रवि-स्वर्णिमहरूको जितको अर्थ !

'रास्वपा स्थापित भयो भन्न मिल्दैन'

मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा २० सिटसहित मुलुकको चौथो शक्ति बनेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३ सिटका लागि भएको उपनिर्वाचनमा २ सिटमा बाजी मार्‍यो ।

नेपालभ्युज

रवि-स्वर्णिमहरूको जितको अर्थ !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा २० सिटसहित मुलुकको चौथो शक्ति बनेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३ सिटका लागि भएको उपनिर्वाचनमा २ सिटमा बाजी मार्‍यो । रास्वपाले चितवन २ र तनहुँ १ मा शानदार जित पार्‍यो, सांसदका रूपमा रवि लामिछाने र डा. स्वर्णिम वाग्ले निर्वाचित भए ।

मंसिर ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रवि चितवन २ बाटै निर्वाचित सांसद हुन् । तर, माघ १३ मा आएर उनको सांसद पद खारेज भयो । नागरिकता प्रकरणबाट विकसित ‘पटाक्षेप’का कारण उनको पद खारेज भएपछि उनी पुन: फराकिलो मतान्तरसहित दोस्रोपटक निर्वाचित भएका हुन् ।

उनले गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठ र नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेलाई ४२ हजार ९६२ मतान्तरले पराजित गर्दै जित हात पारे । रविले ५४ हजार १७६ मत पाउँदा जीतनारायण र रामप्रसादले क्रमश: ११ हजार २१४ र १० हजार ९३६ मत प्राप्त गरे ।

संसद्‌मा रवि लामिछानेको ‘कम्ब्याक’

तनहुँ १ मा डा. स्वर्णिम वाग्ले निर्वाचित बने । नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनाल र गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईलाई पराजित गर्दै निर्वाचित बनेका स्वर्णिमले ३४ हजार ९१९ मत पाए । सर्वेन्द्र र गोविन्दले क्रमश: ८ हजार ४८८ र २० हजार १२२ मत पाए । यसरी हेर्दा स्वर्णिमले १४ हजार ७९७ मतान्तरले बाजी मारे ।

त्यसो त रास्वपाले उपनिर्वाचनमा ‘क्लिन स्वीप’ गर्ने दाबी गरेको थियो । तर बारा २ का रास्वपा उम्मेदवार रमेश खरेलले अपेक्षित मत बटुल्न सकेनन् । उनी चौथो नम्बरमै सीमित रहे । उसो त ३ सिटका लागि भएको निर्वाचनमा २ सिट जित्नु भनेको ठूलो उपलब्धि भएको रास्वपाकै नेताहरूले बताएका छन् । रास्वपाका एक नेताले भने, “हामीले क्लिन स्वीप गर्ने भनेका थियौँ । त्यसमा अफसोस् भएपनि २ सिट जित्नु हाम्रो लागि ठूलै उपलब्धि हो । हामीले त्यसरी बुझेका छौँ ।”

जसै पहिलोपटक मंसिर ४ को निर्वाचनमा भाग लिएर २० सिट जितेको रास्वपाले उपनिर्वाचनमार्फत आफूलाई प्रमाणित गरेको कतिपयले बताउन थालेका छन् । अझ कतिले त रास्वपा अब राष्ट्रिय शक्तिका रूपमा उदाएको विश्लेषण गर्न थालेका छन्, त्यसको पुष्टि उपनिर्वाचनले गरेको उनीहरूको तर्क छ । स्मरणीय छ— मंसिर ४ को निर्वाचन होमिँदा रास्वपा गठन भएको ५ महिना पनि राम्रो पुगेको थिएन ।

कांग्रेस छाडेको २५ दिनमै सांसद बने स्वर्णिम

राजनीतिक विश्लेषक हरि रोका उपनिर्वाचनको नतिजालाई स्वाभाविकरूपमा लिनुपर्ने बताउँछन् । ३ सिटका लागि निर्वाचन हुँदा २ सिटमा रास्वपाले जित्नुलाई ‘पुराना दलहरूको जनउपेक्षा’ को रूपमा बुझ्नुपर्ने भनाइ विश्लेषक रोकाको छ । “रास्वपाले जित्नुलाई स्वाभाविकरूपमा लिनुपर्छ,” विश्लेषक रोकाले भनेका छन् ।

उनले अगाडि भने, “रास्वपा जबर्जस्तरूपमा आयो । मुख्यत: यसलाई पुराना दलहरूले जनअपेक्षा पूरा नगरेको, नागरिक-आवश्यकतालाई नबुझेको र नागरिकका समस्याहरू समेट्नुको साटो आफ्नै धुनमा राखेको रूपमा बुझ्न सकिन्छ । पुराना दलका नेताहरू, प्रतिनिधिहरूले ती कुराहरू नबुझेपछि नागरिकहरूले यसरी नयाँ दल र नयाँ मान्छे रोजेका हुन्।”

अर्का राजनीतिक विश्लेषक शैलेन्द्र शर्मा रवि-स्वर्णिमहरूको जितलाई ‘पुरानाप्रतिको आक्रोश र नयाँप्रतिको आशा’को रूपमा बुझ्छन् । “त्यहाँभित्र थुप्रै आन्तरिक फ्याक्टहरूले पनि काम गरेका होलान्,” विश्लेषक शर्माले भने, “दलगत कुराहरू होलान्, उम्मेदवारहरूका कुरा होलान्, निर्वाचन क्षेत्रका कुराहरू होलान् । त्यसबाहेक अरु फ्याक्टरहरू पनि होलान । तर, मुख्य कुराचाहिँ रवि-स्वर्णिमहरूको जितको अर्थ पुरानाप्रतिको आक्रोश र नयाँप्रतिको आशा नै हो ।”

मंसिर ४ मा २० सिट जितेको रास्वपाले ३ सिटका लागि भएको उपनिर्वाचनमा २ सिट जित्दा अब रास्वपा स्थापित भयो भन्न सकिन्छ ? भन्ने प्रश्नमा विश्लेषक शर्मा भन्छन्, “त्योचाहिँ भन्न सकिँदैन । यो निर्वाचनमा धेरै फ्याक्टहरू छन् । त्यसैले यसलाई त्यसरी अर्थ्याउनुचाहिँ सकिँदैन । यत्ति हुँदै रास्वपा स्थापित भयो भन्न सकिँदैन ।”

अर्का राजनीतिक विश्लेषक पिताम्बर भण्डारी पनि शैलेन्द्र शर्मासँग सहमत छन् । मुख्यत: नागरिकले ‘नयाँ’ खोजिरहेको विश्लेक भण्डारीको विश्लेषण छ । “मुख्यगरी यसको सन्देश त नागरिकहरूले नयाँ खोजिरहेका छन्, नयाँपन चाहिरहेका छन् र त्यो पुराना दलहरूमा पाएनन् भन्ने नै बुझिन्छ,” विश्लेषक भण्डारीले भनेका छन् ।

३ सिटका लागि भएको उपनिर्वाचनमा २ सिट जित्दैमा स्थापित भयो भनेरचाहिँ भन्न नमिल्ने भनाइ विश्लेषक भण्डारीको छ । ‘अन्तत: निर्वाचन भनेको निर्वाचन नै हो,’ उनले भनेका छन्, ‘धेरै कुराचाहिँ निर्वाचन क्षेत्र, उम्मेदवारहरूका व्यक्तित्वलगायतले पनि प्रभाव पार्ने कुरा हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved