काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड रूपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम बैंकमा रहेको मुद्दती निक्षेप हो ।
प्रधानमन्त्री मोदीले १४ मेमा आफ्नो संसदीय सीट वाराणसीबाट आफ्नो चुनावी उम्मेदवारी दर्ता गरेका थिए ।
शपथपत्रमा दिइएको जानकारी अनुसार मोदीसँग ३ करोड २ लाख ६ हजार ८ सय ८९ रूपैयाँको चल सम्पत्ति रहेको छ, जसमध्ये करिब २ करोड ८५ लाख रूपैयाँ भारतीय स्टेट बैंकमा मुद्दती निक्षेप रहेको छ ।
यसबाहेक मोदीसँग चारवटा सुनको औँठी छ, जसको मूल्य २.६७ लाख रूपैयाँ छ । साथै, उनीसँग ५२ हजार ९२० नगद र ९ लाख १२ हजार रूपैयाँको राष्ट्रिय बचत प्रमाणपत्र रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गत आर्थिक वर्षमा मोदीले ३.३३ लाख रूपैयाँ आयकर तिरेका थिए ।
निर्वाचन शपथपत्रको अचल सम्पत्तिको स्तम्भमा कुनै जानकारी दिइएको छैन । सामान्यतया यसमा जग्गा र घरको विवरण दिइएको हुन्छ ।
शपथपत्रमा जशोदाबेनलाई मोदीकी पत्नीको रूपमा वर्णन गरिएको छ । उनीसँग कति सम्पत्ति छ भन्ने जानकारी शपथपत्रमा उल्लेख छैन ।
मोदीविरूद्ध कुनै आपराधिक मुद्दा विचाराधीन छ न त उनी कुनै अपराधमा दोषी ठहरिएका छन्।
मोदीलाई अहमदाबादका बासिन्दा भनिएको छ । उनले दिल्ली विश्वविद्यालयबाट सन् १९७८ मा बीए र सन् १९८३ मा गुजरात विश्वविद्यालयबाट एमए डिग्री हासिल गरेका थिए।
सन् २०१९ को लोकसभा चुनावमा मोदीले गुजरातको गान्धीनगरमा आवासीय जग्गासहित २.५ करोड रूपैयाँको सम्पत्ति रहेको बताएका थिए । जसमध्ये १.२७ करोड रूपैयाँ मुद्दती निक्षेप थियो ।
उही समयमा सन् २०१४ लोकसभा चुनावमा उनको कुल सम्पत्ति १.६५ करोड भारू थियो।
झण्डै १० वर्षमा मोदीको सम्पत्ति दोब्बरले बढेको छ ।
Facebook Comment
Comment