कसरी गर्दै हुनुहुन्छ सामाजिक सञ्जालको प्रयोग ? कतै एकोहोरो हुनु भएको त छैन ?

सामाजिक सञ्जालबाट अनेक प्रकारका प्रस्ताव वा झुठा अपिल पनि आइरहेका हुन्छन्, त्यसबाट प्रभावित भएमा व्यक्तिगत तथा पारिवारिक जीवन बर्बाद हुन सक्दछ । मानवीय जीवनको वैयक्तिक पक्ष, व्यक्तित्व विकास वा सामाजिक छवि निर्माणमा सामाजिक सञ्जालले मुख्य पाँच बेफाइदा पुर्‍याइरहेको हुन्छ।

कसरी गर्दै हुनुहुन्छ सामाजिक सञ्जालको प्रयोग ? कतै एकोहोरो हुनु भएको त छैन ?

काठमाडौं । इन्टरनेटलाई सूचना–प्रविधिको सर्वाधिक अत्याधुनिक र जादुगरी आविष्कार मानिन्छ । तर, यसको प्रभाव सूचना–प्रविधिको क्षेत्रमा मात्र सीमित छैन । मानवीय जीवनका अन्य पक्ष सामाजिक, आर्थिक, साँस्कृतिक तथा मनोवैज्ञानिक प्रभावसमेत उत्तिकै बलियो हुँदै गएको छ ।

त्यसो त, इन्टरनेटको आविष्कार हुनुअघि नै कम्प्युटर विज्ञानको जन्म भइसकेको थियो। इन्टरनेट खासमा कम्प्युटर विज्ञानकै विस्तारित रूप पनि हो । विश्वभरि छरिएर फरक-फरक ठाउँमा रहेका कम्प्युटरहरूको सञ्जालीकरण नै एक अर्थमा इन्टरनेट हो ।

जसरी कम्प्युटर विज्ञान उपयोगका क्षेत्र असीमित छन्, त्यसैगरी इन्टरनेट प्रविधिको प्रयोग कसले कहाँ, कुन प्रयोजनका लागि गरिरहेको छ भनेर साध्य छैन । त्यहीमध्ये एउटा रूप हो–सामाजिक सञ्जाल ।

सामाजिक सञ्जाल इन्टरनेट प्रविधि उपयोग गरेर बनाइएको एक यस्तो खुल्ला मञ्च हो, जहाँ भर्चुअल तरिकाले विचार, भावना, सिर्जना र स्वार्थहरूको सार्वजनिक अभिव्यक्ति गर्न सकिन्छ ।

शब्द, फोटो र भिडियो सामाजिक सञ्जालमा प्रयोग हुने मुख्य सामग्री हुन्। यी तिनै प्रकारका सामग्रीको प्रयोग सामाजिक सञ्जालमा रेडियो, टिभी र प्रेस प्रविधिमा भन्दा बढी सहज, सघन र प्रभावकारी हुन्छन् । ‘स्मार्ट फोन’ मै कम्प्युटर विज्ञानको व्यापक प्रयोग भएपछि कम्प्युटर र स्मार्ट फोनको दूरी स्वात्तै हरायो ।

सामाजिक सञ्जालका रूपमा संसारभरि दर्जनौं कम्प्युटर एप्स प्रयोग भइरहेका छन् । तीमध्ये फेसबुक, ट्विटर, टिकटक, इन्स्टाग्राम, लिंकइन सबैभन्दा लोकप्रिय छन्। त्यसो त युट्युबलाई पनि भिडियो सेयरिङ गर्ने सामाजिक सञ्जाल मान्न सकिन्छ, जो निकै लोकप्रिय छ । भाइवर, ह्वाटसेप, विच्याटजस्ता एप्सले इन्टरनेट संवादलाई सहज बनाएका छन्।

सामाजिक विज्ञानका फाइदाको चर्चा गर्नै परेन । तर, बुझ्न के आवश्यक छ भने यसका बेफाइदा पनि छन् । मानवीय जीवनको वैयक्तिक पक्ष, व्यक्तित्व विकास वा सामाजिक छवि निर्माणमा सामाजिक सञ्जालले मुख्य पाँच बेफाइदा पुर्‍याइरहेको हुन्छ।

१. ज्ञान संकुचनको जोखिम

हिजो मानिस निश्चित कोर्स, शिक्षा वा सन्दर्भग्रन्थको अध्ययनपछि मात्र कुनै खास विषयको ज्ञाता, विज्ञ वा जानकार मानिन्थे । कुनै न कुनै प्रकारको आधिकारिक अध्ययन, सन्दर्भस्रोत र तथ्यांक विना बोल्न, लेख्न वा तर्क गर्न हिचकिचाउँथे ।

एउटा युग थियो– किताबको । त्यसपछि समाचार पत्रको युग आयो । किताब नपढे पनि मान्छे कुनै खास विषयमा बुझ्न अखबारका केही लेखहरू पढ्थे । सामाजिक सञ्जालको युगमा मान्छेको सूचना र ज्ञान छोटो स्टाटस वा ट्विटहरूमा सीमित हुँदै गएकोे छ । छोटा ट्वीट र स्टाटसले मान्छेलाई सेलिब्रेटी बनाउँदैछ, जसरी १५ सेकेन्डको टिकटकले कलाकार जन्माउँदैछ ।

यसको अर्थ हो कि सामाजिक सञ्जालले सीमित स्पेस, क्षमता र ज्ञानमै रमाउन र त्यसैको बजारीकरण गर्न मान्छेलाई प्रेरित गरिरहेको छ । मान्छेको ज्ञान संकुचन, विज्ञता र क्षमता सीमित हुँदै गइरहेको छ ।

सामाजिक सञ्जालका ट्विट वा स्टाटसले आलेख, जर्नल, अनुसन्धान पत्र तथा कार्यपत्र, किताब पढनुपर्ने आवश्यकताको अन्त्य गर्न सक्दैन तर, गम्भीर अध्ययनको संस्कार, संस्कृति र प्रवृत्तिलाई निरुत्साहित भने गर्दछ । छोटो स्टाटस पढेरै मान्छेलाई संसार बुझेजस्तो भ्रम पैदा हुन सक्दछ । सामाजिक सञ्जालमा डुब्नुभएको छ भने एक क्षण रोकिनुस र आफैँलाई प्रश्न गर्नुस्, तपाई‌ंको अध्ययन, ज्ञान, विषय विज्ञता र क्षमता संकुचन हुँदैछ कि विस्तार ?

२. प्रायोजित सूचनाको बाढी

सामाजिक सञ्जालमा आउने सूचनाको बाढी सबै मौलिक वा अर्गानिक हो भनेर विश्वास गर्न सकिँदैन, जस्तो कि धेरैलाई भ्रम परेको हुन्छ । सामाजिक सञ्जालको प्रायोजित उपयोग हुन थालेको धेरै भयो । विभिन्न राजनीतिक दल, संघसस्था र अभियानकर्ताले सञ्जालको प्रयोजित उपयोग गरिरहेका हुन्छन् ।

भारतमा सत्तारुढ दल भाजपाको विशेष आईटी सेल र वार रुम नै छ भनिन्छ । सन् २०१४ र सन् २०१९ को चुनावमा त्यसको व्यापक प्रयोग भएको अध्ययन प्रतिवेदनले बताउँछन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पले ट्विटरलगायत सामाजिक सञ्जालको व्यापक प्रयोग गरेका थिए । यस्ता उदाहरण संसारभरि धेरै छन् ।

सामाजिक सञ्जालको प्रायोजित उपयोग गर्न ‘साइबर सेना’ बनाइन्छन्, जसले कुनै निश्चित उद्देश्य र लय प्रक्रिएर प्रयोजित ट्रेन्डिङ गर्छन् । नेकपा एमाले अध्यक्ष ओलीले आफ्ना कार्यकर्तालाई साइबर सेनाको भूमिका गर्न निर्देशन दिएका थिए, जसको ‘अरिंगाल सेना’ भनेर व्यापक आलोचना भएको थियो ।

काठमाडौंको मेयरमा बालेन्द्र शाह, धरानमा हर्क साम्पाङ र रवि लामिछाने नेतृत्वको रास्वपाको उदयमा सामाजिक सञ्जालको प्रायोजित उपयोगले पर्याप्त भूमिका गरेको ठानिन्छ ।

सोच्नुहोस् त, कतै तपाईं पनि कुनै प्रायोजित ट्रेन्डिङ सामग्रीको शिकार त हुनुभएको छैन ?

३. एकोहोरोपन

सामाजिक सञ्जालको ‘एल्गोरिदम’ कमैले ध्यान दिने त्यस्तो पक्ष हो, जसले प्रयोगकर्तालाई एकै प्रकारका सामग्रीको साँघुरो घेराभित्र फसाउँछ। सामाजिक सञ्जालमा तपाईं जुन प्रकारका सामग्री बढी पढ्नु वा हेर्नुहुन्छ, सामाजिक सञ्जालले तपाईको पेजमा त्यही प्रकारका सामग्री बढी आपूर्ति गर्दछ । यसले गर्दा मान्छेमा कुनै खास प्रकारका मात्र सामग्री हेर्न वा कुनै एक पक्षको मात्र तर्क सुन्ने आदत बन्न सक्दछ ।

यस्तो ‘एडिक्सन’ मान्छेको बहुआयामिक व्यक्तित्व विकासका लागि निकै खतरनाक हुन्छ । जब हामी कुनै एक प्रकारका सामाग्रीमा आफूलाई सीमित गर्दछौं, सुचना र ज्ञानको फराकिलो संसारबाट टाढिन्छौं । हामी एकांकी वा एकोहोरो हुँदै जान्छौं ।

हामीले निम्न कोटीका वा मध्यम गुणस्तरका सामग्रीमा रमाएर उत्कृष्ट सामग्रीसम्मको पहुँच अवसरलाई गुमाएका हुन सक्दछौं । यसले हाम्रो रुचि, आदत, सोच र समझको स्तरलाई नै एकांकी बनाउन सक्दछ । सामाजिक सञ्जाल प्रयोग गर्दा सधैं यो कुरा ध्यान राखौं कि, हामी त्यसको एल्गोरिदमको शिकार भएका छौं कि छैनौं ?

४. पूर्वाग्रही छवि निर्माणको सम्भावना

कुनै घटना वा सन्दर्भमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिन वा कसैको अभिव्यक्तिमा टिप्पणी गर्न धेरै मानिस हतारिएका देखिन्छन् । कतिपयले त न्युज ब्रेक थ्रु गर्ने लालसाले मानिसको निधन नहुँदै समवेदना लेख्न वा श्रद्धाञ्जली गर्न भ्याइसकेका हुन्छन् ।

यस्तो हतारो वा अधैर्यताले मानिसको व्यक्तित्व तथा सार्वजनिक छवि निर्माणका हानी पुग्दछ । गल्तीपछि गरिने क्षमायाचनाले मात्र त्यसको परिपूर्ति गर्दैन ।

सामाजिक सञ्जालमा लोकप्रिय वा भाइरल हुनु आफैँमा नराम्रो हैन तर, लोकप्रिय वा भाइरल हुने नाममा प्रदर्शन हुने अधैर्यता र असंगत व्यवहारले भने आफैँलाई हानी गरिरहेको हुन्छ । द्रुत प्रतिक्रियाको लोभले मान्छेलाई पूर्वाग्रही बनाउँदै लैजान्छ । जब कुनै कुरा हामी सार्वजनिक रूपमा भनी सक्दछौं, त्यो एकप्रकारको अडान वा इंगोको विषय बन्न पुग्दछ ।

त्यस्ता अधैर्य, गलत, अश्लिल वा पूर्वाग्राही अभिव्यक्ति तथा टिप्पणीले मान्छेलाई जीवनभरि लखेटिरहन्छ । मान्छेको व्यक्तित्व र सार्वजनिक छवि निरन्तर विकासवान हुन्छ । आज भनिएका कुरा तपाईंको भोलि निर्माण हुने व्यक्तित्व र सार्वजनिक छविका लागि पनि हानिकारक सावित हुन सक्दछन्।

कुनै पद वा जिम्मेवारीमा नहुँदा तपाईंले कुनै कुरा लेख्नुभयो, भोलि आफैँ त्यो पद र जिम्मेवारीमा पुग्नभयो भने मान्छेले त्यस्ता ट्विट र स्टाटस उधिनेर निकाल्नेछन् । तसर्थ, सामाजिक सञ्जालमा त्यस्ता कुरा भरसक नलेख्न उचित हुन्छ, जो भोलिको करिअरका लागि हानीकारक वा नैतिक संकट सिर्जना गर्ने खालका हुन्छन् ।

५. वैयक्तिक उत्तरदायित्व र स्वास्थ्यमा कुप्रभाव

र अन्तिम बेफाइदा हो वैयक्तिक उत्तरदायित्व र स्वास्थ्यको प्रश्न । तपाईं सामाजिक सञ्जालको प्रयोग कति बेला कति समय गर्दै हुनुहुन्छ, त्यसले तपाईंको शारीरिक तथा मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्दैछ ? यो अहं विषय हो । सामाजिक सञ्जालको प्रयोगमा धेरै समय लगाएको कारणले हामी व्यावसायिक, सामाजिक तथा पारिवारिक दायित्वबाट विमुख भइरहेका त छैनौं ?

राति निद्रा अपुग हुनेगरी सामाजिक सञ्जालको प्रयोग गर्नुहुँदैन । अधवैंशेहरू न्युनतम ६ घन्टा र बालबच्चा तथा युवायुवती न्यूनतम ८ घन्टा सुत्नै पर्दछ । सुत्नु, मस्तले निदाउनु भनेको समय खेर फाल्नु हैन, आफूलाई स्वस्थ्य राख्नु र भोलिका लागि काम गर्न तरोताजा पार्नु हो ।

चिकित्सक भन्छन् कि, कम्प्युटर तथा स्मार्टफोनमा दुई घन्टा निरन्तर काम गरेपछि आँखालाई कम्तीमा १० मिनेट रेस्ट दिनु उचित हुन्छ । कतिपयले यसरी एकहोरो सामाजिक सञ्जालको प्रयोग गर्दछन् कि उनीहरू खाना, खाजा खाने तालिका नै गडबड हुन्छ । एकहोरो सामाजिक सञ्जालको प्रयोगले पारिवारिक असहजता ल्याउने र भर्जुअल जोखिमहरूमा फस्ने सम्भावनालाई पनि उत्तिकै बढाउँछ ।

सामाजिक सञ्जालबाट अनेक प्रकारका प्रस्ताव वा झुठा अपिल पनि आइरहेका हुन्छन्, त्यसबाट प्रभावित भएमा व्यक्तिगत तथा पारिवारिक जीवन बर्बाद हुन सक्दछ । साइबर अपराधको सम्भावना बढ्दछ ।

सामाजिक सञ्जालको अस्वभाविक प्रयोगले मानसिक थकान र तनाव बढाउँदछ । सामाजिक सञ्जालको प्रयोग गर्दा तपाईंले यी र यस्ता अन्य पक्षहरूलाई कत्तिको ध्यान दिने गर्नुहुन्छ ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved