प्रदर्शनकारीको ‘अस्थायी डेरा’ बन्दै माइतीघर (तस्वीरसहित)

त्रिपालमुनि सात समूह, कुरुप र दुर्गन्धित बन्दै मण्डला

दिउँसो आन्दोलन गर्ने र राति त्रिपाल टाँगेर खाने–बस्ने गर्दा दिनप्रतिदिन माइतीघर फोहोर र दुर्गन्धित बन्दैछ । अहिले यहाँ डेरा जमाएर आन्दोलन गर्ने सात समूह छन् ।

प्रदर्शनकारीको ‘अस्थायी डेरा’ बन्दै माइतीघर (तस्वीरसहित)

काठमाडौं । काठमाडौंको माइतीघर मण्डला आन्दोलनको पर्यायजस्तै बनेको छ । यहाँ दिनहुँजसो कुनै न कुनै समूहले प्रदर्शन गरिरहेकै हुन्छ । कहिलेकाहीँ त तीन–चारवटै समूहले बेग्लाबेग्लै प्रदर्शन गरिरहेका हुन्छन् । कोही धर्ना बसिरहेका हुन्छन् त कोही प्लेकार्ड बोकेर उभिइरहेका हुन्छन् । कहिले आमरण बसिरहेको देखिन्छ त कहिले चर्का नारा लगाउँदै प्रदर्शन गरिरहेको ।

पछिल्लो समय माइतीघरमा महिनौंसम्म ‘डेरा जमाएरै’ बसेर आन्दोलन गर्नेहरु बढिरहेका छन् । वैशाख १५ गतेदेखि महावीर पुनले आविष्कार केन्द्रका पक्षमा आन्दोलन गरे । त्यतिबेला उनी र उनका समर्थकले त्रिपाल टाँगेर माइतीघरमै रात बिताए । त्यसपछि त माइतीघरमा ‘डेरा जमाएर आन्दोलन गर्ने’ चलनैजस्तो भयो ।

दिउँसो आन्दोलन गर्ने र राति त्रिपाल टाँगेर त्यहीं खाने–बस्ने गर्दा दिनप्रतिदिन माइतीघर फोहोर र दुर्गन्धित बन्दैछ । अहिले यहाँ विभिन्न माग राखी त्रिपाल टाँगेर बस्ने प्रदर्शनकारीको सात समूह छ । उनीहरू बिहान बेलुकीको खाना खाजा त्यहीँ पकाएर खान्छन्, त्यहीँ सुत्छन्।

यसले माइतीघर क्षेत्रको सवारी आवागमनमा समेत बाधा पुगिरहेको छ। अहिले झट्ट हेर्दा माइतीघरमा कुनै हाटबजार चलिरहेको जस्तो देखिन्छ। डेरा नै जमाएर धर्नामा बस्नेहरूको संख्या बढ्दै गएपछि शौचालय र फोहोरको व्यवस्थापन जटिल भएको छ ।

२०४७ सालको परिवर्तनपछि प्रदर्शनकारीहरूले खुल्ला मञ्चमा गएर आफ्ना माग राख्थे। त्यहाँ आमसभा हुन्थे, विरोधका कार्यक्रम हुन्थे। तर पुरानो बसपार्क रहेको स्थानमा बहुतले व्यापारिक भवन बनाउने महानगरको कदमसँगै खुल्ला मञ्च प्रदर्शनको लागि बन्द गरियो। महानगरले अर्को व्यवस्था नभएसम्मको लागि भनेर खुल्ला मञ्चमा उपत्यकामा गुड्ने सार्वजनिक सवारीको पार्क बनाइदियो।

अहिले खुल्ला मञ्चबाट बसपार्क हटाए पनि त्यस स्थानमा महानगरले ताला लगाइदिएको छ। त्यसपछि प्रदर्शनकारीहरू विरोधका कार्यक्रम गर्न माइतीघर आउन थालेका छन् ।

माइतीघरको अस्तव्यस्तताबारे काठमाडौं महानगरका सहायक प्रवक्ता दीपक अधिकारी भन्छन्, ‘विरोध गर्न पाउनु संविधानसम्मत सबै नागरिकको अधिकार हो, तर पालै टाँगेर, सडक नै हडपेर बस्नु जायज हैन। हामी माइतीघरमा डेरा जमाएर बसेका प्रदर्शनकारीबारे छिट्टै तालुकदार निकायसँग समन्वय गरेर ठोस निर्णय गर्नेछौं ।’

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार राज्य र सम्बन्धित निकायबाट आदेश आए माइतीघरमा डेरा जमाउनेहरूलाई प्रहरीले तुरुन्तै हटाउनेछ । कार्की भन्छन्, ‘विरोध गर्नु, प्रदर्शन गर्नु नागरिकको अधिकार हो, तर अधिकार छ भन्दैमा सहर नै कुरूप बनाउने गरी डेरा नै जमाएर बस्नु गलत हो ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने यस विषयमा गम्भीर रहेको जनाएको छ । काठमाडौंका सहायक सिडिओ खड्गबहादुर श्रेष्ठ भन्छन्, ‘माइतीघरमा पाल टाँगेर बसेको बारे जिल्ला प्रशासनमा सूचना आएको छ। यसबारे हामी गम्भीर छौं । छिट्टै प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर उचित निर्णय गर्नेछौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved