कर्णाली प्रदेश : सरकारमा एमालेको आकांक्षा, नछोड्ने दाउमा माओवादी

 कर्णाली प्रदेश : सरकारमा एमालेको आकांक्षा, नछोड्ने दाउमा माओवादी

सुर्खेत। कर्णाली प्रदेश सरकार गठनमा नेकपा(एमाले) र माओवादी केन्द्रले आंकाक्षा राखेका छन् । अघिल्लोपटक पहिलो दल हुँदा पनि मुख्यमन्त्री नपाएको एमाले र विगतमा पूरा कार्यकाल खान नपाएको माओवादीले प्रदेश सरकारको नेतृत्वको आंकाक्षा राखेका छन् ।

एमाले बहुमत हुँदा पनि मुख्यमन्त्री आंकाक्षी रहेका एमालेका यामलाल कँडेल अहिले पनि मुख्यमन्त्रीको आंकाक्षा राख्दै प्रदेशसभामा निर्वाचन लडेका थिए । उनी अहिले एमालेको संसदीय दलको नेता रहेका छन् । माओवादी केन्द्रको संसदीय दलको नेतामा राजकुमार शर्मा रहेका छन् ।

कर्णाली प्रदेशसभामा ४० सिटमध्ये नेपाली कांग्रेसको १४, माओवादी केन्द्रको १३, एमालेको १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एक–एक जना सांसद रहेका छन् ।

कर्णालीमा एमाले–माओवादी, माओवादी–कांग्रेस र कांग्रेस–एमाले समीकरण बनाउँदा सहजै बहुमत पुग्छ । केन्द्रमा माओवादी, एमालेको सत्ता समीकरण भएका कारणले कर्णालीमा पनि एमाले र माओवादीकै सत्ता समीकरण हुने आँकलन गरिएको छ ।

तर, मुख्यमन्त्रीमा कर्णालीमा एमाले पाउने भनेर सामाजिक सञ्जालमा लेख्ने गरिएको भए पनि केन्द्रका नेतृत्वबीच सहमति हुन सकेको छैन । कर्णालीमा कसले नेतृत्व पाउँछ भन्नेमा यहाँका राजनीतिक दलहरू केन्द्रको निर्णयको पर्खाइमा रहेका रहेका छन् ।

नछोड्ने अडानमा माओवादी, यी हुन् कारण

कर्णाली प्रदेश सरकार नछोड्ने दाउमा माओवादी केन्द्र रहेको छ । जनधार मजबुत भएको भन्दै माओवादी केन्द्रले कर्णाली प्रदेश सरकार नेतृत्व आफूले पाउनुपर्ने लबिङ गरिरहेको छ ।

माओवादी केन्द्रका एक प्रभावशाली नेताका अनुसार कर्णाली प्रतिनीधिसभा १२ सिटमध्ये ४ सिट र देशभरका १८ सिटमध्ये ४ सिट कर्णालीमा विजय भएको, देशभरको समानुपातिक मतमा कर्णाली पहिलो भएका कारणले आफ्नै नेतृत्वमा कर्णाली प्रदेश सरकार बन्ने बताए । ती नेताले अर्को कारण भनेको सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्ष पूरा कार्यकाल खाएको र कर्णालीमा पूरा कार्यकाल नखाएका कारणले कर्णाली प्रदेश सरकारको पहिलो कार्यकालमा माओवादी नेतृत्वमा बन्ने बताए ।

कर्णालीमा माओवादीको जनधार राम्रो भएका कारणले आफूले कर्णाली प्रदेश सरकारको नेतृत्व पाउनु पर्ने लविङ भइरहेको त्यसका लागि मुल नेतृत्व सहमति जनाइसकेको एक नेताले बताए ।

कर्णाली प्रदेश सरकार बनाउनका लागि एमालेभन्दा माओवादी केन्द्र ठूलो पार्टी भएको उनले जानकारी दिए । तर, कर्णालीमा आफ्नो पहिलो पार्टी रहेको एमालेको दाबी छ ।

कर्णाली प्रदेश सभाको पहिलो बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीमा एमाले पहिलो पार्टी बनेको दाबी गरेका छन् । ‘प्रतिकूल राजनीतिक परिस्थिति र नाकाबन्दीका बाबजुत पनि कर्णालीमा एमाले पहिलो पार्टी बनेको छ ।’ उनले भने,‘प्रत्यक्षमा तल–बितल भए पनि पार्टीको मतको हिसाबमा एमाले पहिलो भएको छ ।’

कर्णाली प्रदेशसभामा एमालेले प्रत्यक्षतर्फ पाँच, नेपाली कांग्रेसले प्रत्यक्षतर्फ नौ, माओवादी केन्द्रले नौ र एक स्थानमा स्वतन्त्र सांसद विजयी भएका थिए । समानुपातिकतर्फ एमाले पाँच, नेपाली कांग्रेस पाँच, माओवादी चार, राप्रपा, एकीकृत समाजवादी एक÷एक सांसद भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved