गत आवमा ७८ करोड बराबरको सिमेन्ट निर्यात

नेपालभ्युज

गत आवमा ७८ करोड बराबरको सिमेन्ट निर्यात

काठमाडौं। गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट रु ७८ करोड बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले रु ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात भएको छ ।

विभागका अनुसार गत आवमा रु ३५ करोड ८९ लाख ५१ हजार बराबरको ६ लाख सात हजार ७३ मेट्रिक टन सिमेन्ट र रु ४२ करोड तीन लाख ५५ हजार बराबरका तीन लाख ९६ हजार ९५० मेट्रिक टन क्लिङ्कर निर्यात भएको छ ।

हाल पाल्पा, अर्घाखाँची र बालाजी गरी तीन सिमेन्ट उद्योगले भारतमा सिमेन्ट निर्यात गरिरहेका छन् । साथै, अन्य उद्योग निर्यातको तयारीमा छन् । गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्रान्ड भारततर्फ निर्यात सुरु भएको थियो । साथै असोज ३१ गतेदेखि अर्घाखाँची र जेठ २९ गतेदेखि बालाजी सिमेन्टले ‘बाहुबली’ र ‘ सृष्टि’ ब्रान्डमा पीपीसी सिमेन्ट निर्यात सुरु गरेका थिए ।

सरकारले सिमेन्ट र स्टिललगायत सामान निर्यातमा आठ प्रतिशत अनुदान र वार्षिक रु १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेपछि नेपाली सिमेन्ट उद्योगीले निर्यात सुरु गरेका हुन् ।

सरकारले गत आर्थिक वर्षको बजेटमा छुटको घोषणा गरेसँगै नेपाली तीन समेन्ट तथा एक स्टिल उद्योगले निर्यात गरेका हुन् । सिमेन्ट उत्पादक सङ्घले भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाइमा धेरै सिमेन्ट उद्योग रहेको सङ्घले जनाएको छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तरको प्रमाणपत्र लिनुपर्नेछ । नेपालमा सञ्चालित सिमेन्ट उद्योगसँग वार्षिक करिब दुई करोड २० लाख टन सिमेन्ट उत्पादन क्षमता छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved