हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सडक आजबाट पूर्णरूपमा बन्द

हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सडक आजबाट पूर्णरूपमा बन्द

मकवानपुर। हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको कान्तिलोकपथ सडक आजबाट पूर्णरूपमा बन्द हुने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा बसेको बैठकले कान्तिलोकपथ मर्मत सम्भारका लागि फागुन १८ गते देखि चैत १० गतेसम्मका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।

सडक मर्मत तथा सुधारका लागि पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । कान्ति लोकपथको ललितपुर तर्फको तिनपानेदेखि बगुवा खण्डमा मर्मत हुने भएको हो । मर्मत हुने भएसँगै २३ दिनका लागि सडक बन्द रहने छ।

फागुन १ गतेदेखि भीमफेदी फाखेल हुँदै फर्पिङ निस्कने र भीमफेदी सिस्नेरी हुँदै दक्षिणकाली निस्कने बाटो स्तरोन्नतिको कार्य भइरहेकाले २ महिना सम्मको लागि बन्द रहेको छ ।

हेटौंडाबाट काठमाडौं जाने सम्पूर्ण साना सवारी साधनहरूलाई कुलेखानी चित्लाङ हुँदै थानकोटको रुट हुँदै एकतर्फ बाटो सञ्चालन भइरहेकोमा र काठमाडौंबाट हेटौंडातर्फ फिर्ता हुने सवारीहरू ललितपुरबाट कान्ति लोकपथको बाटो हुँदै हेटौंडातर्फ एकतर्फी बाटो सञ्चालनको व्यवस्था मिलाई सवारीहरू सञ्चालनमा भइरहेका थिए ।

अब भने प्रशासनले हेटौंडाबाट काठमाडौं जानका लागि हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रूट र काठमाडौंबाट हेटौंडा आउनका लागि थानकोट–चित्लाङ–मार्खु (कुलेखानी)–भीमफेदी रुट प्रयोग गर्न आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved