शपथ नखाँदै नयाँ राष्ट्रपति पौडेलको ‘तामझाम’ धेरै

राष्ट्रपति भण्डारीको बिदाइ बाँकी

नेपालभ्युज

शपथ नखाँदै नयाँ राष्ट्रपति पौडेलको ‘तामझाम’ धेरै

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ बाँकी नै छ। आजको दिनसम्म संविधानले चिन्ने राष्ट्रपति विद्यादेवी भण्डारी नै हो। भोलि आइतबार (फागुन २८मा) भण्डारीको कार्यकाल सकिँदै छ।

तर, फागुन २५ गते साँझ निर्वाचन आयोगले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई ‘राष्ट्रपति’ निर्वाचितको प्रमाणपत्र दिएको छ।

यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बेलुकी मात्रै शीतल निवास पुगेर राष्ट्रपति भण्डारीलाई ‘पौडेल राष्ट्रपतिमा निर्वाचित भएको’ औपचारिक जानकारी गराएका छन्।

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथग्रहण बाँकी नै छ । अझै दुई दिन पछि उनको शपथ हुनेछ। तर, राष्ट्रपति निर्वाचित भएको १६ घण्टापछि नै पौडेलले ‘बाटो खाली’ गराउँदै तामझामसहित मन्दिर दर्शन, संग्रहालय, पार्क र आश्रम निस्केका छन्।

सुरक्षा स्रोतका अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेल आज पनि दौडधुपमा छन् । दिउँसो १ बजे पुष्पलाल पार्क चम्पादेवी जाने राष्ट्रपति पौडेल २ बजे कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँ, ललितपुर जाने भएका छन् ।

पौडेलले शुक्रबार पशुपतिनाथ र गुह्येश्वरीको दर्शन गरेका थिए । करिब डेढ घन्टाको दर्शनपछि बाटो खाली गराएरै उनी सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेका थिए । उनले बीपीको शालिकमा माल् पणसँगै बिरुवा रोप्ने र संग्रहालयको भ्रमण समेत गरेका थिए ।

उनको भ्रमणमा श्रीमती, छोरा र निकटका व्यक्तिहरूसमेत सँगै हुने गरेका छन्।

संघीय संसद् भवनबाहिर राष्ट्रपति निर्वाचन हुँदै गर्दा उम्मेदवार रहेका पौडेलले राष्ट्रपनि निर्वाचित भएमा कुनै तामझाम र जनतालाई सास्ती नदिने बताएका थिए ।’गणतन्त्रको राष्ट्रपति कस्तो हुन्छ म देखाउँछु’ उनले दुई दिनअघि मात्रै भनेका थिए।

पौडेललाई राष्ट्रपतिको रूपमा नेपाली सेनाले सुरक्षा प्रदान गरिसकेको छ । पौडेलले सुन्दरीजलस्थित बीपी संग्राहालयमा नेताहरूको सालिकमा माल्यार्पण गरेपछि त्यहाँ राखिएको पुस्तिकामा ‘राष्ट्रपति’को तर्फबाट सन्देश लेखेर हस्ताक्षर गरेका छन् ।

तर, राष्ट्रपतिमा निर्वाचित भए पनि पौडेल आफ्नै निजी निवासमा बसिरहेका छन्। राष्ट्रपति पौडेलले यही फागुन २९ गते कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ खाँदैछन् ।

राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रमका बीच शपथग्रहण समारोह हुनेछ र त्यहीँ राष्ट्रपति भण्डारीले राष्ट्रपति पौडेललाई पद हस्तान्तरण गर्नेछिन् ।

पौडेल हाल निर्वाचित राष्ट्रपति मात्र हुन्। राष्ट्रप्रमुखको भूमिका होइन । पौडेलले शपथ लिएसँगै राष्ट्रपति भण्डारीको पदावधि समाप्त हुनेछ। त्यसपछि मात्रै नयाँ राष्ट्रप्रमुख पौडेल हुनसक्ने संवैधानिक व्यवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved