कांग्रेस-एमालेबीच चुनावी तालमेल हुन लागेको जब प्रचण्डले थाहा पाए !

किन अन्तिम समयमा चुहियो तालमेलको प्रयास ?

दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको चुनावी तालमेलको प्रयास प्रयासमै तुहिएको छ । यी दुई दलबीच वैशाख १० गते हुने उपनिर्वाचनमा चुनावी तालमेल गरेर अगाडि बढ्ने प्रयास भएको थियो ।

नेपालभ्युज

कांग्रेस-एमालेबीच चुनावी तालमेल हुन लागेको जब प्रचण्डले थाहा पाए !

काठमाडौं । दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको चुनावी तालमेलको प्रयास प्रयासमै तुहिएको छ । यी दुई दलबीच वैशाख १० गते हुने उपनिर्वाचनमा चुनावी तालमेल गरेर अगाडि बढ्ने प्रयास भएको थियो । तर, अन्तिममा आएर सहमति भने हुन सकेन ।

स्रोतकाअनुसार चुनावी तालमेलको सन्दर्भमा सहमतिको मस्यौदापत्रसमेत तयार भइसकेको थियो । मस्यौदापत्रमा चितवन क्षेत्र नं. २ मा कांग्रेसले एमालेलाई सघाउने र तनहुँ १ मा एमालेले कांग्रेसलाई सघाउने उल्लेख थियो । पत्रमा हस्ताक्षर गर्ने बेलामा कांग्रेसभित्र भाँडभैलो भएपछि सहमति अगाडि बढ्न नसकेको स्रोतको भनाइ छ ।

मङ्गलबार साँझ कांग्रेस नेताहरू मीनेन्द्रप्रसाद रिजाल र राजेन्द्र बजगाईं एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोट पुगेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षर लिएर त्यहाँ पुगेका उनीहरूले सहमति भने गराउन सकेनन् । सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङसँगै महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई थाहै नदिइकन नेताहरू मीनेन्द्रप्रसाद रिजाल र राजेन्द्र बजगाईं अघि बढाउँदा चुनावी तालमेल हुन नसकेको स्रोत बताउँछन् ।

एमालेसँग चुनावी तालमेल गर्ने सन्दर्भमा शेरबहादुर देउवा र केपी शर्मा ओलीकै तहमा छलफल भएको भएपनि सहमतिमा पुग्न नसक्नुमा  मुख्यत: कांग्रेसका दोस्रो तहका नेताहरू भएको स्रोत बताउँछ । “मुख्यगरी कांग्रेसका दोस्रो तहलाई थाहै नदिइकन सहमति गर्न खोज्दा अन्तिममा हुन सकेन,” स्रोतले नेपालभ्यूजसँग भनेको छ ।

उपप्रधानमन्त्रीसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले अन्तिममा सहमति गर्न खोजिएको थाहा पाएको र कडा विरोध गरेको स्रोतको भनाइ छ । यसपछि सहमतिको प्रयास प्रयासमै तुहिएको हो ।

देउवाका दूतका रूपमा मीनेन्द्रप्रसाद रिजाल र राजेन्द्र बजगाईं बालकोट पुग्दा त्यहाँ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरू पनि सहभागी थिए । यसबारे नेपालभ्यूजले राखेको जिज्ञासामा राजेन्द्र बजगाईं भन्छन्, “होइन, सहमति-सहकार्य सधैँ चाहिन्छ राजनीतिमा । त्यो हाम्रो विगतका अभ्यासहरूले पनि देखाएका छन् । त्यसलाई स्वाभाविकरूपमा लिनुपर्छ । एमालेका साथीहरूसँग हामी सधैँ संवादमै छौँ । र, सधैँ संवादमै रहनुपर्छ भन्ने लाग्छ मलाई । एमाले पनि प्रमुख प्रतिपक्षी भएकाले हाम्रो निरन्तर संवाद हुन्छ र हुनुपर्छ । त्यसमा उपनिर्वाचनलाई नै लिएर पनि केही कुराकानी भएको हो ।”

नेपालभ्यूजले उनलाई कांग्रेस-एमालेबीच चुनावी तालमेल हुन्छ ? भन्ने जिज्ञासा राखेको थियो । जवाफमा उनले प्रतिप्रश्न गरे, ‘अब मौन अवधि त सुरू भयो, कसरी होला र चुनावी तालमेल ?’

तालमेल हुने भनेर देउवाले चितवन २ का कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई फोनसमेत गरिसकेका थिए । देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यहाँ एमालेलाई सघाउनुपर्ने भयो । तपाईं अर्कोपटकलाई सुरक्षित हुनुहुन्छ ।’ त्यसमा श्रेष्ठले विरोध जनाएका थिए । अन्तत: श्रेष्ठको विरोधझैँ तालमेल हुन सकेन । उनले बरु एमालेले आफूलाई सहयोग गर्नुपर्ने भनाइ श्रेष्ठको छ । उनले भनेका छन्, “बरु मलाई एमालेले सघायो भने त्यो राम्रो हुन्छ । स्वाभाविकरूपमा केही छलफल भएका हुन् । तर, त्यो हुनेखाले छलफल भने थिएन ।” चितवनमा एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । यदि केन्द्रमा कांग्रेस-एमालेबीच चुनावी तालमेल भएको भए कांग्रेसले रामप्रसाद न्यौपानेलाई सघाउनुपर्थ्यो ।

कांग्रेस-एमालेबीच सहमति भएको र त्यसको पालना गर्दा एमालेले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई सहयोग गर्नुपर्थ्यो । त्यहाँ एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । सहमति कायम भएको भए उनले गोविन्द भट्टराईलाई सहयोग गर्नुपर्थ्यो । उनी पनि सहमतिको विरोधमा थिए ।

सहमतिको प्रयासबारे प्रचण्ड जानकार

स्रोतकाअनुसार कांग्रेस-एमालेबीच हुन लागेको सहमतिबारे प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जानकार थिए ।

यही संसदीय कार्यकालभित्र कांग्रेस-एमालेबीच सत्ता सहकार्य हुनसक्ने र माओवादीलाई ‘आउट’ गर्नसक्ने विश्लेषणहरू भइरहँदा हुन लागेको चुनावी तालमेल नहोस् भन्ने प्रचण्ड चाहन्थे । त्यसो त प्रचण्ड नेतृत्वको सरकारको आयुबारे बढी नै अड्कलबाजी भइरहेका छन् । यसबारे सरकारलाई समर्थन गरिरहेको दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पुराना कम्युनिष्ट नेता चित्रबहादुर केसीको विश्लेषण छ, “कांग्रेस-एमालेबीच सत्ता सहकार्य हुने र माओवादी केन्द्रलगायतका दलहरू पाखा पार्ने सम्भावना उच्च देखिन्छ ।”

कांग्रेस-एमालेबीच चुनावी तालमेल हुन लाग्दा प्रधानमन्त्री प्रचण्डले कांग्रेसका दोस्रो तहका नेताहरूलाई फोन गरेको बताइन्छ । त्यसमा कांग्रेसका दोस्रो तहका नेताहरू ‘कन्भीन्स’ भएको बताइन्छ । त्यसो त खासगरी उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङसँगै महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालगायतका नेताहरू अहिल्यै एमालेसँग कार्यगत एकता गर्ने पक्षमा देखिँदैनन् ।

यी नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओली ‘संसद् विघटन ठिक’ भन्ने मानसिकताभन्दा माथि नउठेको बताउने गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved