कर्णालीको सुन्दरता नबिगार्न माग गर्दै सर्वोच्चमा मुद्दा

कर्णालीको सुन्दरता नबिगार्न माग गर्दै सर्वोच्चमा मुद्दा

सुर्खेत । कर्णाली नदीको सुन्दरता नबिगार्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । कर्णाली नदी संरक्षण क्षेत्रका स्थानीय, वातावरण कानून समाज नेपाल र नेपाल नदी संरक्षण संस्थालगाएतका २५ जना रिट निवेदकले संयुक्त रुपमा नेपाल सरकारका विभिन्न कार्यालयलाई विपक्षी बनाउँदै शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

कर्णाली नदीमा कुनै पनि विकास निर्माण गर्दा दीगो विकास र नदी संरक्षण हुनेगरी मात्रै गर्ने परमादेश माग गरी मुद्दा दायर भएको छ ।

कर्णाली नदीमा विद्युत उत्पादनका विभिन्न आयोजनाहरु सञ्चालनमा छन् । ती आयोजना निर्माण हुदाँको अवस्थामा कर्णाली नदीको प्राकृतिक सुन्दरतालाई असर नपर्ने गरी बहुउपयोगीताको आधारमा नदी प्राणलीको संरक्षण गर्दै विकास निर्माणको कार्य गर्नू–गराउनू भन्ने परमादेशको आदेश पनि मागिएको वातावरण कानून समाज नेपालका अध्यक्ष तथा अधिवक्ता पदमबहादुर श्रेष्ठले जानकारी दिए ।

‘कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सिमानाको रुपमा करिब ५०७ किलोमिटर उत्तरको तिम्बतबाट नेपालहुँदै भारतको पवित्र गंगा नदीमा गएर मिसिने नेपालको एक मात्र नदी कर्णाली हो’, उनले भने, ‘कर्णाली नदीलाई दीगो विकास तथा संरक्षण गर्नको लागि एक छुट्टै कर्णाली नदी संरक्षण, बहुउपयोग तथा व्यवस्थापन समिति गठन गरी कार्यान्वयन गर्नू, गराउन पनि माग गरिएको छ ।’

कर्णाली नदीमा भइरहेको गैरकानूनी उत्खनन्लाई पनि रोक्नुपर्ने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved