बजारमा आर्थिक गतिविधि सुस्त

सटर र कोठा खाली हुन थाले, होटल रेस्टुरेन्टमा छैनन् ग्राहक

बजारमा आर्थिक गतिविधि सुस्त

काठमाडौं। देशमा आर्थिक संकट गहिरिँदै गएको र त्यसको प्रत्यक्ष असर बजारमा देखिन थालेको छ। काठमाडौंलगायत देशका मुख्य शहरमा आर्थिक चहलपहल घट्दै गएको र त्यसले अर्थ व्यवस्थालाई नै चुनौती थपिएको विज्ञहरू बताउँछन् ।

पछिल्लो समय शहरका मुख्य केन्द्रमै सटर खाली,आवास क्षेत्रमा कोठा खाली र बैंक तथा व्यापारिक भवनमा भिडभाड कम हुनु यसको सूचक हो। अरुबेला ४ वटाभन्दा बढी काउन्टरबाट नगद र चेक कारोबार हुने बैंकमा २ वटा मात्रै काउन्टरबाट पनि सेवा दिन सकिने अवस्था छ।

त्यसैगरी, होलसेल पसल अगाडि पार्किङको समस्यादेखि सामान छान्न लाग्ने भिडसमेत कम भएको छ। व्यापारिक क्षेत्रमा जस्तै होटल रेस्टुरेन्टमा समेत भिडभाड छैन। होटलमा भिडभाड कम भएपछि तरकारी पसल, मासु पसल र खाद्यान्न पसलमा समेत व्यापार कम छ।

घरजग्गा कारोबारको लागि सिफारिस लिनुपर्नेको कार्यालयमा भीड लाग्नेक्रम रोकिएको छ। व्यापार व्यवसायको प्रवर्द्धन गर्ने विज्ञापन हुन छाडेको छ भने सामूहिक भोज र जमघट हुने पार्टी प्यालेससमेत खाली छन् ।

घरजग्गा व्यवसायीको कारोबार घटेको कारण मालपोत, नापी र वडा तथा नगरपालिकामा समेत व्यवसायीको भिड कम छ। जसका कारण वडाबाट सिफारिस लिने र नगरपालिकाबाट लिनुपर्ने सेवामा समेत कमि आएको छ।

अर्कोतिर चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधनको व्यापारसमेत घटेको व्यवसायीहरू बताउँछन् ।‘सवारीसाधनको व्यापार त चौपट छ’ अटोमोबाइल्स व्यवसायी सुवर्ण नकर्मी भन्छन्–‘गाडीको बुकिङ नगन्य छ। विद्युतीय सवारी साधनको माग देखिए पनि ग्राहकले पैसा जोहो गर्न नसक्दा बुकिङ छैन र भन्सारमा रहेका कतिपय सवारीसाधन शोरुमसम्म ल्याउनसमेत कठिन छ। सरकारले अवस्था सुधार्न कदम चाल्न ढिला भइसक्यो।’

आर्थिक संकट गहिरिनुमा सीमित व्यक्तिको हातमा देशको अर्थतन्त्र कब्जा र सरकारी उदासीनता मुख्य कारण भएको साना व्यवसायीको बुझाइ छ।‘बिजनेस ग्रुपको नाममा सीमित व्यक्तिको मात्रै बैंकको पैसामा पहुँच छ’ निर्माण व्यवसायी हर्क घिसिङ भन्छन्–‘नेपालको अर्थतन्त्र थोरै व्यक्तिले आफू अनुकूल चलाउने र सरकार तथा राष्ट्र बैंकले नियन्त्रण गर्ने तर्फ ध्यान नदिँदा अवस्था झन जटिल बनेको छ।’

अन्य क्षेत्रजस्तै होटल तथा रेस्टुरेन्ट क्षेत्र पनि चौपट भएको गुनासो व्यवसायीको छ। कतिपय होटल तथा रेस्टुरेन्ट व्यवसायीले कर्मचारी तलब र घरभाडा बुझाउन समेत ऋण खोज्नुपर्ने अवस्था आएको बताउँछन्।

काठमाडौं बौद्धस्थित रेस्टुरेन्ट व्यवसायी विष्णु बस्ताकोटी भन्छन्–‘कुनैबेला रेस्टुरेन्टमा आउने ग्राहकले बस्ने ठाउँ पाउँदैनथिए र हामीले सर्भिस दिन भ्याइनभ्याइ थियो, तर अहिले दिनभरमा १-२ जना ग्राहकसमेत आउँदैनन्।’

मासिक भाडा,बैंक ब्याज र कर्मचारी खर्च रेस्टुरेन्टको कमाइले धान्न छाडेको एक वर्ष भइसकेको उनको भनाइ छ। ‘अवस्था सुध्रिन्छ भनेर जसोतसो व्यवसाय जोगाउने प्रयास गरियो तर अब सम्भव नहोला जस्तो भयो’ उनले भने–‘बैंक ब्याज र घरबेटीको भाडा घट्दैन तर, व्यापार आधाभन्दा बढी घटिसक्यो यही अवस्था रहिरहने हो भने अब कसरी धान्न सकिन्छ।’

उता, साना व्यवसाय गरेर जीवन धान्ने खाजा घर, कपडा पसल, कस्मेटिक पसल, पार्लर र चियापसलको अवस्था पनि उस्तै छ। ग्राहक पस्ने अवस्था नै नभएपछि खानाखर्च र कोठाभाडा तिर्न पनि सस्तोमा पसल बेच्नुपर्ने अवस्था आएको उनीहरूको गुनासो छ।

‘बच्चाको स्कुल फी र कोठाभाडा बुझाउन २ महिनादेखि पसल बिक्रीमा राखेको छु तर,कोही लगानी गर्ने व्यक्ति नै आएनन्’–सात वर्षदेखि पुरानो बानेश्वरमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी सरिता सुवेदी भन्छिन्–’कोरोनापछि नै गाउँ फर्किने योजना थियो तर, देशको आर्थिक अवस्थामा सुधार होला र आफ्नो व्यापार पनि सुध्रिएला भनेर कुर्दाकुर्दै थप २ लाख ७० हजार ऋण बढ्यो।’

देशमा आर्थिक मन्दीको असर जताततै देखिँदा पनि सरकार भने उदासीन भएर बसेको व्यवसायीको गुनासो छ। एकातिर बैंक र लघुवित्तको चर्को ब्याज, अर्कोतिर बजारमा व्यापारमा मन्दी जस्ता कारणले धेरै व्यवसायी पलायन हुने अवस्था आइसकेको उनीहरूको भनाइ छ।

यही अवस्था अझै केही समय रहिरहेमा देशको होटल, उद्योग, बैंकलगायत सबै खालका व्यवसायको वासलात बिग्रन सक्ने अर्थविद्हरू बताउँछन्। कुनै पनि उद्योगी व्यवसायीको आम्दानी नहुनु भनेको उनीहरूको ऋण तिर्ने क्षमता खस्किने र भविष्यमा बजारको माग बढे पनि उनीहरूले सेवा दिन तथा उत्पादन गर्न नसक्ने उनीहरूको बुझाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved