जुम्लाका दुई गाउँमा लिफ्ट सिँचाई आयोजना

जुम्लाका दुई गाउँमा लिफ्ट सिँचाई आयोजना

सुर्खेत। जुम्लाका दुई गाउँमा लिफ्ट सिँचाई आयोजना निर्माण भएका छन्। जुम्लाको तिला गाउँपालिका–२ को लिही र लर्मी गाउँमा लिफ्ट सिँचाई आयोजनामार्फत सिँचाई सुविधा उपलब्ध भएको हो।

अनुकूलन कोषको आर्थिक सहयोग नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा पेस नेपालद्वारा लिफ्ट सिँचाई आयोजना निर्माण गरिएको हो।

लिही र लर्मी गाउँ कर्णाली राजमार्गमा र बजार नजिक भएकोले तरकारी खेतीको धेरै राम्रो सम्भावना रहेको, अहिले सिँचाइको समस्याका कारण किसानहरू वर्षायाममा मात्र तरकारी खेती गर्ने गरेको पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले बताए । ‘अन्य सिँचाई प्रणालीभन्दा लिफ्ट सिँचाई प्रणाली महँगो भएकोले स्थानीय समुदाय र गाउँपालिकाले निर्माणका लागि अनुरोध गरेको थिए’ उनले भने,‘उत्पादन र स्थानीय समुदायको जीविकोपार्जनमा दिगो सुधार ल्याउनका लागि यो आयोजनाको निर्माण गरिएको हो।’

तिला नदीबाट एक हजार ३२० मिटर लामो पाइप विस्तार, चार वटा पानी वितरण पोखरी निर्माण गरिएको र ३२ हेक्टर जमिनमा सिँचाई गर्न सकिने तिला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष चन्द्रबहादुर बोहोराले बताए।

‘कृषिका लागि प्लास्टिकको टनेलको प्रयोग, अन्तर खेती प्रणाली तथा खेतीको फेरबदलबाट उत्पादकत्वमा वृद्धिको हुनेछ’ उनले भने, ‘बजार मुखी नगदेबाली, रैथाने बाली जस्तै चिनो, कागुनो, कोदो, फलफूलमा स्याउ, ओखर, आलु, खुर्सानी, काक्रा, टमाटर, प्याज, लसुन, हरियो सागपातको उत्पादनमा सजिलो भएको छ।’

आयोजना निर्माणका लागि एक करोड ३५ लाख ११ हजार ४६२ रुपैयाँ खर्च भएको वडा अध्यक्ष बोहोराले बताए । ‘वडा नं. २ का ३६० घरपरिवार र वडा नं. १ का ५० घरपरिवार यो सिँचाई आयोजनाबाट लाभ प्राप्त गर्नेछन्’ उनले भने, ‘यो सिँचाई आयोजनाले खानेपानी र सिँचाइको लागि उपयुक्त रहेको छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved