राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न सक्दैनः गभर्नर अधिकारी

नेपालभ्युज

राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न सक्दैनः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका छन् । आईतवार काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन–२३ मा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकप्रति निकै धेरै अपेक्षा बढेको भन्दै क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका हुन् ।

उनले अन्य क्षेत्रबाट कुनै सहारा नपाएकाले राष्ट्र बैंकसँग सरकार र निजी क्षेत्रको समेत धेरै अपेक्षा गरिएको बताए। उनले मौद्रिक नीतिका आफ्नै सीमा रहेको भन्दै राष्ट्र बैंक सीमा भन्दा बाहिर गएर मौद्रिक नीतिले केही गर्नसक्ने अवस्था नभएको बताए । गभर्नर अधिकारीले राष्ट्रले आफ्नो सीमाभन्दा बाहिर गएर केही काम गर्न खोज्यो भने समग्र वित्तीय प्रणाली संकटमा पर्नसक्ने उल्लेख गरे ।

उनले राष्ट्र बैंकले व्यवसायी स्वार्थका विषय कसैको केही कुरा नसुन्ने बताए । उनले मौद्रिक नीतिका सम्बन्धमा वित्तीय प्रणालीका हीतमा आएका सबै सुझाव अनुसार नीतिगत निर्णय गर्ने बताए। गभर्नर अधिकारीले आफ्ना स्वार्थका विषय सम्बोधन नहुँदैमा राष्ट्र बैंकले कसैको कुरा सुनेन भन्न नमिल्ने बताए। उनले राष्ट्र बैंकले निक्षेपकर्ता र ऋणी दुवैको हीतमा आवश्यक नीतिगत निर्णय गरिरहेको दाबी गरे।

‘ बारम्बार राष्ट्र बैंकको नीतिका विषयमा प्रश्नहरु आउने गर्छन् । राष्ट्र बैंकले लिने नीतिहरु धेरै गहन छलफलका आधारमा लिने नीतिहरु हुन् । राष्ट्र बैंकले कयौं स्टेक होल्डलरहरुसँग छलफल गरिरहेका हुन्छौं ।’ उनले भने, ‘छलफल गर्नुहुन्छ निर्णय आफैँ गर्नुहुन्छ भन्ने आरोप लाग्ने गरेको छ । यसका केही कारणहरु र सिद्धान्तहरु रहेका छन्। आफ्नो इन्ट्रेस्टका मागहरु सम्बोधन भएनन् भन्दैमा हाम्रा कुरा सुनिएनन् भन्नुभएन । सौदान्तिक र व्यवहारिक रुपमा गर्नुपर्ने काम गरेको छ वा छ्रैन त्यो महत्वपूर्ण हो ।’

‘राष्ट्र बैंक प्रतिको आशा अत्यन्तै बढेर गएको छ । यसलाई मैले कसरी लिन्छु भने कुनै एउटा तलाउमा पानी माथि तैरिएका कमिलाहरुले कुनै सहारा पाएनन् । एउटा पात भेटाए । कमिलाहरु त्यही पातमाथि चढ्दै जान्छन् । अहिले राष्ट्र बैंकलाई सबैले त्यही पात देख्नुभएको छ । हामी खुसी छौं  हामी त्यसलाई पातमा राखेर तलाउको किनारमा लैजान सक्यौं ।’ उनले अगाडि भने, ‘तपाईहरुले त्यो पनि सोच्नुपर्छ त्यो पातमा बढी भन्दा बढी कमिला बस्यो भने त्यो तलाउको किनारसम्म पुग्न सकिदैन । त्यो त्यही डुब्न सक्छ । राष्ट्र बैंकले कति भार सहने मौद्रिक नीतिका आफ्ना सीमाहरु छन् । त्यो सीमासम्म राष्ट्र बैंकले पायौं भने सहन सक्छ । होइन भने त्यो सम्भव छैन । सबैलाई जे जति मौद्रिक नीतिको स्पेस छ । त्यो स्पेशभित्र बसेर राष्ट्र बैंकले काम गर्छ ।’

‘राष्ट्र बैंक त्रैमासिक मौद्रिक नीतिको समिक्षाको शिलशिलामा छ । यो महिनाभित्र समिक्षा गछौं । सरकारलाई बजेटको विषयमा सल्लाह सुझाव दिएका छौं । आगामी मौद्रिक नीतिको लागि पनि बजेट पछि तत्काल काम थलानी गर्ने छौं ‘ उनले भने, ‘मौद्रिक नीति बनाउन जसरी आफ्नो नीति स्वार्थको लागि सुझावहरु आएका छन् । त्यो हामी गन्दैनौं र सुन्दैनौं । वित्तीय क्षेत्र शेयरबजार,बीमा,फाइनान्सहरुको साझा इफोटमार्फत अगाडि बढ्ने हो । यी सबै विषयहरु एक आपसमा सम्बन्धित छन् ।’

गभर्नर अधिकारीले नेपालका वित्तीय क्षेत्र निकै सुरक्षित भएकोले कयौं विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिरहेको बताए । उनले बैंक, व्यवसायी लगायतका समग्र वित्तीय प्रणालीलाई जोगाउनका लागि राष्ट्र बैंकले कोरोना महामारीको सुविधा दिएको उल्लेख गरे।

उनले अहिले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेपनि अन्य देशको तुलनामा निकै सहज भएको पनि बताए । उनले राष्ट्र बैंक मौद्रिक नीतिका त्रैमासिक समिक्षा वैशाख महिनाको अन्तिमसम्म गरिसक्ने तयारी गरिरहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved