रास्वपाले दुई तिहाइ बहुमतको सरकार बनाउँछः रवि लामिछाने

नेपालभ्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले दुई तिहाई बहुमतको सरकार बनाउने जिकिर गरेका छन् ।

वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गर्न शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो पार्टीमा स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता हजारौं क्षमतावान मानिसहरु जोडिन आउने जनाउ दिएको भन्दै पार्टीले बहुमतको सरकार बनाउने दिनको परिकल्पना आफूले गरेको पनि स्पष्ट पारे ।

सभापति लामिछानेले वाग्ले र खरेलजस्ता विज्ञहरुले मन्त्री भएर सरकारको नेतृत्व गर्ने र मुलुकमा विचौलिया र घुसखोरहरुको अन्त्य हुने दाबी समेत गरे । वाग्ले र खरेलजस्ता विज्ञहरु आफ्नो पार्टीमा आउनु सिंगो देशका लागि उज्यालोको संकेत भएको उनको भनाई थियो ।

‘आजको यो कार्यक्रम आउँदै गरेको त्यो हजारौं क्षमतावान मानिसहरु जोडिन आँटेको जनाउ घण्टी मात्रै हो । सम्पूर्ण होइन’ उनले भने, ‘तपाईहरुको आगमनले एउटा केवल राजनीतिक दलमा तपाईहरु दुई जना आउनु भएको मात्रै होइन । एउटा हुर्कदै गरेको पुस्तालाई तपाईहरुले कति भरोसा दिनु भएको छ ।’

समाजमा निराशाको बादल छाएको बेला वाग्ले र खरेलले एउटा आशाको किरण बालिदिएको उनले बताए । ‘म त्यो दिनको परिकल्पना गरिरहेको छु–जतिखेर हामीले बहुमतको सरकार, दुई तिहाईको सरकार बनाउनेछौं । जहाँ हाम्रा सांसदहरु, नीति निर्माणमा संसदभरी रहनेछन् र, हामीले संचालन गरेको सरकार, हाम्रो नेतृत्वको सरकारमा तपाईहरुजस्तो विज्ञहरुले मन्त्रालयहरु हाँक्नु हुनेछ,’ उनले भने, ‘जहाँ विचौलिया, घुसखोरहरुको अन्त्य हुनेछ । यो देशले राम्रा नीतिहरु बनाउनेछ ।’

लामिछानेले रास्वपाले आउँदै गरेका हाम्रा छोराछोरीहरुको भविष्य सुनिश्चित गर्ने जिकिर गरे । उनले भने, ‘म त्यो दिनको सपना देखिरहेको छु । यो सपना मैले सुतेर, निदाएर देखेको सपना होइन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved