लगानी बोर्ड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन

नेपालभ्युज

लगानी बोर्ड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं। लगानी बोर्ड नेपालको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना तथा नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा नेपालका लागि वित्तिय सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।

सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले आर्थिक सामाजिक विकासका लागि आवश्यक लगानीको खाडल पूर्ति गर्न यस सम्मेलनले नवीनतम वित्तीय उपकरण एवं उपायहरू प्रस्तुत गर्ने उल्लेख गर्नुहुँदै सरकारले निजी लगानी प्रवर्द्धन, सहजीकरण र प्रोत्साहनका लागि कानुनी, संस्थागत र प्रक्रियागत सुधारलाई निरन्तरता दिदैं आएको बताए ।

सम्मेलनमा वरिष्ठ सचिवहरू, सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू, विकास साझेदारहरू, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्थाहरूका वरिष्ठ प्रतिनिधि, विज्ञ, अनुसन्धानकर्ता र शिक्षाविद्हरूको सहभागिता थियो। माननीय अर्थमन्त्री डा प्रकाशशरण महत; लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्री सुशील भट्ट; काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा डा अच्युत वाग्ले; स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदार; स्ट्यान्डर्ड चार्टर्ड बैंक युकेका वरिष्ठ दिगोपन सल्लाहकार डा. जोन मर्टन; र, सेजनका अध्यक्ष जनार्दन बरालले उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए ।

उदघाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीका अतिरिक्त स्रोत परिचालनका लागि वित्तपोषणका नयाँ उपाय र औजारहरू आवश्यक रहेको भन्दै यस्ता स्रोत विद्यमान संरचना एवं व्यवस्थाहरूमा उपलब्ध स्रोतको “रिप्याकिङ” मात्र नभई थप स्रोतको उपलब्धता समेत हुनुपर्ने धारणा राखे ।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले विभिन्न वित्तीय स्रोतबाट प्राप्त हुने श्रोतको मिश्रणले परियोजनाको वित्तीय सम्भाव्यता बढ्नुका साथै लगानीकर्ताले आकर्षक प्रतिफल समेत प्राप्त गर्न सक्ने धारणा राखे । त्यस्तै, प्राध्यापक डा.अच्युत वाग्लेले सार्वजनिक वित्तका आफ्नै सीमितताहरू हुने भएकाले नेपालले महत्वकांक्षी विकास लक्ष्यहरू हासिल गर्नका लागि वित्त पोषणका नयाँ औजारहरूको खोजी र उपयोगमा जोड दिए ।

सम्मेलनमा लगानीको समष्टिगत अर्थतन्त्र, लगानी सम्बन्धी कानुनी, संस्थागत र कार्यान्वयनका व्यवस्थाहरू, नेपालमा वित्त पोषणः उपकरण र दायरा तथा स्रोत परिचालन र व्यवधान निवारणसम्बन्धी प्राविधिक सत्रहरू सञ्चालन भएका थिए । सम्मेलनको समापन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरे । उक्त अवसरमा बोल्दै गभर्नरले यस सम्मेलन नेपालको वित्त र मौद्रिक नीतिको तर्जुमाका लागि उपयोगी हुने विचार व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved