छरिएका ‘वैकल्पिक‘को योजना पीडीआई’ बनाउने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयपछि पनि गम्भीर र संवेदनशील, विचार र एजेन्डासहितको वैकल्पिक शक्तिको आवश्यकता पूरा नभएको बैठकका सहभागीको धारणा थियो ।

नेपालभ्युज

छरिएका ‘वैकल्पिक‘को योजना पीडीआई’ बनाउने

काठमाडौं। २०७० दशकको प्रारम्भतिर ‘वैकल्पिक राजनीति’ भन्दै विवेकशील नेपाली दल, साझा पार्टी र नयाँ शक्ति पार्टी अस्तित्वमा आएका थिए । २०७४ को आम चुनावसम्म पुग्दा यीमध्ये विवेकशील र साझा पार्टी एकीकृत भई विवेकशील साझा पार्टी बनेको थियो ।

२ लाख १२ हजार ३६६ अर्थात् २.२२ प्रतिशत मत प्राप्त गरी विवेकशील साझा पाँचौ ठूलो पार्टी बनेको थियो भने नयाँ शक्ति पार्टीले ८१ हजार ८३७ मत पाएको थियो । विवेकशील साझाका मूल नेता रवीन्द्र मिश्रको राप्रपा प्रवेशपछि त्यो फेरि तंग्रिन खोज्दैछ । हालै सम्पन्न महाधिवेशनबाट समीक्षा बाँस्कोटालाई अध्यक्ष र रञ्जु दर्शनालाई महासचिव बनाएर त्यो समूह पुनर्संगठित भएको छ । साझासँग एकता नगरेर भिन्नै बसेको विवेकशील नेपाली पार्टीको नेतृत्व भने अहिले सन्तोष घिमिरेले गरिरहेका छन् ।

नयाँ शक्ति पार्टी मधेसी जनाधिकार फोरमसँग एकता, सपा, जसपा हुँदै नेसपासम्म पुग्दा यसका धरै नेता कार्यकर्ता तितरवितर भए । कोही जसपातिरै रहे, कोही लोसपातिर लागे । कोही नेसपामा छन् भने केहीले नयाँ प्रयत्न गरिरहेका छन् ।

त्यसमध्येको एउटा समूह भने वैकल्पिक राजनीतिकै धारमा उभिने निर्णयसहित पुनर्गठन अभियानमा लागेको छ । यो समूहमा प्रशान्त सिंह, अशोक श्रेष्ठ, डम्बर खतिवडालगायत छन् । बुधवार यस्ता वैकल्पिक समूहले काठमाडौंमा संयुक्त बैठक गरेका थिए ।

साझा पार्टीमा रवीन्द्र मिश्रसँगको मतभेदबीच बाहिरएका विश्लेषक मुमाराम खनाल, माओवादीबाट निस्किएर वैकल्पिक राजनीतिमा सक्रिय हुने भन्दै संकल्प–अभियान चलाइरहेका पूर्व सभासद हेमराज भण्डारी, हालै नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका सुरेन्द्र चौधरी, विश्लेषक बुद्धछिरिङ मोक्तान, विश्लेषक केशव दाहाललगायत बैठकमा सहभागी थिए । यस्ता विभिन्न १३ समूहले बैठकमा सहभागिता जनाएका थिए ।

बैंठकले ‘प्रगतिशील लोकतन्त्रका लागि पहलकदमी’ अर्थात् प्रोग्रेसिभ डेमोक्रेसी इनिसिएटिभ (पीडीआई) बनाएर सहकार्य गर्ने निर्णय गरेको छ । एक सहभागीका अनुसार यो त्यस्ता समूह, शक्ति र व्यक्तित्वको एक साझा मञ्च हुनेछ, जसले सहभागितामूलक, समावेशी, वैकल्पिक प्रगतिशील लोकतान्त्रिक शक्तिको आवश्यकता र औचित्यमा विश्वास गर्दछन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयपछि पनि गम्भीर र संवेदनशील, विचार र एजेन्डासहितको वैकल्पिक शक्तिको आवश्यकता पूरा नभएको बैठकका सहभागीको धारणा थियो । बैठकमा बोल्दै विवेकशील साझाका पूर्व संयोजक मिलन पाण्डेले–‘वैकल्पिक राजनीति भनेको कुनै हिरोइज्म, लोकरिज्याइँ र अनैतिक सत्ता राजनीति नभएको’ बताए । उनले गम्भीर र मूल्यमान्यतामा आधारित वैकल्पिक राजनीतिलाई पुनर्स्थापित गर्न आवश्यक भएको बताएका थिए ।

विश्लेषक मुमाराम खनालले ‘वैकल्पिक राजनीतिको नाममा भएका षड्यन्त्र र धोकाबाजीलाई चिर्दै यसलाई नयाँ ढंगले संगठित गर्न’ आवश्यक भएको तर्क गरे । सुरेन्द्र चौधरीले ‘आफूले टिकापुर घटनाका राजबन्दी र रेशम चौधरीको रिहाइका लागि नागरिक उन्मुक्ति स्थापनामा साथ दिएको तर अहिले त्यो पार्टीले दीर्घकालीन राष्ट्रिय आवश्यकता पूरा गर्न नसक्ने बताए ।’

संकल्प यात्राका अभियन्ता हेमराज भण्डारीले ‘अब माथिमाथि नेता र समूहको टाउको जोडेर हैन, जगबाट उठ्दै आएको पूर्ण लोकतान्त्रिक राजनीतिक दल बनाउनुपर्ने, त्यसका लागि दल निर्माणअघि राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने’मा जोड दिएका थिए ।

बैठकमा सहभागिता जनाएका विश्लेषक डम्बर खतिवडा भन्छन्–‘अहिलेका कुनै राजनीतिक शक्तिबाट वैकल्पिक प्रगतिशील लोकतान्त्रिक तथा समावेशी पार्टीको आवश्यकता पूरा हुने देखिँदैन । यो स्पेस खाली भएको हुँदा कसरी भर्न सकिन्छ भन्ने बहस भयो ।’

बैठकमा जसपा, लोसपा, नेसपा र माओवादीका केही नेता-कार्यकर्ता समेत सामेल थिए । ‘पीडीआई’ को एजेन्डा र सहकार्यको मोडालिटीबारे थप गृहकार्य गर्ने सहमति भएको खतिवडाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved