नेपालले खेल्न सक्छ सोझै विश्वकप छनोट, यसरी जोगिनेछ एकदिवसीय मान्यता

स्कटल्यान्ड र ओमानले शीर्ष दुईमा रहेर विश्वकप छनोटमा स्थान पक्का गरिसकेका छन् । तेस्रो हुनका लागि नेपाल, यूएई र नामिबिया प्रतिस्पर्धामा छन् ।

नेपालभ्युज

नेपालले खेल्न सक्छ सोझै विश्वकप छनोट, यसरी जोगिनेछ एकदिवसीय मान्यता

काठमाडौं। विश्व क्रिकेट लिग-२ अन्तर्गतका पछिल्ला दुई वटा शृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।

नेपालमा भएको नामिबिया र स्कटल्याण्ड सम्मिलित शृङ्खलामा नेपालले चार वटा खेलमा चारैवटा जित्यो । त्यस्तै यूएईमा सोमबार सम्पन्न पीएनजी र यूएईसँगको शृङ्खलाका चार मध्ये तीन वटा खेल नेपालले जितेको छ ।

नेपालले पीएनजीलाई २ वटै खेलमा हराउँदा यूएईसँग १ मा जित र १ मा हार बेहोर्‍यो। नेपालले साेझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै राखेको छ ।

सोमबारको जितसँगै नेपाल लिग–२ को अङ्क तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ । ३२ खेल खेलेको नेपालको ३२ अङ्क छ । उति नै खेल खेलेको यूएई ३१ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । पीएनजी ३२ खेलमा ९ अङ्कसहित तालिकाको पुछारमा छ ।

लिग–२ को शीर्ष ३ मा रहने टिमले जिम्बाब्वेमा हुने १० टिम सम्मिलित विश्व कप क्वालिफायर खेल्न पाउनेछन् । शीर्ष पाँचभित्र अटाउने टोलीले एकिदवसीय मान्यता जोगाइराख्नेछन् ।

स्कटल्यान्ड र ओमानले शीर्ष दुईमा रहेर विश्व कप छनोटमा स्थान पक्का गरिसकेका छन् । तेस्रो हुनका लागि नेपाल, यूएई र नामिबिया प्रतिस्पर्धामा छन् ।

३६ खेल खेलिसकेको नामिबिया ३९ अङ्कसहित तेस्रो स्थानमा छ । नामिबियालाई पछि पारेर सोझै विश्वकप छनोट खेल्न नेपालले अबका चार वटै खेल जित्नुपर्नेछ । चार खेल जितेमा नेपालको ४० अंक हुनेछ ।

नेपालले सकभर सोझै विश्वकप छनोट खेल्न पाउनेगरी चार वटै खेल जित्ने प्रयास गर्नेछ । त्यसो नभएमा कम्तिमा एकदिवसीय मान्यता जोगाउनको लागि नेपाल संघर्षमा हुनेछ । एक दिवसीय मान्यता जोगाउन नेपाललाई चार वटा मध्ये कम्तिमा दुईवटा खेल जित्नैपर्ने हुन्छ ।

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । नेपालले अव दुई खेल जिते ३६ अंक हुनेछ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । दुई जित शीर्ष पाँचमा पर्दै सोझै एक दिवसीय मान्यता जोगाउन नेपाललाई अब दुई जित पर्याप्त हुनेछ ।

लिग-२ को अन्तिम शृङ्खला आउँदो विहीबारदेखि नेपालमा हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved