माधवलाई योगेशको प्रश्न- होसमा हुनुहुन्छ कि हुनुहुन्न ?

नेपालभ्युज

माधवलाई योगेशको प्रश्न- होसमा हुनुहुन्छ कि हुनुहुन्न ?

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेबाट संसद विघटन हुँदैछ भनेर अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका हुन् ।

उनले अध्यक्ष नेपालको बोलि शंकास्पद रहेको पनि बताए । उनले नेपाल दुरुस्त भएर बोलेको जस्तो नलागेको भन्दै होसमा हुनुहुन्छ कि हुनुहुन्न भनेर प्रश्न समेत गरे । सचिव भट्टराईले एमाले प्रतिपक्षमा भएको भन्दै प्रतिपक्षमा भएको पार्टीले कसरी संसद विघटन गर्छ भनेर पनि प्रश्न गरे ।

‘पूर्वप्रधानमन्त्री माधव नेपालले एमालेबाट संसद विघटन हुन लागेको छ खबरदार सबै सचेत हौँ भन्नुभएछ ।  मध्यपान, धुम्रपानबाट अलिकति टाढा रहेको भन्ने नै मैले बुझ्छु माधव नेपाललाई । तर आजको उहाँको बोलि हेर्दा अलि शंकास्पद छ’, उनले भने, ‘ प्रतिपक्षमा भएको  पार्टीले कसरी संसद विघटन गर्छ ? उहाँले के भन्दै हिँड्नुभएको छ ? सपना कि विपनामा हुनुहुन्छ ? होसमा  हुनुहुन्छ कि  हुनुहुन्न ? उहाँजत्तिको १५ वर्ष एउटा ठूलो पार्टीको नेतृत्व गरेको , प्रधानमन्त्री भइसकेको, यति अनुभवि राजनीतिज्ञले त्यस्तो बोलेको देख्दा यो एक, डेढ वर्षमा उहाँ धेरै बदलिनु भएछ ।’

उनले काँग्रेस सभापतिले भविष्यमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नसक्ने कुरा अभिव्यक्त गरेकोमा काँग्रेस ब्युँझिएको टिप्पणी गरे । उनले काँग्रेस नेतृत्वमा सरकार बन्नु संवैधानिक अधिकार भएपनि काँग्रेसले सो अधिकारको प्रयोग गर्न नसकेको बताए । उनले अहिले काँग्रेस आफ्नो हैसियतमा नरहेको बताए ।

‘काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउछौँ  भन्नेकुराले बल्ल ब्युझेछ । यो त काँग्रेसको अधिकार हो नि । काँग्रेसले त आफ्नो संवैधानिक अधिकार नै प्रयोग गर्न नसक्नेगरी काँग्रेस थला बसेको छ । काँग्रेस आफ्नो हैसियतमा छैन । बिपी, गणेशमान, किसुनजीहरुले बनाएको काँग्रेस छैन आज शेरबहादुरको पालामा’ उनले भने, ‘यो काँग्रेस त स्वाभिमान, इच्छाशक्ति नभएको, र आज यत्रा तमाम समस्यामा रमिते बनेर बस्ने काँग्रेस हो यो । रमिते बनेको छ यो काँग्रेस । ऊसँग अधिकार थियो, ७६(३)को सरकार बनाउने, ७६(२) मा पनि उसको अग्रसरता हुनुपथ्र्यो नि पहिलो पार्टी हुनुका नाताले । कहाँ डुल्दैथ्यो काँग्रेस त्यतिबेला ?’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved