लिग २ को माध्यमबाट नेपाल विश्वकपमा छनोट हुने सम्भावना कति ?

नामिबिया–यूएई–पीएनजीको प्रदर्शनमा निर्भर

यूएईले १० खेलमा नै जित निकाले नेपालको सम्भावना समाप्त हुनेछ । किनकि, त्यस्तो अवस्थामा यूएई ४७ अंकसहित दोस्रो स्थानमा पुग्नेछ । यूएईले बाँकि रहेकामध्ये ६ भन्दा धेरै खेल नजितोस भनेर नेपालले कामना गर्नुपर्ने छ ।

नेपालभ्युज

लिग २ को माध्यमबाट नेपाल विश्वकपमा छनोट हुने सम्भावना कति ?

काठमाडौं । एकदिवसीय विश्वकप  क्रिकेट अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुँदैछ । तर, त्यसअघि जुन–जुलाईमा जिम्बाब्वेमा विश्वकप ग्लोबल छनोट हुँदैछ। १० टोली सहभागी हुने ग्लोबल छनोटको फाइनल पुग्ने २ टोलीले विश्वकपको फाइनल चरणमा स्थान पक्का गर्नेछन्।

विश्वकप लिग–२ को शीर्ष ३ भित्र पर्दै विश्वकपमा छनोट हुने होड कायमै छ । लिग २ बाट स्कटल्यान्ड र ओमन विश्वकपको पहिलो राउन्ड अर्थात ग्लोबल क्वालिफायरमा छनोट भइसकेका छन् । अब एउटाका लागि नामिबिया, नेपाल र यूएईबीच प्रतिस्पर्धा भइरहेको छ ।

अहिलेसम्मको अवस्थामा यो एउटा स्थानका लागि नामिबिया बलियो दाबेदार देखिएको छ । नेपाल र यूएईको पनि झिनै भए पनि सम्भावना कायमै छ । ३३ खेलबाट ३७ अंक जोडेको नामिबिया अंक तालिकामा तेस्रो स्थानमा छ । लिग २ का सबै टोलीले एक आपसमा ३६ खेल खेल्नेछन् । उत्कृष्ट तीन विश्वकपको पहिलो राउन्डमा पुग्नेछन् । पाँचभित्र पर्ने टोलीको एकदिवसीय मान्यता कायम रहनेछन् ।

लिगमा नामिबियाले ३ खेल खेल्न बाँकी छ। नेपालले ९ र यूएईले १० खेल खेल्न बाँकी छ । नेपाललाई विश्वकपमा पुग्न अब आफूले जित्नु त आवस्यक छ नै त्यसवाहेक अन्यको खेलमा पनि भर पर्नेछ । सबैभन्दा पहिलो शर्त अब नामिबियाले ३ मध्ये कम्तिमा २ खेल हार्नैपर्नेछ । यदि, नामिबियाले दुई खेल जित्यो भने अन्यको सम्भावना कमजोर हुनेछ ।

उसले अब यूएईसँग २ र स्कटल्याण्डसँग एक खेल खेल्न बाँकी छ । नामिबियाले सोमबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । उसले बाँकी दुई खेल यूएईमै खेल्नेछ ।

नेपालको सम्भावना 

मानौं, नामिबियाले अब खेल्ने तीनवटै खेल हार्‍यो । यस्तो अवस्थामा उसको ३७ अंक मात्रै हुनेछ । लिग २ मा नेपालको ९ खेल बाँकी रहँदा २४ अंक छ । नेपालले अब एक खेल स्कटल्यान्ड, चार यूएई र चार खेल पीएनजीसँग खेल्न बाँकी छ । नामिबियाले तीन वटै खेल हार्नु भनेको यूएईले १० मध्ये २ खेल जित्नु पनि हो ।

स्कटल्यान्डसँगको घरेलु मैदानको खेल जित्न सके नेपालको विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुने आशा केही बढ्न सक्छ । किनकि, त्यसपछि नेपालले यूएई र पीएनजीसँग खेल्नेछ । त्यसमा पनि चार खेल घरेलु मैदानमा खेल्न पाउनेछ ।

अब यही समयमा यूएईले पनि नेपाल र पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ । नामिबियाले तीन वटै खेल हारेको अवस्थामा नेपाल र यूएईबीचको खेल नै निर्णायक बन्नेछन् । यसमा पीएनजीको भूमिका पनि कम महत्वपुर्ण हुनेछैन । उसले यूएई र नेपालमध्ये कुनै टिमलाई हराउन सक्यो भने त्यसको सम्भावना कमजोर बन्नेछ ।

त्यसैले नेपालले आफूले पिएनजीसँगका चारवटै खेल जितेर यूएईलाई भने पीएनजीले हराओस भन्ने कामना गर्नुपर्नेछ । यदि पीएनजीले १ वा दुई खेलमा यूएईलाई हराउन सकेमा नेपाललाई ठुलो फाइदा हुनेछ । किनकि, पिएनजी पाँच अंकसहित पुछारमा भएको टिम हो । ठीक अर्कातिर भने नेपाललाई हार्ने छुट छैन ।

त्यसपछि महत्पुर्ण बन्नेछन् नेपाल र यूएईबीचका चार खेल । यदि, नेपालले पीएनजीसँगका सबै चार खेल जित्यो भने यूएईसँगका चारमध्ये तीन खेल जित्दा पनि सम्भावनाको ढोका खुल्न सक्नेछ । यूएईको अहिले २७ अंक छ । उसले नेपालसँगका तीन खेल हार्यो र अरु सबै जित्यो भने ४१ अंक हुनेछ ।

नेपालले बाँकी रहेका ९ मध्ये ८ खेल जित्यो भने ४० अंक मात्रै हुनेछ । त्यसैले, यो समीकरणमा यूएईले कम्तिमा पीएनजी र नामिबियामध्ये कुनैसँग कम्तिमा एउटा मात्रै खेल हारोस भनेर कामना गर्नुपर्नेछ । यदि, नामिबियाले यूएईलाई एउटा खेलमा हरायो भने पनि उसको ३९ अंक हुनेछ । नेपाल ८ खेल जित्न सके ४० अंकसहित छनोट हुनेछ ।

यूएईले १० खेलमा नै जित निकाले नेपालको सम्भावना समाप्त हुनेछ । किनकि, त्यस्तो अवस्थामा यूएई ४७ अंकसहित दोस्रो स्थानमा पुग्नेछ । यूएईले बाँकि रहेकामध्ये ६ भन्दा धेरै खेल नजितोस भनेर नेपालले कामना गर्नुपर्ने छ ।

तर, पछिल्लो पटक यूएई बलियो टिम मानिएको छ । त्यसमा पनि उसले १० मध्ये ६ खेल घरेलु मैदानमा खेल्नेछ। यूएईको मैदानमा नेपालले खेल्ने दुई मध्ये कम्तिमा एउटा खेलमा जित निकाल्न सके घरेलु मैदानमा सहज हुनेछ ।

यसरी हेर्दा विश्वकप क्वालिफायरमा छनोट हुने नेपालको बाटो सहज छैन । तर, असम्भव नै पनि छैन । अहिले घरेलु मैदानमा खेले जस्तै सबै ९ खेल नै जित्न सके नेपाल विश्वकपमा छनोट हुनेछ । तर, त्यसका लागि नामिबियाले भने कम्तिमा एक खेल हार्नै पर्नेछ ।

लिग २ का बाँकी खेल :

यूएईमा

नेपाल र पीएनजी–फागुन १५
नेपाल र यूएई–फागुन १८
नेपाल र पीएनजी–फागुन १९
नेपाल र यूएई–फागुन २२

नेपालमा
नेपाल र पीएनजी–फागुन २५
नेपाल र यूएई–फागुन २८
नेपाल र पीएनजी–फागुन २९
नेपाल र यूएई–चैत २


Comment

One thought on “लिग २ को माध्यमबाट नेपाल विश्वकपमा छनोट हुने सम्भावना कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved