कर्णाली प्रदेश सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

कर्णाली प्रदेश सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

सुर्खेत। कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको संसदीय दलले सहभागी हुने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

आज बसेको वैठकले सरकारमा सहभागी हुने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए । ‘सरकारमा हामी अब एक-दुई दिनमै सहभागी बन्छौं ।’ उनले भने,‘अब ७ गते विश्वासको मत लिने सम्भावना बढेको छ। अरु विषयमा विस्तारै हामी अघि बढछौं ।’

कांग्रेस र माओवादीबीच सत्ता सहकार्यमा लिखित सम्झौता

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रदेश सरकार अढाई-अढाई वर्ष चलाउने सहमति गरेका छन् । आइतबार मुख्यमन्त्री राजकुमार शर्माको निवासमा लिखित सहमति भएको हो ।

आइतबार साँझ नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कालीबहादुर मल्लको रोहवरमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र नेकपा माओवादीका दलका नेता एवम मुख्यमन्त्री राजकुमार शर्माबीच भएको लिखित सहमति भएको हो ।

दुई पार्टीबीच लिखित सहमति भएको भए पनि दुवै पार्टीले सहमति पत्र सार्वजनिक गरेका छैनन् । सहमतिअनुसार कांग्रेसले तीन मन्त्रालय पाउने भएको छ ।

आठ मन्त्रालय बनाइँदै

कर्णाली प्रदेशमा अब आठ मन्त्रालय बनाइने भएको छ। विगतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुसार सात वटा मन्त्रालय बनाउने निर्णय गरेका थिए ।

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय गाभ्ने निर्णय गरेका थिए ।

अब कर्णाली प्रदेशमा भएको सत्ता गठबन्धनमा परिवर्तनसँगै साविकमा रहेका दुवै मन्त्रालय कायम रहने र मन्त्रालय संख्या आठ कायम माओवादी केन्द्र र नेपाली कांग्रेसले सहमति गरेका हुन् ।

कर्णाली प्रदेशसभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको आज (सोमबार) दिउँसो तीन बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । दिउँसो एक बजे प्रदेशसभामा बसेको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले सदन सार्ने प्रस्ताव पेश गरेका थिए ।

सदन अब वैशाख सात गते दिउँसो तीन बजे बस्ने भएको छ । उक्त दिन मुख्यमन्त्री शर्माले सरकार विस्तार गरेर तेस्रोपटक विश्वासको मत लिने सम्भावना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved