२१ प्रतिशतले घट्यो निर्यात

नेपालभ्युज

२१ प्रतिशतले घट्यो निर्यात

काठमाडौं। सरकारले निर्यात प्रवर्द्धनका लागि सहजीकरण गरिरहेको भए पनि निर्यात लगातार घट्दो छ । आर्थिक वर्ष २०७९/८० मा नेपालको कुल निकासीमा २१ दशमलव चार प्रतिशतले ह्रास आएको छ । गत आवमा एक खर्ब ५७ अर्बको वस्तु निकासी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले कुल पैठारीमा १६ दशमलव एक प्रतिशतले ह्रास आएको जानकारी दिए। गत आवमा १६ खर्ब ११ अर्बको वस्तु आयात भएको थियो ।

गत आवमा नेपालको कुल वैदेशिक व्यापारमा पनि गिरावट आएको छ । सो आवमा कुल १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ६ प्रतिशतले कमी हो ।

“गत आवको प्रारम्भिक तथ्याङ्कअनुसार कुल व्यापारमा आठ दशमलव नौ प्रतिशत निकासी र ९१ प्रतिशत पैठारीको योगदान छ”, उनले भने, “समीक्षा अवधिमा नेपालको कुल निकासी २१ दशमलव चार प्रतिशतले ह्रास आएको छ।”

आव २०७८-७९ मा निकारी पैठारी व्यापारको अनुपात १ः९.६ रहेकामा गत आवमा सो अनुपात १ः१० पुगेको सचिव मरासिनीले जानकारी दिए । उनले व्यापार सन्तुलनका लागि व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ र नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयनका लागि सरोकारवाला निकायका सचिवसँग छलफल गरिएको बताए ।

उद्योगमन्त्रीको अध्यक्षतामा बोर्ड अफ ट्रेडको बैठक सम्पन्न भई नेपालको निर्यात व्यापार प्रवर्द्धनका सम्बन्धमा महत्त्वपूर्ण निर्णय भएको उनले जानकारी दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved