कांग्रेस छाडेको २५ दिनमै सांसद बने स्वर्णिम

रवि र स्वर्णिमलाई जनताले पत्याउँदा कांग्रेस–एमालेलाई कार्यकर्ताले पनि पत्याएनन् !

एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले समेत रविलाई हावाहुरी मात्रै भएको र आफ्नो जित निश्चित भएको भन्दै हिँडेका थिए। तर,उनले पनि रवि लामिछानेको भन्दा पाँच गुणा कम मत मात्रै ल्याउन सक्ने देखियो ।

नेपालभ्युज

कांग्रेस छाडेको २५ दिनमै सांसद बने स्वर्णिम

काठमाडौं। २०७९ चैत १५ गते कांग्रेस छाडेका अर्थविद् डा. स्वर्णिम वाग्ले २५ दिनभित्रै सांसद निर्वाचित भएका छन्।

तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहेका वाग्ले पूर्व पार्टी कांग्रेसकै नेता गोविन्द भट्टराईलाई फराकिलो मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्य विजयी भएका हुन्।

उपनिर्वाचनमा वाग्ले ३४ हजार ९१९  मतसहित विजयी हुँदा गठबन्धनको समेत समर्थन पाएका कांग्रेस नेता भट्टराईले २० हजार १२२ मत मात्रै ल्याउन सके। उनिहरुको मतान्तर १४ हजार ७९७ देखियो।
तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन भएको थियो। यो राष्ट्रपति पौडेलले चुनाव जित्दै आएको क्षेत्र हो।

त्यस्तै, नेकपा एमालेबाट उम्मेदवार बनेका नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालले ८ हजार ४८८ मत प्राप्त गरे। मत गणनाको शुरुवातदेखि अन्त्यसम्म अग्रतामै स्वर्णिमले जित हासिल गर्न सफल भए।

मंसीर ४ को चुनावमा रास्वपाका उम्मेदवार विकास सिग्देलले जम्मा ६ हजार ६६८ मत पाएको यो क्षेत्रमा रास्वपाले मंसीरपछिको जम्मा ४ महिनामा २८ हजार मत आफ्नो पक्षमा जुटायो।
तनहुँ १ राष्ट्रपति रामचन्द्र पौडेल,प्रदिप पौडेल,कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी,शंकर भण्डारी,अशोककुमार श्रेष्ठ, रघुनाथ पौडेल, ध्रुब वाग्ले, रामचन्द्र पोखरेलको क्षेत्र हो।

माओवादी केन्द्रका केन्द्रिय कोषाध्यक्ष श्रीराम ढकाल,सुरेश आले मगर,गण्डकीका संसदीय दलका नेता हरिबहादुर चुमान,समाजवादीका नेता किसान श्रेष्ठको समेत क्षेत्र हो।

यी सबै नेता फिल्डमा खटिँदा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा नेसपा अध्यक्ष डा.बाबुराम भट्टराई समेत कांग्रेस महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको समेत भाषण र आश्वासनले पनि गोविन्द भट्टराईलाई पहिले कांग्रेस एक्लैले ल्याएको जति मत पनि जोगाउन सकेन।

तनहुँ १ मा स्वर्णिम वाग्लेले जित्नुले कांग्रेस एक सिट खुम्चिएको छ भने रास्वपा एक सीट अगाडी आएको छ। यो अंकगणित मात्रै मुख्य होईन । रास्वपाका स्वर्णिम वाग्ले र रवि लामिछानेले जित्नुको अर्थ सिङ्गो गठबन्धनको हार र देउवा–प्रचण्डको लागि लज्जाको बिषय पनि हो।

सांगठनिक धरातल नै नभएको पार्टीलाई कसले भोट दिन्छ ? भन्दै हिँडेका कांग्रेस र एमालेका उम्मेदवारलाई जनताले रवि र स्वर्णिमलाई भोट दिईरहँदा कांग्रेस एमालेलाई उनकै कार्यकर्ताले समेत पत्याएको देखिएन।

चितवन २ का कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले प्रतिष्पर्धी समेत नठानेका रविले उनको भन्दा पाँच गुणा बढी मत ल्याएर विजयी उन्मुख हुँदै गर्दा उनले आफ्नै मत जोगाउन सकेको देखिएन। श्रेष्ठले पाएको थोरै मत पनि कांग्रेस एक्लैको मत होईन। नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी,जसपा र उनको आफन्त साथीभाईको ‘पपुलर’ मत समेत जोड्दा उनले यो मत पाएका हुन्।

अर्का उम्मेदवार एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले समेत रविलाई हावाहुरी मात्रै भएको र आफ्नो जित निश्चित भएको भन्दै हिँडेका थिए। तर,उनले पनि रवि लामिछानेको भन्दा पाँच गुणा कम मत मात्रै ल्याउन सक्ने देखियो ।

तनहुँमा सर्बेन्द्र खनालले गएको मंसीर ४ मा एमाले उम्मेदवार एकबहादुर रानाले पाएको १९ हजार ९८१ मत पनि सुरक्षित गर्न सकेनन्।
तनहुँ–१ मा खनालले ८ हजार ५५५ मत प्राप्त गरे। यो हेर्दा एमालेको ११ हजार मत रास्वपाले लगेको देखियो। मतलव आफ्नै कार्यकर्ताले समेत एमालेलाई पत्याएको देखिएन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved