इमरान खानलाई लक्षित गर्दै पाकिस्तानी सेनाले भन्यो, सेनाकै कानुन लगाएर कारबाही गर्छौँ

नेपालभ्युज

इमरान खानलाई लक्षित गर्दै पाकिस्तानी सेनाले भन्यो, सेनाकै कानुन लगाएर कारबाही गर्छौँ

एजेन्सी। पाकिस्तानको सेनाले आफ्नो संगठनविरुद्ध षड्यन्त्र रच्ने र सैन्य प्रतिष्ठानमा आक्रमण गर्नेहरूलाई सेनाको कानुन र आधिकारिक गोपनीयता अन्तर्गत कारबाही गर्ने चेतावनी दिएको छ ।

सेनाको जनसम्पर्क विभाग आईएसपीआरले आक्रमणकारीविरुद्ध ठोस प्रमाण रहेको जनाएको छ । सेना प्रमुख असिम मुनीरले विशेष कोर कमाण्डर सम्मेलनको अध्यक्षता गर्दै सेनाविरुद्ध षड्यन्त्र गर्नेलाई कुनै हालतमा नछाड्न निर्देशन पनि दिएका छन् ।  उक्त बैठकमा पाकिस्तानमा विगत केही दिनदेखिको व्यवस्थाको अवस्थाको समीक्षा गरिएको थियो ।

आईएसपीआरका अनुसार सम्मेलनमा भनिएको थियो, “शहीदहरूका तस्बिरहरू, भवनहरू र सैन्य प्रतिष्ठानहरूलाई बदनाम गर्नेहरुलाई प्रतिक्रिया दिन बाध्य पार्ने उद्देश्यले काम भइरहेका छन्।”

यो भनाई पूर्व प्रधानमन्त्री इमरान खानलाई लक्षित गरेर आएको हो । इमरानले पछिल्लो समय सेनालाई लक्षित गरेर आक्रामक भाषण गर्दै आएका छन् ।

कमाण्डर सम्मेलनले यी घटनाको निन्दा गरेको छ ।कोर्प्स कमाण्डरको बैठकमा सबै कमाण्डरले पाकिस्तानमा राजनीतिक स्थायित्व ल्याउन सबै दल मिलेर काम गर्नुपर्ने र पाकिस्तानमा लोकतान्त्रिक प्रक्रिया सुदृढ हुनुपर्ने बताएका छन् ।

गत हप्ता मंगलबार इमरान खानका समर्थकहरू धेरै शहरहरूमा सडकमा  विरोधमा उत्रिएका थिए । यी समर्थकहरूको क्रोध विशेष गरी पाकिस्तानी सेनामाथि परेको थियो। आक्रोशित भीडले लाहोरस्थित सेनाका कमाण्डरको घरमा आक्रमण गरेको थियो ।

लाहोर बाहेक रावलपिंडीमा रहेको सेनाको मुख्यालयमा पनि मानिसहरु प्रवेश गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved