एमाले महासचिव भन्छन्: प्रचण्डको अभिव्यक्तिले संसदकै अपमान भयो, क्षमा दिन सकिँदैन

नेपालभ्युज

एमाले महासचिव भन्छन्: प्रचण्डको अभिव्यक्तिले संसदकै अपमान भयो, क्षमा दिन सकिँदैन

काठमाडौं । आफूलाई प्रधानमन्त्री बनाउन भारतीय सरदार प्रीतम सिंह धेरैपटक दिल्ली धाएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई एमाले महासचिव शंकर पोखरेलले ‘हदैसम्मको नकचरोपन’ भनेका छन् । प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्तिले नेपालको संसदको नै अपमान भएको महासचिव पोखरेलको टिप्पणी छ ।

उनले प्रचण्डको उक्त अभिव्यक्तिलाई ‘अक्षम्य गल्ती’ भनेका छन् । ‘प्रधानमन्त्री को हुने भन्ने कुरामा बाह्यरुपमा जतिसुकै चलखेल भएपनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधिसभा नै हो’, उनले भनेका छन्, ‘जननिर्वाचित प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अक्षम्य छ ।’

सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले विगतमा पनि प्रचण्डले यस्तैखाले अभिव्यक्ति दिँदै आएको भन्दै आलोचना गरेका छन् ।

‘प्रचण्डजीको धुर्त्याईले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै संदेह नै छैन’, उनले लेखेका छन्, ‘उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक पटकका घटनाक्रमहरु साक्षी छन् । ‘प्रीतम् सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो’ भन्ने उनको भनाइ उपरोक्त श्रृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम हो ।’

एमालेले यसै विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved