मलाई सरकारमा पुग्न नदिन अनेक उपायको खोजी भएको छ : ओली

नेपालभ्युज

मलाई सरकारमा पुग्न नदिन अनेक उपायको खोजी भएको छ : ओली
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरेबापत आफूलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गरेका छन् ।  ‘देश समृद्ध होस्, जनता सुखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरु आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको ओलीको भनाइ छ ।

सोमबार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उनले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताए । ओलीले आफू सरकारमा नभएपनि देश र जनताका लागि केही न केही काम गरिरहेको दाबी समेत गरे ।

ओलीले आफू  सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याउने लगायतका थुप्रै काम गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको पनि पटकपटक दोहोर्‍याए । ओलीले देश र जनताको सेवा गरेवापत प्राप्त हुने सन्तुष्टि नै आफ्नो लागि सबै भन्दा ठूलो प्राप्ति हुने गरेको बताए ।

उनले आफूले नै सडक बालबालिकाको व्यवस्थापनको काम सुरु गरेको, दूर्गम ठाउँहरुको अन्त्य हुने गरी सडक सञ्जाल निर्माणको काम सुरु गरेको भएपनि त्यसको श्रेय लिनुपर्छ भन्ने नलागेको बताए । ‘म सरकारमा हुँदा ज्येष्ठ नागरिक भत्ता सुरु गरिएको थियो । पछिल्लो पटक म सरकारमा हुँदा ज्येष्ठ नागरिकलगायत एकल महिला, असक्तता भएका व्यक्ति, अपांगता भएका व्यक्तिहरु समेतको प्रबन्ध प्रतिमहिना ४ हजार दिने आफैंले निर्णय गरे’, उनले भने ।

‘हामी कर्मणेवाधिकारस्ते भनेजस्तो प्रतिफल के आउँछ भन्ने कुरा होइन । तपाईले दान दिएपछि के प्रतिफल आउँछ ? दान दिएपछि प्रतिफल भन्दा सन्तुष्टि मिल्छ’ उनले अगाडि थपे, ‘आनन्द मिल्छ तपाईंलाई । त्यसकारण सेवा गरेपछि के प्रतिफल आउँछ ? आनन्द मिल्छ त्यसबाट । सन्तोष मिल्छ त्यसबाट । त्यही हो प्राप्ति ।’

ओलीले जनताको सेवा गरेर प्राप्त हुने सन्तुष्टिबाट नै आफूलाई सन्तुष्टि मिल्ने गरेको बताए । त्यस अवसरमा उनले ज्येष्ठ नागरिक आश्रमहरुलाई जातको आधारमा भेदभावपूर्ण व्यवहार नगर्न पनि सचेत गराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved