आलेख

ग्रिसेली–रोमन दृष्टिकोणबाट पूर्वीय सभ्यतालाई हेर्नु अनुचित हो ?   

ग्रिसेली–रोमन दृष्टिकोणबाट राजनीति, दर्शन, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्व व्यवस्थालाई आकारित गर्न खोज्दा यो एक साँघुरो र एकांकी संकथन बन्न पुग्छ । पूर्वको आफ्नै विश्वास, विचारधारा, संस्कृति र सम्पदा छ । यसको महत्व र गुरुत्वको अनुबोध भए मात्र समकालीन विश्व व्यवस्था सन्तुलित हुन सक्दछ ।

ग्रिसेली–रोमन दृष्टिकोणबाट पूर्वीय सभ्यतालाई हेर्नु अनुचित हो ?   

समकालीन विश्व व्यवस्था निर्माणमा ग्रिसेली–रोमन दृष्टिकोणसँग भारत र  चीनका शास्त्रीय राजनीतिक सिद्धान्तको तुलना गर्दा विशेषतः निम्न प्रश्न आकर्षित हुन्छन्।

एक– यस्तो तुलनाको औचित्य के हो ? समकालीन राजनीति विज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिक दर्शनमा त्यसको सान्दर्भिकता कति हो ? यस्तो तुलनाका उपयोगी तथा अर्थपूर्ण सवाल के-के हुन् ?

दुई–पाश्चात्य ग्रिसेली–रोमन साहित्य, चिन्तन परम्परा र सिद्धान्तसँग  पूर्वीय सभ्यताका समानता वा असमानता के हुन ?

निश्चय नै ग्रिसेली र रोमन राजनीति विज्ञान, इतिहास र दर्शन निश्चित विचार, अवधारणा र उपागमका स्रोत हुन् । ग्रिक–रोमन अवधिमा लोकतन्त्र, कुटनीति, अराजकता र साम्राज्यजस्ता अवधारणा विकसित भएका थिए । शास्त्रीय ग्रिस र रोमन गणतन्त्रले आधुनिक पश्चिमा चिन्तनका आधारशीला खडा गरेका थिए । मैकियाबेली, मन्टेस्क्यु, रुसो आदि मुख्य आधुनिक चिन्तक तथा सिद्धान्तकारले प्राचीन व्यक्तित्व हेरोडोटस, हिप्पोक्रेट्स, सोक्रेटस, प्लेटो, अरिस्टोटल आदिमाथि लालामो विमर्श गरे।

तीन– ग्रिसेली–रोमन केन्द्रवाद आधुनिक युरोपकेन्द्रवादको आधार र अग्रदूत हो । त्यसका शास्त्रीय सिद्धान्तलाई भारत र चीनका शास्त्रीय सिद्धान्तसँग तुलना गर्नुको औचित्य कहाँनेर रहन्छ ?

लोकतन्त्र, अराजकताजस्ता अवधारणाको विवेकसम्मत विमर्श त्यहीबाट इतिहासमा आउँछ । इतिहासकारले ‘रोमन साम्राज्य’ को तुलनामा ‘रोमन गणतन्त्र’ लाई बढी महत्त्व पूर्ण मानेका छन । तर, विशाल साम्राज्यको पहिलो आदर्श पनि रोमन नै थियो ।

यहाँसम्म कि, भारतमा ब्रिटिस साम्राज्यको ‘ऐतिहासिक वैधता’ समेत रोमन साम्राज्यबाटै आएको थियो। सन् २००३ को इराकमाथिको आक्रमणमा अमेरिकालाई ‘नयाँ रोम’सँग जोडिएको थियो । यद्यपि, विश्व राजनीति र व्यवस्थाको इतिहासमा रोमभन्दा अगाडि नै सुमेरियन, इजिस्टसियन र पर्सियन साम्राज्य थिए ।

चार– आधुनिक युगमा भारत र चीन साम्राज्यका लागि ‘अधिपत्यका वस्तु’ बने। बीचमा इस्लाम आयो । सातौं शताब्दिपछि यसले शास्त्रीय र आधुनिक युग, पूर्व र पश्चिमबीच पुलको काम गर्‍यो ।

अन्ततः पुनर्जागरण र प्रबोधनका कुरा आए । पुनर्जागरण र प्रबोधनलाई पूर्वीय सन्दर्भमा जोड्नु उपयुक्त थियो कि थिएन ? ग्रिसेली–रोमन सभ्यताका सम्पदालाई बढी प्रगतिशील, वैज्ञानिक, लोकतान्त्रिक, उन्नत र विश्वव्यापी रूपमा लागू हुने विचार र अभ्यास मान्दा यसका कमजोरी र अध्याँरा पक्षलाई बेवास्ता गरिएको हुन्छ ।

रोममा गणतन्त्र थियो होला, तर यो इतिहासकै सर्वाधिक क्रुर र आततायी साम्राज्य पनि थियो । एथेन्सियन लोकतन्त्र थियो होला तर त्यो बिल्कुलै सीमित थियो । ग्रिक लोकतन्त्रमा केही सीमित मान्छेलाई मात्र नागरिक मानिन्थ्यो, सबैले यो अधिकार पाउँदैनथे । विशेषतः त्यो धनाढ्य र सभ्रान्तहरू मात्र नागरिक मानिने लोकतन्त्र थियो । महिला, सम्पतिहीन, दास र बाहिरियालाई नागरिक मानिदैनथ्यो ।

ग्रिक लोकतन्त्रलाई आजका सन्दर्भमा धेरै उपयोगी मान्न सकिँदैन । तर, आज ग्रिसेली–रोमन सर्वोउत्कृष्टता तथा युरोपेली पुनर्जागरण र प्रबोधनको दाबी अन्य देश र सभ्यताका मानिसमा हिनताभाष सिर्जना गर्ने हतियारका रूपमा उपयोग हुनु कति उचित हो ?

पाँच–उपरोक्त सन्दर्भमा शास्त्रीय चिनियाँ तथा भारतीय राजनीतिक सिद्धान्तको प्रवेश गैरपश्चिमा परम्पराको राजनीति विज्ञान, दर्शन र अन्तर्राष्ट्रिय सम्बन्धका लागि ‘करेन्टिभ मिजर’ बन्न सक्दछ ।

पश्चिमाहरूले सन् १६४८ को बेस्टफालिया शान्ति सम्झौतालाई राष्ट्रिय–राज्यको आधारशीलाका रूपमा दाबी गर्ने सुविधा राख्दछन् । खासमा यो पश्चिमा उदय र अधिपत्यको अवधि थियो । संसारका सबै सभ्यता र भूभागमा आधुनिक राष्ट्रिय राज्य वेस्ट फालियन मोडेलमा बनेका छैनन्।

बितेका ५ हजार वर्षमा सभ्यताहरूको उदय, अस्तय, निरन्तरता र विफलता सबै थोक भएको छ । ऐतिहासिक दीर्घकालमा सभ्यताहरूको एकाधिकार दाबी गर्न सबैले पनि सक्दैन । राजनीति, न्याय, नैतिकता र सुरक्षाका तरिकाको उत्कृष्टता दाबी गर्न नमिल्ने कुरा हो ।

तसर्थ, चीन र भारतका शास्त्रीय राजनीतिक सिद्धान्तको अध्ययनले राजनीति, दर्शन, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका मानवीय अन्तर्क्रियाका सन्दर्भमा एक नयाँ आयाम दिन सक्दछ । युरोप केन्द्रवादको आफ्नै प्रकारको कठोर नश्लीयता र पूर्वाग्रह छ । तसर्थ, इतिहासलाई सन्तुलनमा ल्याउन युरोप केन्द्रवाद र गैर युरोप केन्द्रवादबीच तुलनाको औचित्य रहन्छ ।

भारत र चीनको आधुनिकतालाई युरोपकेन्द्रवादी आधुनिकताबाट हेर्न उचित हुँदैन । त्यसो गर्दा यी देश साम्राज्यको उपविनेश मात्र बन्न पुग्दछन्, त्यस्तै मात्र देखिन्छन् । यहाँसम्म कि, चीन र भारतकै आधुनिकताको सन्दर्भ फरक छन् । तर, विचार र सभ्यताहरूको अन्तर्क्रिया र परस्पर प्रभाव पनि हुन्छ भन्ने कुरा अस्वीकार गर्न मिल्दैन । जस्तो कि, भारत र चीनलाई बुद्धिज्मको एक विशिष्ट मार्गले जोड्दछ।

कुनै एक सभ्यता अर्को सभ्यताबाट प्रभावित हुनु एक पारस्परिक प्रक्रिया हो । यो साम्राज्य, एकाधिकार दाबी र आधिपत्यजस्तो कुरा हैन । चिनियाँ र भारतीय दुवै गैरपश्चिमा सभ्यताहरू हुन्,  तर यिनीहरूको एक-अर्कामाथिको प्रभावलाई अस्वीकार गर्न सकिन्न। र त्यसले यी देशलाई एक-अर्काको साम्राज्य वा उपनिवेश पनि बनाउँदैन।

चिनियाँ र भारतीय विचारधारा ग्रिसेली–रोमन विचारधाराभन्दा बढी नै जटिल, विविध र बहुआयामिक छन् । हिन्दू दर्शनका सांख्य र चार्बाक विचारधाराले भगवानको अस्तित्व नै अस्वीकार गर्दछन् । बुद्धिज्म एक प्रकारले हिन्दू शास्त्रीयता विरुद्धको प्रतिक्रिया हो । हिन्दू दर्शनको ईश्वरवाद विरुद्धको विद्रोह हो ।

हिन्दूत्वले आत्म र बौद्ध दर्शनले अनात्मको कुरा गर्दछ । हिन्दूत्वले ईश्वर र बुद्धिज्मले अनिश्वरको कुरा गर्दछ । एक प्रकारले यो बिल्कुलै उल्टो हो । तर, पूर्वीया सभ्यतामा यस्ता विपरीत सोचबीच पनि सामञ्जस्यता हुन्छ । ग्रिसेली–रोमन विचारधारामा यस्ता फरक र विविधतायुक्त विचारधाराबीच द्वन्द्व अपरिहार्य हुन्छ ।

बुद्धिज्मले प्रवेश गर्नुअघि चीनमा कन्फुसियसवाद र ताओवादजस्ता विचार थिए । तीनको उद्देश्य ईश्वरकेन्द्रित आध्यात्मभन्दा बढी नैतिक जीवन पद्धतिसँग जोडिएको थियो । ती त्याग, बलिदान र शुद्धीकरणका अन्य अनुष्ठानसँग मिलेर बनेका थिए । पूर्वीया सभ्यतामा पश्चिमा परिकल्पनाले चित्रण गरेजस्तो एकरूपता हुँदैन । यहाँ विविधता हुन्छ । भारतमा मौर्य वंश, कौटिल्यवादी यथार्थ र अशोककालीन साम्राज्यबीच नै व्यापक भिन्नता र विविधता छ ।

भारतीय र चिनियाँ विचारधारा एक प्रकारका सारसंग्रह हुन् । यसमा राष्ट्रवाद र आध्यात्मवाद, यथार्थवाद र आर्दशवाद, गणतन्त्र र राजतन्त्र, अराजकता र अनुशासनको समिश्रण हुन्छ । यसका बाबजुद यी आफ्नै तरिकाले गतिशील हुन्छन् । राष्ट्रिय–राज्य निर्माणको बेष्टफालियन विधि न भारतमा लागू भएको देखिन्छ न चीनमा । तथापि, यहाँ विशाल आधुनिक राष्ट्रि राज्य छन, जो युरोपेली राज्यभन्दा कम छैनन् ।

आधुनिक मार्क्सवादी तथा म्याक्स वेवेरियन चिन्तनमा जस्तो पूर्वीया चिन्तनमा राज्य निश्चित भूभागमाथिको वैधानिक शासनमा सीमित हुँदैन । राज्यका अनेक तहहरू हुन्छन् र यहाँ सांस्कृतिक तथा जातीय समुदायहरूको भूमिकालाई राज्यले बेवास्ता गर्न सक्दैन । भारतको मौर्य वा चीनको छिन साम्राज्य ग्रिसेली नगर–राज्य र रोमन गणतन्त्रभन्दा फरक थिए ।

स्यामुअल हन्टिङटनको ‘सभ्यता–संघर्ष’ ले विविधताबीच सामञ्जस्यताको औचित्यलाई बेवास्ता गर्दछ । यसले शान्ति कायम गर्ने प्रश्नमा फरक दृष्टिकोण निर्माण हुन्छन्। पूर्वीया विचारधारामा विविधता र सभ्यताहरूको शान्तिपूर्ण सहअस्तित्व सम्भव छ । यसबाट द्वन्द्वको सिर्जना अनिवार्य छ वा हुनुपर्दछ भन्ने छैन। सभ्यताहरूको इतिहास रगत, धन र द्वन्द्वको इतिहास मात्र हैन बरु विचार, पहिचान र पारस्पारिक हितको समायोजन पनि हो।

पाँचौं र छैटौं शताब्दितिर भारतीय र चिनियाँ सन्त, तीर्थयात्री तथा धर्मगुरु लामो पैदल हिडेर एक-अर्काको देशमा जान्थे । उनीहरूको यो यात्रा केवल ‘तीर्थयात्रा’ हैन, मेरो विचारमा ‘ज्ञान–यात्रा’ ‘निर्वाण– यात्रा’ थियो । त्यस्तै एक गुरु बोधीधर्मले चीन पुगेर ‘चेन बुद्धिज्म’ शाखाको विकास गरेका थिए, जो पछि जापानले सापटी लियो र आफ्नो राष्ट्रिय परम्परा बनायो ।

यसको अर्थ हो–सभ्यता कुनै टापु हैन । सभ्यता एकअर्काबाट सिक्ने र सम्मान गर्ने हो । बुद्धिज्मले चीन र भारतलाई मात्र हैन, समग्र दक्षिण एसिया र चिनियाँ सभ्यतालाई अन्तर्सम्बन्धित बनायो। जपानी टापुहरूसमेत यो अन्तर्क्रियाबाट बाहिर छैनन्।

पश्चिमा सभ्यता र आधुनिकतालाई आकारित गर्न ग्रिस र रोमको भूमिकाबारे संसारमा धेरै लेखिएका छन । तर, यसले अन्य सभ्यता विशेषतः भारतीय, चिनियाँ र इस्लामको विचार र अभ्यासलाई बेवास्ता गर्दछ। फलस्वरूप समकालीन विश्वमा पश्चिम र बाँकी विश्वको विमर्शमा तथाकथित ‘महान् भिन्नता’ उत्पन्न भएको देखिन्छ ।

ग्रिसेली–रोमन दृष्टिकोणबाट राजनीति, दर्शन, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्व व्यवस्थालाई आकारित गर्न खोज्दा यो एक साँघुरो र एकांकी संकथन बन्न पुग्छ । पूर्वको आफ्नै विश्वास, विचारधारा, संस्कृति र सम्पदा छ । यसको महत्व र गुरुत्वको अनुबोध भए मात्र समकालीन विश्व व्यवस्था सन्तुलित हुन सक्दछ ।

(ब्रिजिङ टु बोल्डर्स : क्लासिकल पोलिटिकल थड एन्ड स्टेटक्राफ्ट इन चाइना एन्ड इन्डियाबाट संक्षेपीकृत अनुवाद)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved