दुईवटा संसदीय समिति सभापतिमा राप्रपाको दाबी

नेपालभ्युज

दुईवटा संसदीय समिति सभापतिमा राप्रपाको दाबी
फाइल फोटो

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले दुईवटा संसदीय समितिको सभापतिमा दाबी गरेको छ । संघीय संसद सचिवालयले संसदीय समिति गठनको प्रक्रिया अगाडी बढाएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले दुईवटा समितिको सभापतिमा दाबी गरेको हो । आइतबार  राप्रपका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफ्नो पार्टीले दुईवटा सभापतिमा दाबी गरेको बताए ।

उनले दुई सभापति आफुहरुले अनिवार्य पाउनैपर्ने बताए । राप्रपा प्रतिनिधि सभाको पाँचौ ठूलो दल र दोस्रो ठुलो प्रतिपक्षी दल भएको भन्दै उनले दुई सभापति पाउनु आफूहरुको अधिकार भएको बताए ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दुईवटा समितिमा हाम्रो दाबी रहन्छ, दशवटा समितिमध्ये हामीले दुईवटा पाउनुपर्छ । त्यो हाम्रो अधिकार पनि हो । किनकी प्रतिनिधि सभामा हामी सिट संख्याको हिसावमा पाँचौ ठूलो दल हौँ । राष्ट्रिय दल पनि हो’ उनले भने,  ‘राष्ट्रिय दल र पाँचौ ठुलो दल भएका हिसावले दुईवटा समितिमा हाम्रो दाबी हुन्छ । अर्को, लोकतन्त्रको मान्यता के हो भने, सरकार सत्तापक्षको हो । सदन प्रतिपक्षको हुन्छ । सदनमा जहिल्यैपनि प्रतिपक्षको आवाज सुनिनुपर्छ । बल्ल प्रजातन्त्र दिगो रुपमा टिकाउ हुन्छ ।’

‘विषयगत समितिमा विषयगत ज्ञान हुनुपर्छ । राप्रपाले विषयगत रुपमा नै व्यक्तिको छनोट गर्छ । जस्तै हामीले भोली लेखा समिति पायौँ भने लेखा सम्बन्धी ज्ञान भएको मान्छे त्यहाँ जान्छ । राज्य व्यवस्था समिति भयो भने प्रशासनसँग सम्बन्धित ज्ञान भएको मान्छेलाई हामीले त्यहाँ नियुक्ति गर्छौं । विषयगत ज्ञान भएका मान्छे हामी चयन गर्छौं ‘, उनले भने ।

उनले समितिमा सदस्यहरुलाई विषयगत ज्ञानको आधारमा पठाउनुपर्ने बताए । राप्रपाले आफ्ना प्रतिनिधि सभा सदस्यहरुलाई विषयगत ज्ञान र दक्षताको आधारमा सम्बन्धित समितिमा पठाउने पनि उनले उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved