राष्ट्रपतिका लागि राजनीतिक दलभन्दा बाहिर गएर सहमति खोज्नु हुदैन

नेपालभ्युज

राष्ट्रपतिका लागि राजनीतिक दलभन्दा बाहिर गएर सहमति खोज्नु हुदैन

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद शक्ति बस्नेतले राष्ट्रपतिका लागि राजनीतिक दलभन्दा बाहिर गएर सहमति खोज्नु नहुने बताएका छन् । बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव बस्नेतले राष्ट्रपतिको सन्दर्भमा राष्ट्रिय सहमति आवश्यक रहेको बताए ।

उनले राजनीतिक दलभन्दा बाहिर गएर भने सहमति खोज्नु नहुने बताए । पुस १० गते सरकार बन्दाको अवस्था र आजको अवस्थामा फेरबदल आइसकेको भन्दै उनले बदलिँदो परिस्थितिले सहमतिको माग गरेको बताए । देशमा देखिएका चुनौतिहरुको समाधानका लागि पनि राष्ट्रिय सहमति आवश्यक रहेको उनको भनाई छ ।

उनले भने, ‘राष्ट्रिय सहमति जहाँनिर जुट्छ, त्यहीँनिर सहमति गरौँ भनेको हो तर दलभन्दा बाहिर नजाऔँ, राष्ट्रिय सहमति आजको आवश्यकता हो ।’ उनले अगाडी थपे, ‘पुस १० गतेदेखि आजसम्म घटनाक्रममा तलमाथि परेको छ,

सरकारलाई समर्थनसहित विपक्षमा बसेको एउटा अवस्था,  सरकारमा सहभागि भएका पार्टीहरु सरकार बाहिर बसेर समर्थन मात्र गरेको अवस्था । परिस्थितिमा फेरबदल भइराखेको छ ।’

‘यो परिस्थितिमा आएको फेरबदलले पनि राष्ट्रिय सहमतिको माग गर्‍यो, हाम्रो संविधानले परिकल्पना गरेको राष्ट्रपतिको पोजिसन धेरै रस्साकस्सी गर्नुपर्ने विषय होइन’, उनले भने ।

उनले राष्ट्रिय सहमतिको आवश्यकताको सबैले बोध गरेमा सम्भव हुने बताए । राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जुट्न नसकेमा अधिकतम सहमतिको बाटोमा जाने उनले उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved