न्यूयोर्कमा महावाणिज्य दूतावासको विशेष कार्यक्रम : अमेरिकीलाई नेपाल भ्रमण गर्न आग्रह

न्यूयोर्कमा महावाणिज्य दूतावासको विशेष कार्यक्रम : अमेरिकीलाई नेपाल भ्रमण गर्न आग्रह

न्यूयोर्क । नेपालमा पर्यटक भित्र्याउने पहल स्वरुप नेपाली महावाणिज्य दूतावासले अमेरिकाको न्यूयोर्कमा विशेष कार्यक्रम गरेको छ ।

‘आफूलाई नेपालमा पुनः कल्पना गर्नुहोस्’ भन्ने नारासहित म्यानहाटनमा बिहीबार आयोजित कार्यक्रमका वक्ताहरुले नेपालमा पर्यटनको सम्भावना र यसका चुनौतीबारे चर्चा गरेका थिए । नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औँ वर्षगाँठको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा दुई देश बीचको पारस्परिक सम्बन्ध, जनसम्पर्क, सद्भाव र पर्यटनका विषयमा छलफल भएको थियो ।

कार्यवाहक महावाणिज्य दूत विष्णुप्रसाद गौतमले नेपालको पर्यटन सम्भाव्यता भित्रको पुनर्कल्पनाको अवधारणा र यसले व्यक्तिगत वृद्धि, सामुदायिक सशक्तीकरण र पर्यटन व्यवसायको पुनःप्राप्तिमा गरेको योगदानबारे प्रष्ट पारे । उनले नेपाल पर्यटनका लागि सुरक्षित गन्तव्य भएको भन्दै भ्रमण गर्न अमेरिकी जनतालाई आग्रह गरे ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसनका न्यूयोर्क च्याप्टर अध्यक्ष जोबर्ट ओपुलेन्सियाले प्राकृतिक र सांस्कृतिक सम्पदा असाधारण, सुन्दर एवं नेपालीको मन निकै न्यानो भएको भन्दै नेपाललाई आफ्नो मनपर्ने गन्तव्यमा सूचीकृत गर्न ट्राभल तथा टुर अपरेटरलाई आग्रह गरे ।

त्यस्तै युएस स्टेट डिपार्टमेन्ट अफिस अफ फरेन मिसनका न्यूयोर्क क्षेत्रीय निर्देशक अलेक्ज्याण्डर के. हार्डिनले अमेरिका–नेपाल सम्बन्ध, बढ्दो सामुदायिक र दुई देशबीचको सांस्कृतिक सम्बन्धका बारेमा चर्चा गर्दै नेपाललाई अमेरिकाले निरन्तर सहयोग गरिरहने आश्वासन दिए ।

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालका राजदूत तथा स्थायी प्रतिनिधि अमृतबहादुर राईले मनोरञ्जन र साहसिक कार्यका साथै सांस्कृतिक, आध्यात्मिक शिक्षा एवं योगको माध्यमबाट व्यक्तिगत र व्यावसायिक विकासका लागि नेपाल अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बन्न सक्ने बताए ।

मुख्य वक्ता भेनेसा ओब्रायनले नेपाल भ्रमणका क्रममा प्राप्त अनुभव एवं अविस्मरणिय सम्झना सुनाउँदै उचाइमा पुग्ने, चेतनाको माध्यमबाट साहस खोज्ने र मानवीय क्षमताका सीमा खोज्नेका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको बताइन । त्यस्तै लेखक तथा ट्रेकर डा. सेथ सिक्रोफले एडमन्ड हिलारी र तेन्जिङ नोर्गेद्वारा सगरमाथाको पहिलो सफल आरोहणबाट नै नेपालको चर्चा चुलिएको बताउँदै पर्यटनका लागि नेपाल गतिलो गन्तव्य भएको बताए ।

कार्यक्रममा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा सोसलिस्ट इन्टरनेशनलका उपाध्यक्ष, अधिवक्ता खगेन्द्र जीसीले कला र संस्कृतिको प्रवर्द्धन एवं व्यक्ति–व्यक्ति बीचको सम्पर्कले नेपालको पर्यटनमा थप टेवा पुग्ने बताए । टर्किस एयरलाइन्सका न्यूयोर्कस्थित क्षेत्रीय मार्केटिङ प्रबन्धक अल्प ओजामानले आफ्नो कम्पनीले नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याइरहेको भन्दै थप सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा महावाणिज्य दूतावासका अधिकारीहरु, पाटा–न्यूयोर्क च्याप्टरका अधिकारीहरु, सञ्चारकर्मी, ट्राभल एण्ड टुर बिजनेस एक्जिक्युटिभको उपस्थिति रहेको थियो । प्यासिफिक एशिया ट्राभल एशोसियसनसँगको सहकार्य एवं क्षेत्री एण्ड एशोसियट्स पीसीको सहयोगमा कार्यक्रम गरिएको  थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved