खाँडाचक्र नगरपालिकामा कर्मचारीका आफन्त र श्रीमतीलाई समेत करारमा नियुक्त गरिएको खुलासा

नगरपालिकाले १०३ जना कर्मचारी भागबण्डाका आधारमा नियुक्त गरेको प्रशासन शाखाका प्रमुख शाहीले बताए । मेरो पनि भाग चाहियो भनेर  श्रीमतीलाई नियुक्त गरेको हो ।’ उनले भने,‘नियुक्ति गरेका १०३ जना कर्मचारीमध्ये ४१ जनाले मात्र काम गरेर तलब खाने गरेका छन् । अनि मेरो श्रीमतीले जागिर नखाने भन्ने हुन्छ ?’

खाँडाचक्र नगरपालिकामा कर्मचारीका आफन्त र श्रीमतीलाई समेत करारमा नियुक्त गरिएको खुलासा

सुर्खेत। कर्णालीमा श्रीमान् निमित्त प्रमुख प्रशासकीय अधिकृत भएपछि श्रीमती करारमा जागिरमा खुवाएको रहस्य खुलेको छ । कालिकोटको खाँडाचक्र नगरपालिकामा श्रीमान् निमित्त प्रमुख प्रशासकीय अधिकृत भएको बेला श्रीमतीलाई करारमा जागिरमा नियुक्त गरेको रहस्य खुलेको हो ।

खाँडाचक्र नगरपालिकाका प्रशासन शाखाका प्रमुख रहेका अविराज शाहीले आफू निमित्त प्रमुख प्रशासकीय अधिकृत भएका बेला श्रीमतीलाई सामाजिक परिचालक तह पाँचौँमा तहमा करारमा श्रीमती प्रगति ठकुरीलाई नियुक्ति दिएका थिए ।

स्थानीय तहको निर्वाचन घोषणा भएको बेला पूर्वनगरपालिका प्रमुखसँगको मिलेमतोमा शाहीले आफ्नो श्रीमतीलाई करारमा सामाजिक परिचालकको पाँचौं तहमा नियुक्त गरेका थिए ।

प्रशासन शाखा प्रमुख शाहीले २०७८ साल फागुन १ बाट तलब पाउने गरी सामाजिक परिचालक तह पाँचौँमा नियुक्त गरेर हाजिरचाहिँ प्रमुख शाहीले लगाउँदै आएको र कात्तिक महिनासम्मको तलव भुक्तानी लिएका छन् । शाही नेपाली कांग्रेस निकट कर्मचारी संगठनका नेता पनि हुन् ।

भागबण्डाका आधारमा कर्मचारी नियुक्त

खाँडाचक्र नगरपालिकामा भागबन्डामा आधारमा पूर्व जनप्रतिनीधि र कर्मचारी राखेको भन्दै हटाइएको थियो । राजनीतिक फाइदाका लागि नगरपालिका कर्मचारी र जनप्रतिनिधिले आफ्ना नातेदार कर्मचारी राखेका थिए ।

नगरपालिकाले १०३ कर्मचारी करारमा नियुक्त गरेको थियो । त्यसमध्ये अंधिकांश कर्मचारी र जनप्रतिनीधिका नातेदारले २०७८ साल फागुन १ गतेदेखि तलब खाने गरि करारमा नियुक्त गरिएको थियो ।

त्यही भागबण्डाका आधारमा नगरपालिकाको प्रशासन शाखा प्रमुख शाहीले श्रीमतीलाई नियुक्ति दिएका थिए । यसअघिको स्थानीय तहले नियुक्ति गरेका कर्मचारीलाई सेवाबाट हटाइएको थियो । सोही रिक्त कोटामा नियुक्त गरिएका कर्मचारीमध्ये केहीले तीन महिनाको हाजिर एकै पटक गरी बिनाकाम तलब बुझ्दै आएको नगरपालिकाका एक कर्मचारीले बताए ।

‘कर्मचारी र जनप्रतिनिधिले नक्कली कर्मचारी नियुक्त गरेर आफन्तको खातामा तलब भुक्तानी हुने गरेको थियो ।’ उनले भने,‘राजनीतिक आडमा नै यो ठूलो भ्रष्टाचार हुने गरेको थियो ।’

शाही भन्छन् मेरो श्रीमतीले जागिर नखाने भन्ने हुन्छ ?

नगरपालिकाले १०३ जना कर्मचारी भागबण्डाका आधारमा नियुक्त गरेको प्रशासन शाखाका प्रमुख शाहीले बताए । मेरो पनि भाग चाहियो भनेर  श्रीमतीलाई नियुक्त गरेको हो ।’ उनले भने,‘नियुक्ति गरेका १०३ जना कर्मचारीमध्ये ४१ जनाले मात्र काम गरेर तलब खाने गरेका छन् । अनि मेरो श्रीमतीले जागिर नखाने भन्ने हुन्छ ?’

शाहीले श्रीमती सामाजिक परिचालक भएको र प्रायः गाउँमा जाने भएकाले हाजिर आफैँ गर्ने गरेको बताए । ‘मेरो श्रीमती दक्ष भएरै नियुक्ति दिएको हो ।’ उनले भने, ‘सक्नेले गर्छ, नसक्नेले गर्दैन ।’

नगरपालिकाका एक कर्मचारीका अनुसार नगरका प्रमुख प्रशासकीय अधिकृत जसीप्रसाद चौलागाईं माघ १२ गते बिदामा बसेको मौका छोपी १३ गते प्रशासन शाखा प्रमुख अविराज शाहीले भर्ना गरेका थिए । निमित्त भएको मौकामा कर्मचारी आवश्यकता भएको सूचना प्रकाशन गरी १४ गते आफैँले करार सम्झौता गरेर कागजी प्रक्रिया पूरा गरेको जनाइएको छ ।

शाही भन्छन्. ‘फागुन १ गते श्रीमती नियुक्ति भएको हो । सात महिना मात्र जागिरमा राखेको हुँ तर अरूले वर्षौंसम्म तलबभत्ता खुवाएर राखेका छन् । मेरो थाहा पाउनुभयो अरुको पनि आफै पत्ता लगाउनुहोस ।’

नियुक्ति पत्रका आधारमा तलब खुवाइरहेका छौँ

नगरपालिकाले विगतदेखि  राखिएका आफन्त कर्मचारीलाई तलब खुवाइरहेको छ । शाहीको श्रीमतीलाई २०७८ फागुनदेखि २०७९ साल असोजसम्म आठ महिना तलब निकासा दिएको लेखा शाखा प्रमुख धीरबहादुर शाहीले बताए ।

‘नियुक्ति पत्रका आधारमा मैले तलव खुवाउने हो ।’ उनले भने,‘करार कर्मचारी नियुक्तिमा गडबड भएको सूचना कात्तिकमा पाएपछि तलब भुक्तानी रोकिएको छ ।’

करारका कर्मचारी हटायो नगरपालिकाले

पुराना जनप्रतिनीधि र कर्मचारीले नियुक्त गरेका कर्मचारी नयाँ जनप्रतिनीधि आएपछि हटाउने प्रयास गरे । तर, त्यो असम्भव भएपछि गत कात्तिकदेखि करारका कर्मचारीलाई तलबभत्ता दिन नगरपालिकाले रोक लगाएको छ ।

करार कर्मचारी भर्नामा गडबडी भएको सूचना पहिले नै पाएको र अहिले करारका कर्मचारी व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको नगरपालिका प्रमुख गणेश शाहीले जानकारी दिए । ‘खाँडाचक्र नगरपालिकामा सबै सेवाका (सूचनामा तोकिएका साझेदारी ससर्त अनुदानका समेत) कर्मचारीलाई हटाउने निर्णय सबैको लागि न्यायोचित छ । यसको मुल मर्म भनेको कर्मचारीको वैज्ञानिक व्यवस्थापन गर्नु हो ।’ उनले भने ।

सम्पूर्ण करार सेवाका कर्मचारीहरूको करार सम्झौता रद्द भइसकेको अवस्थामा ३५ दिनभित्र विधि प्रक्रिया पूरा गरेर आवश्यक कर्मचारी भर्ना गर्ने र आर्थिक कोषको पुनरावृत्ति गरेर सबैलाई न्यायोचित तरिकाले व्यवस्थापन गरिने उनले बताएका छन् ।

नगरपालिका दिन मान्दैन करारमा राखिएका कर्मचारीको विवरण

नगरपालिकाले पूर्व जनप्रतिनीधि र कर्मचारीका आफन्तलाई भागबण्डाका आधारमा नियुक्त गरेको भए पनि अहिले ती कर्मचारीको विवरण दिन आनाकानी गर्ने गरेको छ ।

कर्मचारीको विवरण पूर्व जनप्रतिनिधि र सबैले राखेको अहिले त्यो विवरण मिडिया तथा अन्यलाई उपलब्ध गराउन आवश्यक नरहेको एक कर्मचारीले बताए । ‘हामीले कर्मचारी र नेताहरूको विवरण दिन मिल्दैन । मिडिया भनेको राज्य हैन । राज्य त हाम्रो स्थानीय सरकार हो ।’ उनले भने, ‘मिडिया तथा अन्यमा नदिन हामीलाई दबाब छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved