कहिले पाउँछ मन्त्रिपरिषद्ले पूर्णता ?

पुस २६ गते संसद्‌बाट ९९ प्रतिशत विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार भने गर्न सकेका छैनन् । 

नेपालभ्युज

कहिले पाउँछ मन्त्रिपरिषद्ले पूर्णता ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अझैसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । पुस २६ गते संसद्‌बाट ९९ प्रतिशत विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार भने गर्न सकेका छैनन् ।

पुस ११ गते पद तथा गोपनीयताको शपथ ग्रणह गरेका उनले ८ मध्ये ४ मन्त्रीलाई मन्त्रालय दिन सकेका छैनन् । मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान अहिलेसम्म बिनाविभागीय मन्त्रीका रूपमा सरकारमा सहभागी भएका छन् ।

त्यसो त प्रधानमन्त्री प्रचण्डले आफूले विश्वासको मत लिनेबित्तिकै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताउँदै आएका थिए । तर, विश्वासको मत लिएको ४ दिन बितिसक्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाएका छैन् ।

यसबारे जिज्ञासा राख्दा प्रधानमन्त्री प्रचण्डका सचिवालय सदस्य रमेश मल्लले भने— ‘विविध राजनीतिक कारणहरूले गर्दा मन्त्रिपरिषद् विस्तार नभएको हो । अब २ या ३ दिनभित्र गठन हुन्छ । प्रधानमन्त्रीज्यूले त्यसैगरी तयारी गर्दै हुनुहुन्छ ।’

प्रधानमन्त्री प्रचण्डलाई उनको दल नेकपा (माओवादी केन्द्र) सँगै नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र नागरिक उन्मुक्तिले विश्वासको मत दिएका छन् । सरकारमा सहभागी हुन राजी भएका यी दलबाहेक नेपाली कांग्रेस, लोकतान्त्रिक पार्टी (लोसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि विश्वासको मत दिएका छन् । यी सबै दललाई मिलाएर लानुपर्ने प्रधानमन्त्री प्रचण्डलाई चुनौती छ ।

उनले सकेसम्म माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सरकारमै सहभागी गराएर अगाडि जान चाहन्छन् । माओवादी केन्द्रका एक पदाधिकारीले भनेका छन्, ‘उहाँ (प्रधानमन्त्री) एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादीलगायतका दलहरू पनि सरकारमै सहभागी भइदेऊन् भनेर सोच्नुहुन्छ । यसरी पनि छलफलहरू अगाडि बढेका छन् ।’

यस्तै विश्वासको मत दिएको कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डसँग छलफल अगाडि बढाएको छ । स्रोतहरूकाअनुसार उसले सभामुख, उपसभामुखलगायतका प्रमुख पदहरूका लागि प्रधानमन्त्री प्रचण्डसँग वार्ता गर्नेछन् । भर्खरै सकेको कांग्रेसकै केन्द्रीय बैठकले वार्ता गर्ने जिम्मा सभापति शेरबहादुर देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्कालगायतका नेताहरूलाई दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved