राष्ट्रपतिबारे एमालेलाई आइलागेको ‘धर्मसंकट’ !

अडान छाड्ने वा सत्ता ?

राष्ट्रपतिबारे एमालेलाई आइलागेको ‘धर्मसंकट’ !

काठमाडौं। गणतन्त्र नेपालको चौथो राष्ट्रपतिको लागि १५ दिनपछि चुनाव हुँदैछ । फागुन २५ गतेको चुनावमा राष्ट्रपति उम्मेदवार हुनेले अबको ४ दिनपछि अर्थात् १३ फागुनमा उम्मेदवारी दर्ता गरिसक्नुपर्छ।

राष्ट्रपति उम्मेदवार कुन दलको हुने ? क–कसको समर्थनमा हुने ? र कसरी हुने ? अहिलेको मुख्य प्रश्न यही हो । राष्ट्रपति आफ्नो दलबाट नै हुने भन्नेमा सत्ता गठबन्धनको ठूलो दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको दाबी छ।

तर, निर्णायक मत लिएर बसेको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘ग्रिनसिग्नल’ नपाएका कारण दुवै दल ढुक्क छैनन् । राष्ट्रिय सहमतिको साझा व्यक्ति राष्ट्रपतिको उम्मेदवार हुनुपर्ने माओवादी केन्द्रको भनाइ छ।

त्यसो त, सत्ता गठबन्धनको ठूलो दल नेकपा एमाले राष्ट्रपति आफ्नै पार्टी भित्रको कुनै एक नेतालाई बनाउन आतुर छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पनि पार्टीकै नेताको नाम राष्ट्रपतिमा अगाडि सारेको छ । यद्यपि, व्यक्ति को हुने ? भन्नेमा चाहिँ कसैले मुख खोलेका छैनन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिनहुँजसो भेट्दा पनि राष्ट्रपति बनाउने व्यक्तिको नाम लिन सकेका छैनन् । यद्यपि, एमालेले राष्ट्रपति पाउँदा पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पहिलो प्राथमिकतामा राखेको छ । तर, माओवादी अध्यक्ष प्रचण्ड पोखरेलको नाम सुन्नेबित्तिकै ‘नो’ भन्ने मुडमा छन् ।

त्यसैगरी, नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलामध्ये एकलाई राष्ट्रपति उम्मेदवारको रूपमा अगाडि सार्ने तयारी गरेको बुझिन्छ। यसमा पनि प्रचण्डको मन रमाएको देखिँदैन । त्यसैले, प्रचण्डले एमाले अध्यक्ष ओलीलाई भेट्दा ‘तपाईं आफैैं अघि बढ्नुस्’ भन्ने गरेका छन् भने देउवालाई पनि ‘आफैं हुनुस्’ भनेर दोधारमा पारिदिएका छन् ।

यता, पछिल्लो अवस्थालाई हेर्ने हो भने एमाले र कांग्रेस दुवैले राष्ट्रपति दाबी गरिरहँदा अर्को पात्र (माधवकुरमार नेपाल)को ‘प्रवेश’ भएको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष रहेका नेपाल सत्ता गठबन्धनमा छैनन् । तर, राष्ट्रिय सहमतिको अवस्था आएमा राष्ट्रपति बन्ने बाटो खोज्दै सोमबार बालुवाटार छिरेर प्रचण्डसँग डेढ घण्टा कुराकानी गरेका नेपाल साँझ ३ घण्टा एमाले अध्यक्ष ओलीसँग ‘गोप्य’ भेटघाटमा रहेको भेटियो ।

यो अवस्थामा राष्ट्रपति दाबी गरिरहेका एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसलाई मौखिक बचन दिइसकेको भनिएका प्रधानमन्त्री प्रचण्ड दुवैलाई ‘धर्मसंकट’ आइलागेको छ।

दुई दिनअघि प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा समेतको टोलीलाई ’राष्ट्रपति तपाईहरूले पाउनुहुन्छ’ भन्ने संकेत प्रचण्डले गरिसकेको हल्ला राजनीतिक वृत्तमा फैलिसकेको छ।

सोमबारको प्रचण्ड–नेपाल भेटमा पनि राष्ट्रपतिकै उम्मेदवारको विषयमा कुरा भएकोले एमालेले समेत राष्ट्रपतिमा पार्टीको अडान छाडेर पूर्व सहकर्मी नेपालतिरै ढल्किनुपर्ने बाध्यता आउन सक्छ । यस्तो अवस्थामा एमालेले राष्ट्रपतिको अडान छाडेर सत्ता गठबन्धन बचाउने र गठबन्धनभित्र कांग्रेसलाई आउन नदिने वा आफैँ सत्ताबाट बाहिरिने भन्ने ‘संकट’को सामना गर्नुपर्ने देखिन्छ ।

नेकपा एमालेको समर्थनमा पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिने बेला नाटकीय रूपमा पुरानो गठबन्धनमा रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को मतसमेत पाएपछि राजनीतिले नयाँ मोड लिन पुग्यो ।

कांग्रेस, समाजवादीसहित सबै पुरानो गठबन्धनबाट विश्वासको मत लिन सकेकोमा त्यतिबेलै प्रचण्डसँग एमाले अध्यक्ष ओली झस्किएका थिए । त्यो सँगै वर्तमान गठबन्धनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मन्त्री र सांसद पद नागरिकता विवादले गुम्यो । गैरसांसद रहेका रविलाई गृहमन्त्री बनाउन ओलीले प्रधानमन्त्री प्रचण्डलाई पटक–पटक दबाब दिइरहे तर,प्रचण्डले मानेनन् ।

राष्ट्रपति उम्मेदवार र रविको पार्टीलाई पुनः सत्तामा फर्काउने विषयमै प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारदेखि बालकोटसम्म २३ पटकसम्म भेट भइसकेको छ । तर, हरेक भेटमा राष्ट्रपति र रविकै विषयमा चर्चा चलेको दुई नेताका सचिवालयले बताइरहेका छन्।

पछिल्लो समय विकसित घटनाक्रमले एमाले अध्यक्ष ओलीले बाध्य भएर राष्ट्रपतिको अडान छाड्नुपर्ने देखिन्छ । तर, यो खालको राजनीतिक असफलता व्यहोर्न ओली तयार देखिँदैनन् । त्यसैले, उनले कांग्रेसलाई राष्ट्रपति नदिन र कांग्रेस–माओवादी मिलन हुन नदिन माधव नेपाललाई राष्ट्रपतिमा अगाडि बढाएको भन्न सक्छन्।

यसले एकातिर प्रचण्ड–माधवको निकट सम्बन्धलाई बराबरीमा मात्रै राख्ने र अर्कोतर्फ कांग्रेस नेतृत्वको पुरानो गठबन्धन थप कमजोर बनाउन सकिने हिसाब किताब निकाल्दै ओलीले यो ‘धर्मसंकट’ बाट बाहिर निस्कने रणनीति बनाउन सक्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved