‘मायाका लागि सम्पूर्णमा हृदयदेखि आभारी छु’ : सन्दीप लामिछाने

नेपालभ्युज

‘मायाका लागि सम्पूर्णमा हृदयदेखि आभारी छु’ : सन्दीप लामिछाने

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले सबैलाई समर्थनको लागि धन्यवाद दिएका छन्। बुधबार सन्दीपले गृह मैदानमा दर्शकले देखाएको उपस्थिति र समर्थनको लागि सामाजिक सञ्जालमार्फत आभार व्यक्त गरेका हुन्।

सन्दीप लेख्छन्,‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ.. यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखि आभारी छु।’

मंगलबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न भएको विश्वकप क्रिकेट लिग–२ एकदिवसीय त्रिकोणत्मक सिरिजमा सन्दीपले १३ विकेट लिन सफल भए।

नेपाली टोलीले लिग–२ मा पहिलोपटक लगातार ४ खेलमा जित निकाल्न सफल भएको यो पहिलो सिरिज थियो। नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले निलम्बन फुकुवा गरेपश्चात सन्दीप राष्ट्रिय टोलीमा पर्न सफल भएका थिए।

गृह मैदानमा राष्ट्रिय टोलीको लागि योगदान गरे पनि सन्दीपले आगामी यूएईमा हुने सिरिज भन्ने गुमाउने देखिएको छ।
काठमाडौं जिल्ला अदालतले नाबालिगमाथि बलात्कारको आरोपमा सन्दीपलाई जेलमा राखेर पुर्पक्ष गर्ने आदेश दिएको थियो। सोही निर्णयविरुद्ध सन्दीपले पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए।

उच्च अदालतले भने सन्दीपलाई २० लाख धरौटीमा विभिन्न सर्तहरूमा रिहा गर्दै मुद्दा अगाडि बढाउन आदेश दिएको थियो। सोही निर्णयअनुरूप सन्दीपलाई विदेश जान भने रोक लगाइएको थियो।

सन्दीपले एक साता अगाडि सर्वोच्चमा पुनरावेदन गरेका थिए। यता, उच्च अदालतको फैसलाविरुद्ध भने सरकारी वकिलको कार्यालयले सन्दीपलाई जेलमै राखेर मुद्दा अगाडि बढाउनु माग गर्दै सर्वाच्चमा पुनरावेदन गरेको थियो।

यसअनुरूप सर्वोच्चले उच्च अदालतलाई फैसलाको मिसिल उपलब्ध गराउन निर्देशन दिएको थियो। लिग–२ को लागि फागुन १३ गते यूएई जाने नेपाली टोलीमा सन्दीपलाई समावेश गर्नको लागि सर्वोच्चले विदेश जानमाथि लगाएको रोकलाई फुकुवा गर्नुपर्ने हुन्छ।सोही पुनरावेदनको पेसी भने १२ गते हुने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved