शेखरको ‘रक्षात्मक रणनीति’ : पोल्टाको खस्न नदिने, भुइँको टिपेरै छाड्ने !

नेपालभ्युज

शेखरको ‘रक्षात्मक रणनीति’ : पोल्टाको खस्न नदिने, भुइँको टिपेरै छाड्ने !

काठमाडौं । १४औं महाधिवेशनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला शेरबहादुर देउवासँग आमने-सामने भए सभापति पदका लागि । अन्तत: सभापतिमा देउवाकै जित भयो । त्यसपछिका केही महिना देउवा-कोइरालाबीच समधुर सम्बन्ध रहेन ।

तर, अहिले उनीहरू नजिकिएका छन् भनिन्छ । त्यो यदाकदा देखिन्छ पनि । आफ्नो पक्ष अर्थात् संस्थापनइतरको बैठक बोलाइरहने, नेताहरूसँग सल्लाह गरिरहने काेइराला हिजोआज मौनप्राय: देखिन्छन् । खासै बोल्दैनन् पनि, कहीँ बोलिहाले पनि ‘रक्षात्मक’ सुनिन्छन्, मध्यमार्गी बाटो रोज्छन् ।अर्थात् उनी संस्थापनइतर पक्षलाई आफ्नै साथमा राखेर संस्थापन पक्षको सद्भाव, समर्थन जुटाउने रणनीतिमा देखिन्छन् ।

साउन २ गतेयता जारी केन्द्रीय समिति बैठकमा पनि उनी ‘रक्षात्मक’ नै सुनिए । उनले तमाम समस्याबारे सभापति देउवासँग मात्रै होइन, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि जवाफ माग गरे । “कैयन् साथीहरूलाई विधानविपरीत यसरी एक वर्षपछि भेला हुने अवस्था किन र कसरी उत्पन्न भयो भन्ने जिज्ञाशा हुनसक्छ । यसको जवाफ सभापति र पदाधिकारी साथीहरूबाट आउने नै छ भन्ने विश्वास गरौँ,” कोइरालाले भनेका थिए ।

त्यसो त बैठकअघि उनले संस्थापनइतरको बैठकसमेत बोलाएनन् । जबकी उनले कांग्रेसका अन्य समितिहरूको बैठकअघि आफ्नो पक्षको बैठक अनिवार्य बोलाउँथे । तर, यसपटक त्यो गरेनन् । संस्थापन पक्षको सद्भाव, समर्थन नपाउने डरले उनी हच्किए, फलत: आफ्नो समूहको बैठक बोलाएनन् ।

त्यसैले त अहिले उनले संस्थापन अर्थात् देउवानिकट नेताहरूको पनि सद्भाव पाइरहेका छन् । जारी केन्द्रीय समिति बैठकमा कोइरालाको पक्षमा धेरै संस्थापन पक्षका नेताहरूले बोले । देउवाका प्रिय पात्र मानिने रामहरि खतिवडाले त उनलाई धन्यवाद नै दिन भ्याए । कोइरालालाई ‘दाइ’ सम्बोधन गर्दै उनले भने, “म शेखर कोइरालालाई धन्यवाद दिन चाहन्छु । चुनावपछि उहाँले संयम राजनीति गरेर पार्टीलाई एकढिक्का बनाएर, अझै दह्रो बनाएर लैजान खोज्नुभएको देखिन्छ । गुटका कुरा होइन, पार्टी एकढिक्का बनाउँछु भनेर गर्नुभएको पहलप्रति म उहाँलाई बधाई र धन्यवाद दिन चाहन्छु ।”

शेरबहादुर-शेखरबीच घट्दो दूरी !

उसो त यही बैठकले कोइरालालाई वरिष्ठ नेता बनाउने चर्चा छ । चन्द्रमोहन यादव, डिगबहादुर लिम्बूलगायतका नेताहरूले उनलाई वरिष्ठ नेता बनाउन माग गरेका छन् । कोइराला स्वयम्‌ले भने यसबारे बोलेका छैनन् । यता देउवानिकट पूर्वउपसभापति गोपालमान श्रेष्ठले भने आफू वरिष्ठ नेता बन्ने स्वघोषणा गर्ने गरेका छन् । तर, अहिलेसम्म को वरिष्ठ नेता बन्ने भन्नेबारे निष्कर्ष निकालिसकेका छैनन् देउवाले ।

हुन त कांग्रेस विधानले वरिष्ठ नेताबारे बोल्दैन, यो अभ्यास मात्रै हो । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल थिए । उनी राष्ट्रपति बनेपछि अहिले वरिष्ठ नेताको ठाउँ रिक्त छ । त्यही ठाउँमा कोइरालालाई पठाउने चर्चा कांग्रेस वृत्तमा छ । कांग्रेसका एक नेता भन्छन्, “हिजो शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालासँग चुनाव लड्नुभयो र वरिष्ठ नेता प्रप्त गर्नुभयो । अहिले डा. शेखर कोइरालालाई त्यो सुविधा किन नदिने ? यो विषयलाई त्यसरी सोच्नुपर्छ । र, जहाँसम्म लाग्छ उहाँले वरिष्ठ नेता प्राप्त गर्नुहुन्छ ।”

देउवाले कोइरालाका लागि केन्द्रीय कार्यालय, सानेपामा एउटा कोठा उपलब्ध गराएका छन् । “मलाई एउटा कोठाचाहिँ दिइएको छ । त्यसबारे मलाई पनि धेरै थाहा छैन । तर, कोठाचाहिँ दिइएको छ मलाई,” स्वयम् कोइराला भन्छन् । अहिले कोइराला २५औं वरीयतामा छन् । तर, यदि उनी वरिष्ठ नेता बने भने सभापतिसँगै हुनेछन् । वरिष्ठ नेताको स्थान सभापतिसँगै हुने अभ्यास कांग्रेसमा छ । देउवासँग नजिकिएका कोइरालाले वरिष्ठ नेता प्राप्त गर्ने कांग्रेस नेताहरूको बुझाइ छ ।

तर, संस्थापनइतर पक्षको नेतृत्व गरिरहेका महामन्त्री गगन थापालाई भने कोइराला देउवासँग नजिकिएको मन परेको छैन । संस्थापनइतर पक्षबाट सरकारमा पठाइएका मन्त्रीहरूको सवालमा चिढिएका थापाले हिजोआज कोइरालासँग भन्दा अर्का महामन्त्री तथा उनले ‘दाइ’ सम्बोधन गर्ने गरेका विश्वप्रकाश शर्मासँग बढी छलफल गर्न थालेका छन् ।

देउवाको कट्टर-आलोचक थापाले कोइरालाले संस्थापन पक्षसँग नजिकिएर आफूहरूलाई बेवास्ता गरेको रूपमा बुझेका छन् । कोइराला संस्थापनइतर पक्षलाई यथास्थानमै राखेर संस्थापन पक्षबाट समर्थन जुटाउने रणनीतिमा देखिन्छन् । तर, संस्थापनइतर पक्षका नेताहरूले भने ‘भुइँको टिप्न खोज्दा पोल्टाको गुम्ने’ बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved