आज उपनिर्वाचन, बिहान ७ बजेदेखि मतदान

नेपालभ्युज

आज उपनिर्वाचन, बिहान ७ बजेदेखि मतदान

काठमाडौं। बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा आज आइतबार  उपनिर्वाचन हुँदैछ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। तीनै क्षेत्रमा सत्ता गठबन्धन, विपक्षी नेकपा एमाले र रास्वपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। बारा २ मा भने सत्ता गठबन्धनका जनमत पार्टीका उम्मेदवार समेत प्रतिस्पर्धामा छन्।

तनहुँ १ बाट प्रतिनिधिसभामा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको र बारा २ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यी दुई निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो। चितवन २ मा भने रवि लामिछानेको सांसद पद गएका  कारण उपनिर्वाचन गर्न लागिएको हो ।

ती क्षेत्रमा आज सवारी चल्ने छैन। आयोगले मतदानका दिन सम्बन्धित जिल्लामा आवागमन र सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले तोकेबमोजिम हुने गरी गर्न निर्देशन गरेको जनाएको छ। यस्तै मतदानका समयमा मौसमी प्रतिकूलताबाट हुन सक्ने प्रभावको पूर्व तयारीका लागि त्रिपाल लगायतका सामग्रीको बन्दोबन्त गर्न स्थानीय प्रशासन तथा स्थानीय तहलाई आवश्यक निर्देशन दिई सकिएको पनि आयोगको भनाइ छ।

आयोगले निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिन दृढ संकल्पित रहेको पनि स्पष्ट गरेको छ।

खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाइ मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हुलहुज्जत वा असामान्य परिस्थिति  सृर्जना गर्ने वा गराउन खोज्ने जो कोहीलाई प्रचलित कानून बमोजिम कारबाही गरी मतदान कार्यलाई निर्वाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिईसकिएको आयोगले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved