकी युद्धग्रस्त देशमा समेत वाग्नर समूह सामेल थियो ।

मे २५ को बखमुत घटनापछि प्रिगोजिन र पुटिनबीच समस्या सुरू भएको थियो । बखमुत ट्रेनिङ क्याम्पमा भएको क्षेप्यास्त्र आक्रमण युक्रेनले नभएर रुसी रक्षामन्त्री सेर्गेइ सोइगुको निर्देशनमा स्वयम् रुसी सेनाले गराएको प्रिगोजिनको आरोप थियो । त्यसको करिब १ महिनापछि जुनको अन्तिम साता वाग्नर समूहले विद्रोह गरेको थियो ।

भागेर बेलारुस पुगेका प्रिगोजिन लुकाशेन्कोको मध्यस्थतापछि रुस फर्किएका थिए । उनी र राष्ट्रपतिबीच सम्झौता भएको भनिए पनि प्रिगोजिन सुरक्षित हुने छैनन् भन्ने चर्चा व्यापक थियो । त्यसको कारण हो— पुटिन शासनकालमा भएका विपक्षीको राजनीतिक हत्या । पुटिन शासनकालमा त्यस्ता दर्जनौं व्यक्तिको हत्या र मृत्यु भएको छ, जसको अहिलेसम्म रहस्य खुलेको छैन ।

विद्रोह र सम्झौतापछि पुटिनले प्रिगोजिनलाई अफ्रिकी मिसनको कमाण्ड दिएका थिए । सायद त्यसपछि प्रिगोजिनलाई पुटिनबाट आफूले क्षमा पाएको र सुरक्षित भएको महसुस भएको थियो। तर, पुटिन प्रिगोजिनसँग बद्ला लिने उपयुक्त अवसरको प्रतीक्षामा छन् भन्ने धेरैको बुझाइ थियो ।

पुटिन शासनकालको रुसी राजनीतिमा विपक्षी नेता तथा सत्ताका आलोचक सार्वजनिक व्यक्तित्वको हत्याका केही महत्त्वपूर्ण घटना यस्ता छन्, जसको अहिले पनि स्मरण र चर्चा गरिन्छ।

सन् २००३ को अप्रिल १७ मा सर्गेइ युनेस्कोको हत्या भएको थियो । उनले त्यतिबेला संसदीय चुनावमा भाग लिन निर्वाचन आयोगमा लिबरल रसियन पार्टी दर्ता गराएका थिए । उनको पार्टीले देशभरि उम्मेदवार दिने घोषणा गरेको थियो । त्यसको १ घण्टाभित्र अज्ञात व्यक्तिले गोली हानी उनको हत्या गरेको थियो ।

सन् २००६ मा चर्चित पत्रकार एना पोलिसताकोभाया मारिएकी थिइन्, जसले ‘पुटिनन्स रुस : लाइफ इन फेलिङ डेमोक्रेसी’ किताब लेखेकी थिइन् । एकपटक उनलाई चेचेनिया जाने प्लेनमा एयर होस्टेजले बिष मिलाएको चिया दिएर मार्ने प्रयत्न गरिएको तर त्यो घटनामा उनी बाँचेकी थिएन । पछि उनको गोली हानी हत्या भयो ।

सन् २००९ मा सेर्गेइ म्यागनिटोभस्की पुलिस कस्टडीमा यातना दिएर मारिएका थिए । उनी उच्च कर अधिकारी थिए । कर प्रयोजनमा पुटिन प्रशासनका उच्च पदस्थ अधिकारीसँग विमति भएपछि उनलाई भ्रष्टाचारको आरोप लगाइएको थियो ।

सन् २००९ को अर्को घटनामा मानव अधिकारकर्मी मार्केलोभ र पत्रकार बबुरोभाको हत्यालाई पनि षड्यन्त्रमूलक नै मानिन्छ । क्रेमलिन नजिकै मार्केलोभले एक मानव अधिकार गोष्ठीको आयोजना गरेका थिए । कार्यक्रम सुरू हुनुअघि अज्ञात व्यक्तिले उनीमाथि गोली चलाए । कार्यक्रमका सहभागी हुन आएकी पत्रकार अनास्तासीया बाबुरोभा बचाउने प्रयत्न गर्दा मारिएकी थिइन् ।

सन् २०१३ को बोरिस बजेरोभस्कीको घटना अझै धेरै चर्चित र रहस्यमय छ । बजेरोभस्की रुसी शक्ति सभ्रान्त समूहका एक सदस्य थिए । तर, आफ्ना व्यावसायिक साझेदार (जो पुटिनका मित्र थिए) सँग उनको विवाद र असहमति चर्किँदै गएको थियो । उनी बेलायतको एक होटलमा सुतेको ठाउँमै मृत फेला परेका थिए ।

अर्को चर्चित राजनीतिक हत्या बोरिस नेमतोभको थियो । विपक्षी नेता नेमतोभ सन् २०१५ मा मारिएका थिए । उनी सोभियत संघको विघठनपछिको राजनीतिका एक नक्षत्र मानिन्थे । बोरिस यल्तसीनको शासनकालमा उनी उपप्रधानमन्त्री थिए । पुटिनको उदयपछि उनले लोकतन्त्र र मानव अधिकारको बिषयलाई लिएर आलोचना गर्ने गरेका थिए । सन् २०११ को संसदीय चुनावमा धाँधली भएको भन्दै लाखौंको जुलुस उनले नेतृत्व गरेका थिए। उनले रुसी संसद् दुमामा तीनपटक जितेका थिए ।

सन् २०१५ फेब्रुअरी २७ मा क्रेमलिन नजिक मस्कोको एक पुलमा पैदल हिँड्दै गर्दा पछाडिबाट ४ गोली हानेर उनको हत्या गरिएको थियो । नेमतोभको यो हत्यापछि रुसी समाज एकप्रकारले स्तब्ध भएको थियो ।

त्यसपछि सन् २०२० मा अलेक्सेइ नोभाल्नी काण्ड अघि आयो । नेमतोभको हत्यापछि युवा र उदयमान विपक्षी नेताको स्थान नोभाल्नीले लिएका थिए । मस्कोको मेयरमा उम्मेदवारी दिई उल्लेखनीय भोट पाएर उनी रुसी राजनीतिमा विशेष चर्चामा आएका थिए । उनलाई खानामा बिष मिसाएर दिइएको थियो तर संयोगले बाँचे । जर्मनीमा ३२ दिनको उपचारपछि उनी रुस त फर्किए तर अहिले पनि जेलमै छन् ।

रविल माग्नोभ रुसको सबैभन्दा ठूलो तेल कम्पनी लुकोआयलका अध्यक्ष थिए। युक्रेन युद्धपछि उनले पुटिनको विरोध गर्न थाले । यस्तो युद्धले रुसलाई कुनै फाइदा नहुने भन्दै उनले शान्तिवार्ताद्धारा युद्ध अन्त्य गर्नुपर्ने विचार सार्वजनिकरूपमै राख्न थालेका थिए । सन् २०२२ सेप्टेम्बर १ मा मस्को अस्पतालको छैठौं तलबाट खसेर उनको रहस्यमय ढंगले मृत्यु भएको थियो ।

यूरी वोरोनोव, रुसको एस्ट्रा शिपिंग कम्पनीका सिइओ तथा संस्थापक थिए । १९ जुलाई २०२२ मा सेंट पीटर्सबर्गस्थित आफ्नै घरको स्विमिंग पूलमा ६१ वर्षिय वोरोनोव मृत अवस्थामा भेटिए । यो हत्याको आरोप पनि पुटिनमाथि लागेको छ ।

वोरोनोवको शरीरमा गोलीका निशानसमेत भेटिएको थियो । पुलिसकाअनुसार उनको गोली हानेर हत्या गरेपछि पुलमा फालिएको थियो । उनको व्यापारिक साझेदारसँग झगडा भएको थियो । ति साझेदार पुटिनका नजिकका मानिस थिए ।

यी र यस्ता अन्य धेरै हत्यामा रुसी जासुसी संस्थाको हात हुन सक्ने अनुमान गरिन्छ । तसर्थ, वाग्नर विद्रोही येवगेनी प्रिगोजिन पनि ढिलोचाँडो मारिन्छन् भन्ने धेरैको आशंका थियो, जो सत्य सावित भयो ।

(द वासिङगटन पोष्ट र भाष्कर दैनिकको सहयोगमा)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved