पूर्वप्रधानमन्त्री राष्ट्रपति बन्न किन मिल्दैन ? यस्ता छन् नेम्वाङका तर्क

संविधान सभा अध्यक्षसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति बन्न नमिल्ने तर्क गरेका छन् ।

नेपालभ्युज

पूर्वप्रधानमन्त्री राष्ट्रपति बन्न किन मिल्दैन ? यस्ता छन् नेम्वाङका तर्क

काठमाडौं । संविधान सभा अध्यक्षसमेत रहेका नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति बन्न नमिल्ने तर्क गरेका छन् ।

तर, अहिले राष्ट्रपतिको चर्चामा भने प्राय: प्रधानमन्त्री भइसकेका व्यक्तिहरू पनि छन् । डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका व्यक्तिहरूको नाम राष्ट्रपति बन्ने चर्चासँग जोडिँदा नेम्वाङले यस्तो बताएका हुन् ।

‘मैले कुनै व्यक्तिविशेषलाई भनेको होइन । तर, जोसुकै भएपनि प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति बन्न मिल्दैन । यसले समस्या पैदा गर्छ,’ नेम्वाङले नेपालभ्यूजसँग भने ।

कार्यकारी पदमा रहिसकेको व्यक्ति अलङ्कारिक पदमा हुँदा समस्या हुने तर्क उनको छ । ‘कार्यकारी पदमा हुँदा उसले उसैगरी र उही स्पीरीटमा कार्यसमपादन गरेको हुन्छ र अलङ्कारिक पदमा आउँदा त्यसैले समस्यामा पार्छ,’ उनले भने ।

छिमेकी देश भारतमा पनि कार्यकारी पदमा रहिसकेको व्यक्ति आजसम्म राष्ट्रपनि नबनेको सुनाउँदै उनले भने, ‘हामीले कतिपय नजीरहरू पनि हेर्नुपर्छ । फेरि त्यो नजीर ठिक छ भने त किन छाड्ने ? राजनीतिक सन्तुलन र भागबन्डामात्र हेरेर कहिल्यै हुँदैन ।’

तपाईंले यसरी बहसको सिर्जना गरिरहँदा पछि पूर्वप्रधानमन्त्री नै कोही राष्ट्रपति बने भने नि ? भन्ने सवालमा उनले हाँस्दै भने, ‘बने भने त बने बने नि ! के गर्न सकिन्छ र ? त्यसमा संवैधानिक अड्चन त छैन नि त । यो त सिर्फ एउटा प्राज्ञिक बहसको थालनी होस् भनेर हो । कसैले सोचिहाल्छन् कि भनेर हो ।’

त्यसो त नेम्वाङसम्बद्ध पार्टी एमालेका अध्यक्ष केपी शर्म ओलीले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बन्न आग्रह गरेका छन् । यसबारे जिज्ञासा राख्दा नेम्वाङले आफूलाई कुनै जानकारी नभएको बताए । ‘उहाँ (माधवकुमार नेपाल) लाई गरिएको भनिएको प्रस्तावबारे मलाई जानकारी छैन, तर यदि प्रस्ताव गरिएको हो भने त्यो ठिक होइन,’ उनले भने ।

उनले एमालेको पोल्टाबाट राष्ट्रपति नउम्किने पनि बताए । पार्टीले त्यसका सम्बन्धमा अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष ओलीलाई दिएको र त्यसबारे अध्यक्षले नै बोल्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved