विश्वकप क्रिकेट लिग–२

त्रिकोणीय प्रतिस्पर्धा मंगलबार सुरु हुँदै, नामिबिया, स्कटल्याण्ड र नेपालको तयारी कस्तो छ ?

सिरिजमा नेपालले १२ खेल खेल्न बाँकी छ । ३२ खेलमा २२ खेल जितेको स्कटल्याण्ड ४६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। ३० खेलमा १८ खेल जितेको नामिबिया ३७ अंकसहित तेस्रो स्थानमा छ। नेपाल भने २८ मध्ये ८ मा मात्रै जितेर छैँटौँ स्थानमा छ।

नेपालभ्युज

त्रिकोणीय प्रतिस्पर्धा मंगलबार सुरु हुँदै, नामिबिया, स्कटल्याण्ड र नेपालको तयारी कस्तो छ ?

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले विश्वकप क्रिकेट लिग–२ सीडब्लुसीको तयारी सम्पन्न भएको जनाएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा क्यानले स्कटल्याण्ड, नेपाल र नामिबियाबीच हुने लिग–२ को तयारी पुरा भएको जानकारी दिएको हो ।

कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारदेखि लिग–२ एकदिवसीय सिरिज सुरु हुँदैछ । सिरिजमा नेपालले १२ खेल खेल्न बाँकी छ । ३२ खेलमा २२ खेल जितेको स्कटल्याण्ड ४६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । ३० खेलमा १८ खेल जितेको नामिबिया ३७ अंकसहित तेस्रो स्थानमा छ । नेपाल भने २८ मध्ये ८ मा मात्रै जितेर छैँटौँ स्थानमा छ ।

क्यानले नेपाल, नामिबिया र स्कटल्याण्डको प्रशिक्षक तथा कप्तानको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। ३ सहभागी टोलीले लिग–२ को जारी तयारी र नेपालको अनुभवबारे यसरी जानकारी गराए ।

नामिबिया

नेपालमा आएर गरेको तयारी राम्रो भएको नामिबियाका प्रशिक्षक जोहान रुडोल्फले बताए । ‘नेपालमा यो हाम्रो दोस्रो भ्रमण हो। यो अवसरमा हामी रमाउन चाहन्छौँ। फरक वातावरणमा गरिएको तयारी निकै फलदायिक भयो। भोलि हुने पहिलो खेलको लागि उत्साहित छौँ।’, उनले भने ।

नामिबियाका कप्तान गेर्हार्ड इरास्मस नेपाल आउँदै गरेकोले कार्यक्रममा उपस्थित थिएनन्। उपकप्तान जे जे स्मिथ भने चोटका कारण उपचारत छन्। उनले भने, ‘इरास्मस आज बिहान नेपाल आइपुगे। विगत ४–५ वर्ष देखि टोलीलाई अघि बढाउन निकै मेहेनत गरेका स्मिथ चोटका कारण ४–६ महिना मैदान बाहिर रहनेछन्। उनको अनुपस्थिति पक्कै महशुश हुनेछ ।’

प्रशिक्षक रुडोल्फले लिग–२ को आगामी ६ खेल नामिबियाको लागि निकै महत्वपूर्ण रहेको पनि बताए। लिगमा दोस्रो हुने लक्ष्यसहित तयारी गरिरहेको उनले बताए । नेपाली खेलाडीको प्रशंसा गर्दै उनले भने, ‘नेपाली खेलाडीमा क्रिकेटको जोश देखिन्छ । नेपाली टोली बलियो पनि छ। त्यससँगै नेपाललाई गृह मैदानको फाइदा पनि पक्कै हुनेछ। स्कटल्याण्ड र नेपालविरुद्धको खेल सधैँ चुनौतीपूर्ण हुने गर्दछ। आगामी युद्धको लागि हामी तयार छौँ ।’

स्कटल्याण्ड

स्कटल्याण्डका कप्तान रिची बेरिंगटनले नेपालमा तालिम राम्रो भएको बताए । ‘नेपालमा हाम्रो पहिलो भ्रमण हो। पछिल्लो २ दिनको तयारी राम्रो भएको छ । उत्साहित छौँ। नेपाल र नामिबियासँगको पछिल्लो भेटपश्चात हामीले राम्रो तयारी गरेका छौँ।’, कप्तान बेरिंगटनले भने।

प्रशिक्षक शेन बर्गरले नेपालमा भएको तयारीले आफु र टोली निकै खुसी रहेको बताए। ‘यो हाम्रो पहिलो नेपाल भ्रमण हो। मैदानको बारे पनि धेरै अवगत छैनौँ। तथापि, महाद्धीपमा आयोजना हुने प्रतियोगितामा सहभागी भएका खेलाडीको अनुभवलाई प्रयोग गर्नेछौँ। तयारी पनि राम्रो भईरहेको छ।’, उनले भने ।

नेपाली मैदानमा स्कटल्याण्ड टोलीको अनुभव कम भए पनि खेलाडीले वातावरणमा आफुलाई ढाल्न सक्नेमा प्रशिक्षक बर्गर विश्वस्त देखिए। ‘फरक स्थान, मैदान र परिस्थितिमा खेल्दा हुने दवावमा नै खेलाडीहरुको क्षमता अभिवृद्धि हुनेमा हामी विश्वस्त छौँ। नौलो वातावरणमा आफुलाई ढाल्नु सक्नु नै व्यवसायिक खेलाडीको पहिचान हो। प्रेसर कुकरको माहोलमा खेलाडीले आफुलाई विकास गर्ने मौका पाउँछन्।’, प्रशिक्षक बर्गरले भने ।

स्कटल्याण्डले केवल २ खेल जितेमा मात्रै लिग–२ मा पहिलो हुनेछ । स्कटल्याण्डले नियमित रुपमा एक खेलमा जित निकाल्दै अघि बढ्ने लक्ष्य राखेको प्रशिक्षक बर्गरले बताए ।

उनले नेपाली समर्थकको क्रिकेट प्रतिको मायाबारे आफु अवगत रहेको भन्दै नेपालको आतिथ्यता मनपरेको सुनाए । सबै मानिस हसमुख र आफ्नै महशुश भयो। नेपालमा क्रिकेटप्रतिको माया निकै लोभलाग्दो छ। खेलको दौरान पनि धेरै भीडको आशा गरेका छौँ। १०–१५ हजार दर्शकको उपस्थिति रहने आशा गरेका छौँ।’

नेपाल

नेपालका कप्तान रोहित कुमार पौडेलले टोलीको अवस्था राम्रो र बलियो भएको बताए। कप्तान रोहितले भने, ‘विगत १० दिनमा रणनैतिक, मानसिक तथा सीपको हिसाबले पनि हामीले तयारी गरेका छौँ। अगामी दिनमा राम्रो प्रदर्शन हुनेमा आशावादी छौँ। ’

राष्ट्रिय यू–१९ टोलीको बेला प्रशिक्षक मोन्टी देशाई ब्याटिङ सल्लाहकार थिए। यसकारण पनि टोलीमा चाँडै घुलमिल भएको कप्तान पौडेलले बताए। उनले भने,  ‘मोन्टी सरको आगमनपश्चात निकै सहज भयो। टोलीमा मैत्रीपूर्ण वातावरण सृजना भएको छ। सबै मानसिक र शारिरीक रुपमा पनि स्वस्थ छन्। यो सिरिजले आगामी सिरिजको लागि पनि मनोबल उच्च गर्ने विश्वास गरेका छौँ ।’

प्रशिक्षक देशाईंले खेलाडीको बन्द प्रशिक्षण राम्रो भएको जानकारी गराए। ‘बन्द प्रशिक्षणमा खेलाडीलाई व्यक्तिगत रुपमा बुझ्ने, क्षमता पहिचान गर्ने र त्यस अनुरुपमा मैदानमा प्रस्तुत हुने पक्षलाई ध्यान दिएका छौँ। खेलाडीले आफ्नो भूमिका पहिचान गरिसकेका छन्।’, प्रशिक्षक देशाईंले भने ।

‘ह्यापी ड्रेसिङ रुम’को लक्ष्यलाई नै निरन्तरता दिएर अघि बढिरहेको उनको भनाई थियो । ‘हामी एउटा प्रक्रियामा छौँ। लक्ष्यतर्फ लम्किरहेका छौँ। खेलमा कस्तो नतिजा आउँछ यसले पनि ड्रेसिङ रुमको माहोललाई असर गर्छ। अहिले सम्म सबै खेलाडीले टोलीमा वातावरण राम्रो बनाउन नियमित मेहनत गरिरहेका छन्।’, देशाईंले भने ।

नेपाली टोलीको ब्याटिङ कमजोर भएको भन्ने प्रश्नमा भने प्रशिक्षक देशाईंले फरक धारणा राखे। ‘दबाबपूर्ण परिस्थितिमा खेलाडीहरु आत्तिएको जस्तो लाग्यो। विगतमा अमेरिकाविरुद्धको खेलमा नेपालको ब्याटिङ सन्तोषजनक नै थियो।’, उनले भने ।

सिरिजको पहिलो खेलमा नेपाल र नामिबियाबीच प्रतिस्पर्धा मंगलबार प्रतिस्पर्धा हुँदैछ । खेल विहान ९ बजे त्रिवि मैदानमा सुरु हुनेछ । नेपालले दोस्रो खेल स्कटल्याण्डसँग शुक्रबार खेल्नेछ । शनिबार पनि नेपालले नामिबियासँग फेरि प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेल नेपाल र स्कटल्याण्डबीच फागुन ९ गते मंगलबार हुनेछ ।

एकदिवसीय मान्यता बचाउन नेपालले अबका अधिकांश खेल जित्नुपर्ने दबाब छ । स्कटल्याण्ड सबैभन्दा बलियो टोली हो । सात टोलीमध्ये ओमान र अमेरिकाले सबै ३६ खेल पुरा गरिसकेका छन् । ओमान ४४ अंकसहित दोस्रो र अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved