राप्रपा भन्छ- प्रधानमन्त्रीको ‘अफर’ आएपनि गठबन्धन छाड्दैनौँ

'सरकारमै सहभागी हुने संकेत'

राप्रपाले साथ दिए एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्रबाहेकका दलहरू समेटेर बहुमत पुर्‍याउने कसरतमा देउवा छन् ।

नेपालभ्युज

राप्रपा भन्छ- प्रधानमन्त्रीको ‘अफर’ आएपनि गठबन्धन छाड्दैनौँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गठबन्धन नछाड्ने बताएको छ ।

यसबीचमा राप्रपालाई प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको ‘अफर’ गरेको थियो । यसबारे नेपालभ्यूजले राखेको जिज्ञासामा राप्रपा महामन्त्री धवलशमशेर जबराले भने, ‘राप्रपा गठबन्धन छाड्ने पक्षमा छैन ।’

त्यसको कारण खुलाउँदै महामन्त्री जबराले थपे, ‘हामीलाई प्रधानमन्त्रीको अफर गर्ने दल नेपाली कांग्रेस आफैँभित्र विभाजित छ । यस्तो अवस्थामा हामी दाँयाबाँया गर्दैनौँ । गठबन्धनमै रहन्छौँ ।’

उनले राप्रपा पनि सरकारमै सहभागी हुने संकेतसमेत गरे । बाहिरै बसेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको राप्रपा सरकारमै जाने सम्भावना रहेको उनले बताए । ‘साझा कार्यक्रम बनाउनमा व्यस्त छौँ,’ उनले भनेका छन्, ‘हाम्रा केही सर्तहरू छन् । यदि ती सर्तहरू पूरा भएको खण्डमा सरकारमै जान पनि सक्छौँ ।’

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसद्‌मा विश्वासको मत लिँदैछन् । यसअघि कांग्रेसले सरकार ढाल्ने खेल सुरू गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री अफर गर्दै नयाँ गठबन्धनको प्रस्ताव राखेपछि राजनीति तरंगित भएको छ । लिङ्देनअघि देउवाले जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरेका थिए । यादवलाई उनले आफूहरू मिल्नुपर्ने बताएका थिए ।

राप्रपाले साथ दिए एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्रबाहेकका दलहरू समेटेर बहुमत पुर्‍याउने कसरतमा देउवा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved