यायोक्खाको चेतावनी- प्रदेश १ को नाम कोशी राखिए अनिश्चित आन्दोलन

नेपालभ्युज

यायोक्खाको चेतावनी- प्रदेश १ को नाम कोशी राखिए अनिश्चित आन्दोलन

काठमाडौं । किरात राई यायोक्खा (किराया) ले प्रदेश नं. १ को नाम पहिचानको आधारमा राख्न माग गरेको छ ।

प्रदेश नं. १ सभामा नामाकरणबारे छलफल चलिरहेको बेलामा बसेको किरायाको आकस्मिक बैठकले यस्तो माग दोहोर्‍याएको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा किरायाको संस्थागत धारणा सार्वजनिक गर्दै महासचिव भीमराज राईले भनेका छन्, ‘संविधानको भावनालाई इन्कार गर्ने काम भयो । यो सह्य हुँदैन ।’

महासचिव राईले प्रदेशको नाम किरात राख्नुपर्ने तर्क गरेका छन् । ‘इतिहासको लामो कालखण्डमा वल्लो किरात, माझ किरात र पल्लो किरातको रूपमा अस्तित्वमा रहेको प्रदेश नं. १ प्रदेशको भूगोलको इतिहासलाई बेवास्ता गर्ने, नेपालको प्राचीन इतिहासलाई सम्बोधन गर्नेगरी जारी गरिएको घोषणापत्रको आधारमा प्राप्त जनमतको पनि धज्जी उडाउँदै किरात पहिचानलाई निस्तेज गर्नेगरी प्रदेश सभामा रहेका राजनीतिक दलहरूले किरात पहिचानबिनाको नाम प्रस्ताव गरी पारित गर्ने प्रक्रियामा लागेमा परिणाम राम्रो हुनेछैन,’ उनले भनेका छन् ।

किरात राई यायोक्खाद्वारा जारी विज्ञप्ति। तस्वीर : सुनील महर्जन/नेपालभ्यूज ।

यदि प्रदेशको नाम सच्याउने काम नभए र कोशीलाई नै पारित गराइए त्यसपछि आउनसक्ने सम्भावित परिघटनाको जिम्मेवार प्रदेश नं. १ सरकार तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू हुनुर्ने चेतावनी महासचिव राईको थियो ।

किरायाले कोशी नाम पारित भएमा अनिश्चित आन्दोलन गर्ने कार्यक्रमसमेत घोषणा गरेको छ । त्यसका लागि बिहीबार प्रदेश नं. १ का १४ वटै जिल्लामा साढे २ घण्टा चक्काजाम गर्ने, र्‍याली निकाल्ने र तत्‌पश्चात् कोणसभा गर्ने तथा जिल्लास्थित प्रमुख जिल्ला अधिकारीहरूमार्फत सरकारलाई विरोधपत्र पठाउने उपाध्यक्ष जनक राईले बताएका छन् । ‘त्यो हाम्रो सुरुवाती आन्दोलन हुनेछ,’ उपाध्यक्ष राईले भने, ‘हाम्रो आन्दोलन त्यहीँ रोकिँदैन । हामीले अनिश्चित र शृङ्खलाबद्ध आन्दोलन गर्नेछौँ ।’

किरायाले संघात्मक शासन प्रणाली लागू भएदेखि नै प्रदेश नं. १ को नाम किरात हुनुपर्ने माग गर्दै आएको थियो । तर, प्रदेश नं. १ मा प्रतिनिधित्व गर्ने ठूला दलहरू भने कोशीको पक्षमा खुलेका छन् । यसपछि किरायाले खबरदारी गरेको हो ।

प्रदेश नं. १ मा प्रतिनिधित्व गर्ने दलहरू; एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्रलगायतले कोशी हुनुपर्ने प्रस्तावमा समर्थन जनाएका छन् ।

यस्तै एकीकृत समाजवादी, जनता समाजवादीलगायतका दलहरूले किरात लिम्बूवान् सगरमाथाको प्रस्ताव ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved