बङ्गलादेशमा डेङ्गुबाट मर्नेको सङ्ख्या ४०० नाघ्यो, ८५ हजारभन्दा बढी सङ्क्रमित

नेपालभ्युज

बङ्गलादेशमा डेङ्गुबाट मर्नेको सङ्ख्या ४०० नाघ्यो, ८५ हजारभन्दा बढी सङ्क्रमित

काठमाडौं।  बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन सय ९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा दैनिक दुई हजार ९०५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको र जनवरीयता डेङ्गुका सङ्क्रमितको सङ्ख्या ८५ हजार ४११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अस्पताल र क्लिनिकबाट थप दुई हजार ९९१ जना निको भएर घर फर्केपछि निको हुनेको सङ्ख्या ७५ हजार २८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस वर्षको अगस्टमा १४७, जुलाईमा २०४ र जुनमा ३४ जनाको मृत्यु भएको छ । गत महिना ४३ हजार ८५४ जनामा लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण देखिएपछि अगस्टको पहिलो १३ दिनमा थप ३३ हजार ५७९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग डेङ्गु ज्वरो आउँदा टाउको दुख्ने, उच्च ज्वरो आउने, थकाइ लाग्ने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, वान्ता हुने र चिलाउने जस्ता लक्षणहरू देखा पर्छन् ।

एडिस मूलतः उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय क्षेत्रमा पाइने लामखुट्टेको प्रजाति हो । तर, यो प्रजाति अहिले अन्टार्कटिका बाहेक सबै महादेशहरूमा फैलिसकेको पाइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved