किन नेकपा ब्युँताउन चाहन्छन् प्रचण्ड ?

प्रचण्डले एकताको कुरा गरेर अन्तै दुनो सोझ्याउन खोजे : एमाले

संसद भित्र र बाहिर रहेका चार दल मिलाएर समाजवादी मोर्चा बनाएको केही समय नबित्तै एमालेसँग एकताको कुरा गर्नुपर्ने परिस्थिति कसरी निर्माण भयो ? कांग्रेसलाई घुर्क्याउन र एमालेलाई तर्साउन बनाएको भनिएको उक्त मोर्चाको औचित्य पुष्टि गर्नै नसक्ने भएपछि नेकपा ब्युताउँने कुरा आएको हो ?

किन नेकपा ब्युँताउन चाहन्छन् प्रचण्ड ?

काठमाडौं। कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायण विलास जोशीको ३४औं स्मृति दिवसमा आइतबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा ब्युँताउनुपर्ने बताए । माओवादी र एमालेबीच एकता भएर बनेको नेकपालाई जोगाइराख्न नसक्नु दुर्भाग्यपूर्ण भएको भन्दै उनले पुनः एकता गर्नुपर्नेमा जोड समेत दिए ।

विगतमा भएका कमीकमजोरीको समीक्षा गरेर फेरि पार्टी एकतातिर लाग्नुपर्ने उनको भनाइ थियो । उनले नेकपाको पुनर्निर्माणका लागि आफू मात्रै तयार भएको बताएनन्, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि समर्थन रहेको खुलाए ।

एमाले फुटाएर अहिले प्रचण्ड नेतृत्वको समाजवादी मोर्चामा सहभागी नेपालले पनि जनताको जीवनस्तर सुधारका लागि देशका कम्युनिस्ट एक हुनपर्ने बताए । यसरी दुवै नेताले एकैमञ्चबाट कम्युनिस्ट पार्टीबीच एकताको रहर गर्नुको कारण के हुनसक्छ ? प्रश्न स्वाभाविक छ ।

अलिअघिसम्म प्रचण्ड भन्थे– केपी ओलीजस्तो खराब त यो धरतीमा कोही छैन । एमालेसँगको त्यो एकता देश र जनताका लागिसमेत घातक हुनपुग्यो । एक-आपसमा उछितो काडेर नथाक्ने उनीहरू अहिले एकाएक पार्टी एकताको कुरा गर्न थाल्नु सामान्य होइन ।

अझ माधव नेपाल र केपी ओली त आपसी दुस्मनै जसरी दन्तबजानमा उत्रन्थे । लाग्थ्यो– यिनीहरूको त पानी बाराबार होला । तर, माधव नेपाल नै अहिले एमालेसँग एकताको कुरा गर्न थालेका छन् ।

एकाएक एमालेसँग एकताको कुरा गर्नुसँग जोडिएका थुप्रै सवाल छन् । संसद्भित्र र बाहिर रहेका चार दल मिलाएर समाजवादी मोर्चा बनाएको केही समय नबित्दै एमालेसँग एकताको कुरा गर्नुपर्ने परिस्थिति कसरी निर्माण भयो ? कांग्रेसलाई घुर्क्याउन र एमालेलाई तर्साउन बनाएको भनिएको उक्त मोर्चाको औचित्य पुष्टि गर्नै नसक्ने भएपछि नेकपा ब्युताउने कुरा आएको हो ?

धेरैवटा टुक्राटाक्री मिलाएर बनाएको अहिलेको सत्तागठबन्धनमा खटपट परिरहने कुरा नौलो होइन । पछिल्लो समय सिके राउतको जनमत पार्टीलाई फकाउन प्रचण्डले कसरत गरिरहेको पनि प्रष्ट नै छ । तर जे–जे भए पनि जुनकुनै बेला कांग्रेसको टेको खुस्कने खतरा बढ्दो छ । कांग्रेसको टेको खुस्क्यो भने गठबन्धनका अरु एक भएर पनि सरकार टिक्ने स्थिति हुँदैन ।

यस्तैबीच, कांग्रेसको साथबिना पनि सरकार टिकाउन सकिने देखाउन प्रचण्डले व्यापक प्रयास गरिरहेका छन् । सत्ता गठबन्धनभित्रको ‘समाजवादी मोर्चा’ नामको उप–गठबन्धन त्यहीं प्रयासअन्तर्गतको एउटा कदम हो ।

हुनतः प्रचण्डले यसअघि प्रधानमन्त्री हुन चालेको चाल पनि चानचुने छैन । कांग्रेसले प्रधानमन्त्री नबनाउने छाँट देखेपछि एमालेसँग लेपासिएर प्रधानमन्त्री हात पारेका थिए उनले । प्रधानमन्त्री पाएसँगै एमालेसँग टाढिएका उनी अहिले पनि कांग्रेसलाई घुर्की लगाउँदै एमालेतिर लम्किरहेका छन् ।

न त विगतमा एमाले र माओवादीबीच एकता हुनुको राजनीतिक औचित्य पुष्टि भयो, न त पार्टी फुट्नुको नै । तत्कालीन समयमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डको निहीत स्वार्थ मिलेकै कारण पार्टी एकता भएको थियो । त्यतिबेला पनि पार्टी एकताबारे दोस्रो तहका नेतालाई थाहासमेत दिइएको थिएन ।

पछि पार्टी फुट्नुको कारण पनि ओली–प्रचण्डसँगै माधव नेपालको ‘इगो’ नै हो । देखाउनका लागि संसद् विघटन प्रमुख कारण भए पनि यसका अन्तर–कुन्तरमा नेताहरूको इगोले नै बढी काम गरेको छ ।

प्रचण्डले अन्तै दुनो सोझ्याउन खोजेका हुन् : एमाले

यता नेकपा एमालेले भने प्रचण्डको उक्त भनाइमा कुनै दम र राजनीतिक आधार नभएको प्रतिक्रिया दिएको छ । कुनै छलफल, सल्लाहबिना प्रचण्डले नेकपा पुनः एकताबारे मनगढन्ते कुरा गरेको बताउँछन्, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम ।

नेकपा ब्युताउने कुरा गरेर प्रचण्डले अन्तै दुनो सोझ्याउन खोजेको उनको बुझाइ छ । ‘प्रचण्डले नेकपा ब्युँताउने अस्त्र फालेर कांग्रेससँग डिल गर्न खोजेको जस्तो लाग्छ’, उनले भने, ‘हामीसित यस विषयमा कुनै कुरा भएको छैन । र तत्काल एकताको सम्भावना पनि छैन ।’ विगतमा पनि प्रचण्डले यस्तो घुर्की लगाउँदै लाभ लिने गरेको गौतमको भनाइ छ ।

गौतमले यसो भने पनि एमाले र माओवादीका दोस्रो तहका नेताबीच पार्टी एकताका लागि छलफल नै नभएको भने हैन । केही नेताहरू लामो समयदेखि यस्तो छलफलमा जुटिरहेका छन् । बजेट लगत्तै नयाँ सरकार बन्न सक्ने आकलन पनि राजनीतिक वृत्तमा चलिरहेको छ ।

प्रचण्डको उद्देश्य 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई पाँचै वर्ष चलाउन दिएर अहिलेको सरकार ढाल्न प्रयास गरिरहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई मनाउन उनी लागिरहेका छन् । कांग्रेस र एमाले मिलेर सरकार चलाउने र प्रधानमन्त्री पूरै कार्यकाल कांग्रेसले नै चलाओस् भन्ने ओलीको प्रस्ताव छ ।

यो खिचडी पाकिरहेको प्रधानमन्त्री प्रचण्डले पनि थाहा पाएका छन् । त्यसैले, कांग्रेस र एमालेलाई कुनै पनि हालतमा मिल्न नदिन उनले अनेक अस्त्र प्रयोग गरिरहेका छन् । समाजवादी मोर्चाको अवधारणमा पनि त्यही रणनीतिअन्तर्गत नै आएको जानकार बताउँछन् ।

अब समाजवादी मोर्चाले खासै काम गर्ने नदेखिएपछि प्रचण्डले कांग्रेसलाई घुर्क्याउन पछिल्लो अस्त्र फालेका हुन सक्छन् । यदि, कांग्रेस दायाँ-बायाँ गरेमा एमालेसँग मिल्न जान्छु भन्ने सन्देश दिएर राजनीति आफ्नो सन्तुलनमा राख्ने प्रचण्डको रणनीति देखिएको राजनीतिक विश्लेषक बताउँछन् । तर, कांग्रेस अहिले नै एमालेसँग मिलिहाल्ने पक्षमा देखिएको छैन । केही कांग्रेस नेताहरूले नयाँ सरकार बन्न सक्ने बताए पनि सभापति देउवाले नचाहेसम्म त्यो सम्भावना देखिँदैन ।

प्रचण्डको ‘नेकपा’ रणनीति कत्तिको सफल हुन्छ, हेर्न बाँकी छ । तर, यसले सत्ताबाट जुनसुकै बेला पनि हट्न सक्ने डर प्रचण्डमा छ भन्ने देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved