मधेस प्रदेश : ज्येष्ठ सदस्य शारदा शंकर प्रसादबाट शपथग्रहण गराउने तयारी

मधेस प्रदेश : ज्येष्ठ सदस्य शारदा शंकर प्रसादबाट शपथग्रहण गराउने तयारी

जनकपुरधाम। मधेस प्रदेशसभाका नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सदस्य शारदा शंकर प्रसाद कलवारले शपथग्रहण गराउने भएका छन्।

संसद सचिवालयका सचिव रञ्जित यादवले ऐन, कानुन र संवैधानिक व्यवस्थाअनुसार कलवारले प्रदेशसभाको ज्येष्ठ सदस्यको हैसियतले नवनिर्वाचित सांसदहरूलाई शपथग्रहण गराउने कार्यक्रम तय गरिएको बताएका छन् ।

सचिव यादवका अनुसार प्रदेश प्रमुख हरिशंकर मिश्रले ज्येष्ठ सदस्य कलवारलाई पहिले शपथग्रहण गराउने र कलवारले अन्य प्रदेशसभा सदस्यहरूलाई शपथ गराउनेछन्।

सचिव यादवले भने, “कानुनी प्रावधान निर्वाचन ऐनमा व्यवस्था भएअनुसार उपस्थित सांसदहरूमध्ये ज्येष्ठ सदस्यले शपथग्रहण गराउनुपर्ने भएको हुँदा ज्येष्ठताका आधारमा नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य गोविन्द बहादुर न्यौपानेले शपथ गराउने तय भएको थियो । तर न्यौपाने अस्वस्थ रहेकोले शारदा शंकर कलवारले सांसदहरूको शपथ गराउने तयारी भएको छ। न्यौपानेको उमेर ७१ वर्ष छ भने शारदा शंकरको उमेर ७० वर्ष रहेको छ ।”

सचिव रञ्जित यादवले न्यौपाने नआउने भएपछि बारा २ को (१) बाट स्वतन्त्र निर्वाचित कलवारबाट नै ज्येष्ठ सदस्यको रूपमा शपथग्रहण गराउने कार्यक्रम तय गरिएको संसद् सचिवालयले स्पष्ट पारेको छ ।

यद्यपि, अहिलेसम्म प्रदेशसभा सदस्यलाई शपथग्रहण गराउनेबारे समय निश्चित भइनसकेको बताए। सचिवालयले अगामी आइतबारका लागि सर्वदलीय बैठक बोलाएको छ । सो बैठकबाट शपथ ग्रहणको मिति तय हुने उनले जानकारी दिए।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ ६४ जना र समानुपातिकतर्फ ४३ जना गरी १०७ जना सांसदहरू निर्वाचित भएका छन् । उनीहरूलाई शपथग्रहण गराएपछि मात्रै संसदीय गतिविधि अघि बढाउनुपर्ने व्यवस्था रहेको पनि संसद सचिवालयले जनाएको छ ।

यस्तो छ, मधेश प्रदेशसभाको अंकगणित

मधेस प्रदेशमा यसपटक नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, जनमत पार्टी, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहित १० वटा दलको प्रतिनिधित्व छ ।

यसअघिको कार्यकालमा जसपा पहिलो, नेपाली कांग्रेस दोस्रो, लोसपा तेस्रो, नेकपा एकीकृत समाजवादी पार्टी चौथो, नेकपा एमाले र नेकपा माओवादी पाँचौं दलको रूपमा थियो ।

यसपटक २०७९ को निर्वाचनमा मधेस प्रदेशसभामा एमालेले प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सिट पाएर पहिलो दल बनेको छ । यस्तै, नेपाली कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिट पाएर दोस्रो, जनता समाजवादी पार्टी प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरी १६ सिट पाएर तेस्रो, जनमत पार्टी प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सिटसहित चौथो दल बनेको छ ।

यस्तै, लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी ९ सिट पाएर पाँचौं, माओवादी केन्द्र प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी ८ सिट पाएर छैठौं तथा एकीकृत समाजवादी प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट पाएर सातौं दल बनेको छ ।

मधेस प्रदेशसभामा राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा १–१ सिट पाएका छन् भने यसपटक ६ जना स्वतन्त्र उम्मेदवारहरू पनि निर्वाचित भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved