संसदमा आज संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक पेस नहुने

नेपालभ्युज

संसदमा आज संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक पेस नहुने
फाइल तश्वीर

काठमाडौं।  प्रतिनिधि सभाको आजको बैठकमा संवैधानिक परिषद्सँग सम्बन्धि विधेयक पेस नहुने भएको छ।

बुधबार सिंहदरबारमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरूबीच सहमति नजुट्दा प्रतिनिधि सभाको आजको बैठकमा संवैधानिक परिषद्सँग सम्बन्धि विधेयक पेस नहुने भएको हो। साथै, प्रतिनिधि सभाको आजको बैठकमा संसदीय सुनुवाई समिति र अन्य विषयगत १० समितिका सदस्यहरूको नाम पनि पेस नहुने भएको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संवैधानिक परिषद्सँग सम्बन्धि विधेयक कन्टेनमा छलफल गर्ने सन्दर्भमा केही विषयमा सहमति जुट्न नसक्दा आज संसदमा पेस हुन नसक्ने बताए। उनले संसदीय १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सदस्यहरू पनि आजको बैठकमा पेस नहुने बताए। उनले समितिमा सदस्यहरू पेस हुन नसक्नुमा नेपाली काँग्रेससहितका केही दलहरूले सदस्यहरूको नाम दिनका लागि बिहीबारसम्मको समय मागेको बताए।

संवैधानिक परिषद्मा अध्यक्ष र उपस्थित संख्याको ५० प्रतिशत भन्नेकुराले समितिको बहुमतलाई अस्वीकार गर्न खोजेको देखिएको भन्दै अध्यक्ष अनिवार्य नै हुनुपर्ने, अध्यक्षले नमान्दा कुनै निर्णय नै नहुने, जस्तो गरी आएको प्रश्ताव सच्याउनुपर्ने पक्षमा एमाले रहेको स्पष्ट पारे। संसदका समितिहरू बनाउने कुरामा कुनैपनि बहानामा ढिलो गर्न नहुने पनि स्पष्ट पारे।

त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलका शीर्ष नेताहरूका बीचमा संसदभित्रका विषयमा भएका सहमति कार्यान्वयन गर्ने विषयमा छलफल सकारात्मक रहेको बताए। उनले छलफल टुंगिन नसक्दा समितिहरू बन्न नसकेको स्पष्ट पारे। प्रमुख प्रतिपक्ष दललाई सार्वजनिक लेखा समितिको मात्रै सभापति पाउने अभ्यास रहेको तर शीर्ष तहबाट तीन वटा समिति सभापति पाउने भएकोप्रति असन्तुष्टि जनाएको देख्न सकिन्छ। नेपाली कांग्रेसले अहिलेसम्मको परम्परा र पद्धति भन्दा माथि रहेर प्रमुख प्रतिपक्षी दललाई तीन वटा समितिको नेतृत्व गर्न दिएको बताउँदै आएको छ।

उनले भने, ‘केही दिनअघि तीन दलका शीर्ष नेताहरूका बीचमा संसदभित्र केही महत्वपूर्ण सहमति भएको थियो। अहिलेसम्मका परम्परा र पद्धति भन्दा पनि त्यो भन्दा पनि फरक ढंगमा सत्ता र प्रतिपक्षका बीचमा वृहत्तर समझदारी गरेर अघि बढेका छौँ, त्यो कार्यान्वयनमा हामी छौँ, छलफल सकारात्मक छ, छलफल नटुंगिएका कारण समिति बन्न नसकेको हो, हामी छिटो भन्दा छिटो टुंग्याउँछौँ।

प्रमुख प्रतिपक्षले सार्वजनिक लेखा समितिको मात्रै सभापति पाउने अभ्यास थियो, तीन वटै समितिको नेतृत्व प्रतिपक्षले गर्ने सहमति भएको छ। संवैधानिक परिषद्सम्बन्धी विधेयकको संशोधन पूर्ण बैठकबाट पास गर्ने सहमति भएको छ। सुनुवाई समिति गठन गर्ने सहमति भएको छ। त्यसमा पहिलो र दोस्रो पार्टीको संख्यात्मक आधारमा प्रतिनिधित्व हुने कुरामा सहमति भएको छ।’-रासस

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved