पुटिन–बाइडेन वाकयुद्ध

युद्ध युक्रेन र पश्चिमले सुरु गरेका हुन्– पुटिन, रुसले युक्रेनलाई कहिल्यै जित्न सक्नेछैन–बाइेडेन

शुक्रबार युक्रेन युद्धको एक वर्ष पूरा हुनेछ । गत वर्ष फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो । पुटिन–बाइडेन वाकयुद्धले युक्रेन युद्ध झनै कठिन र पेचिलो हुँदै जाने देखिएको छ ।

नेपालभ्युज

युद्ध युक्रेन र पश्चिमले सुरु गरेका हुन्– पुटिन, रुसले युक्रेनलाई कहिल्यै जित्न सक्नेछैन–बाइेडेन

काठमाडौं। रुस- युक्रेन युद्धको एक वर्ष पुग्नै लाग्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच वाकयुद्ध चरमोत्कर्षमा पुगेको छ । शुक्रबार युक्रेन युद्धको एक वर्ष पूरा हुनेछ । गत वर्ष फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो ।

युद्धको १ वर्षभित्र दुवैतर्फ गरी करिब ७५ हजार सैनिकको मृत्यु भइसकेको छ । लाखौं घाइते भएका छन्। तर, युद्ध अन्त्य हुने कुनै संकेत अहिलेसम्म देखिएको छैन ।

मंगलबार रुसी राष्ट्रपति पुटिनले संसदको संयुक्त बैठकलाई सम्बोधन गरे । उनले युक्रेन युद्धको जिम्मेवारी पश्चिमा देश, नेटो र युक्रेनले लिनु पर्ने बताए । उनले भने– ‘युक्रेन–रुस युद्ध एक स्थानीय सवाल थियो, तर पश्चिमा देश र नेटोले यसलाई अन्तर्राष्ट्रिय विषय बनाइदिए । हामी अहिले पनि युक्रेनसँग वार्ताद्वारा समस्या समाधान गर्न तयार छौं । तर, युक्रेनलाई नेटोले उक्साएको छ । तसर्थ, वार्ताद्वारा समस्याको समाधान सम्भव भइरहेको छैन ।’

मंगलबारको सम्बोधनमा राष्ट्रपति पुटिनले युक्रेनी जनतालाई पनि आफ्नो पक्षमा पार्न खोजेका थिए । उनले अगाडि भने–‘यो युद्ध युक्रेन र युक्रेनी जनता विरुद्ध हैन । यो युद्ध किभका शासक र नेटो विरुद्ध हो । नेटोलाई रुसको सीमासम्म आउन दिन सकिँदैनथ्यो । त्यही कारणले गर्दा युद्ध अनिवार्य बन्न पुग्यो । युद्ध टार्न हामीले सकेसम्मका सबै प्रयत्न गर्‍यौँ, तर सम्भव भएन ।’

उनले रुसी जनतालाई भने–‘हामी इतिहासकै कठिन क्षणमा छौं, यतिखेर हाम्रो राष्ट्रको भविष्य कसरी आकारित हुन्छ भन्ने सवाल प्रमुख भएर आएको छ । अमेरिकाले युक्रेनलाई लामो दूरीको प्रतिरक्षा प्रणाली दिइरहेको छ । यो रुसका लागि धेरै ठूलो खतरा हो । अमेरिका र उसका सहयोगी देश विश्वमा आफ्नो वर्चश्व कायम राख्न युक्रेनलाई मोहरा बनाइरहेका छन् । तर, रुस कसैको दबाबले झुक्ने देश हैन ।’

पुटिनले अमेरिका पश्चिम युरोपेली देशले रुसमाथि लगाएको प्रतिबन्ध असफल भएको दाबीसमेत गरे । उनले भने–‘उनीहरूको प्रतिबन्धले रुसी अर्थतन्त्रलाई कुनै हानी पुर्‍याएको छैन । रुबल डलरको तुलनामा झनै बलियो भएको छ।’

साथै, उनले रुसले अब डलरमा अन्तर्राष्ट्रिय व्यापार र कारोबार नगर्ने, रुस–अमेरिका बीचको रणनीतिक हतियार कटौती सन्धी पालना नगर्ने घोषणा पनि गरे ।

अर्कोतिर किभ हुँदै पोल्यान्डको बार्सा पुगेका अमेरिकी राष्ट्रपति जो बाइडनले भने रुसी राष्ट्रपति पुटिनका दाबीको खण्डन गरेका छन् । मंगलबार राति बार्सामा सम्बोधन गर्दै बाइडेनले भने–‘अमेरिका र नेटो युक्रेनको साथमा थिए, छन र सधैँ रहनेछन् । रुसले युक्रेनलाई कहिल्यै जित्न सक्ने छैन ।’

बाइडेनले रुसी जनतालाई पुटिनले भ्रममा राखेको बताए । उनले भने–‘पुटिन भन्दैछन् कि हामी रुसलाई नियन्त्रण गर्न चाहन्छौं, त्यो सत्य हैन । रुसलाई बर्बाद गर्ने हाम्रो कुनै उद्देश्य छैन । तर, युक्रेनलाई बर्बाद गर्ने अधिकार रुसमाथि छैन भन्ने हाम्रो भनाइ हो । रुसले युक्रेनलाई ध्वंस्त गर्दैछ । किभका बच्चामाथि बम वर्षा गर्दैछ । रुसी सेना युक्रेनी महिलालाई बलात्कार गर्दैछन् । यो कसरी सहन सकिन्छ ? रुस युक्रेनबाट फर्कियोस् भन्ने हाम्रो चाहना हो । हामी न रुसलाई नियन्त्रण गर्न चाहन्छौँ न बर्बाद ।’

बाइडेनले अगाडि भने–‘युक्रेनी जनता स्वतन्त्रताप्रेमी छन् । उनीहरू आजादी चाहन्छन् । उनीहरू आफ्नो राष्ट्रलाई माया गर्दछन् । उनीहरूलाई कुनै पनि प्रकारको तानाशाही स्वीकार्य छैन । तानाशाही चाहिँदैन, चाहिँदैन चाहिँदैन भन्ने उनीहरूको भनाइ छ । अमेरिका सधैं युक्रेनी जनताको साथमा हुनेछ । कसैले कसैको स्वतन्त्रता खोस्न मिल्दैन । यो युद्ध युक्रेनको मात्र परीक्षा हैन, सिंगो विश्वकै परिक्षा हो ।’

बाइडेन सोमबार गोप्यरूपमा युक्रेनको राजधानी किभ पुगेका थिए । किभमा राष्ट्रपति ब्लोदोमिर जेलेस्कीसँग भेटघाट गरी उनी पोल्यान्डतिर लागेका थिए । पुटिन–बाइडेन वाकयुद्धले युक्रेन युद्ध झनै कठिन र पेचिलो हुँदै जाने देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved