शीर्ष नेताहरूलाई भेट्नुमा मेरो कुनै अपेक्षा छैन : अर्जुननरसिंह केसी

नेपालभ्युज

शीर्ष नेताहरूलाई भेट्नुमा मेरो कुनै अपेक्षा छैन : अर्जुननरसिंह केसी

काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीका शीर्ष नेताहरूसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको बताएका छन् । नेता केसीले वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत दलका शीर्ष नेताहरूसँग भेट गरेको बताएका हुन् ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले अहिलेको राजनीतिक स्थिति चुनौतिपूर्ण रहेको भन्दै जनमानसमा आएका नकारात्मक धारणालाई कसरी समाधान गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा नेताहरूसँग भेट बढाएको बताए । नेता केसीले स्थापित पार्टीहरूको नेता, नेतृत्व,नीति र कार्यशैलीको विरोधमा नो भोटका रूपमा नागरिकहरूले स्वतन्त्रहरूलाई भोट दिएको बताए ।

उनले भने, ‘अहिलेको वस्तुगत जुन खालको परिस्थिति छ । त्यसमा आउने यात्रा चुनौतिपूर्ण छ । जनमानसमा जुन एक किसिमको नकारात्मक धारणाहरू देखियो, सबै पार्टी र नेतृत्वले एउटा कुरा स्पष्टरूपमा बुझ्न जरुरी छ कि, हाम्रा स्थापित पार्टीहरूको नेता, नेतृत्व,नीति र कार्यशैलीको विरोधमा नो भोट जति स्वतन्त्रमा गएर थुप्रिएको हो भन्ने सहमति छ । अहिलेको वस्तुगत परिस्थितिको विश्लेषण गरौँ भनेर नै भेट गरिरहेको हो ।’

नेता केसीले अहिलेको परिस्थितिलाई नयाँपन र नयाँ बाटो दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार विरोधको आवाज, विधि विहीनता विरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा आफूले असल सांसदको रूपमा आफूले काम गर्ने बताए । उनले मन्त्रीमा आफ्नो कुनै अपेक्षा नरहेको भन्दै कसैसँग कुनै पनि पद माग्न नजाने स्पष्ट पारे ।

उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बेलामा ठूलाठूला भ्रष्टाचारका काण्डहरू भए, मैले दुई,चार महिना अघि मात्रै पनि वाइडबडी काण्डदेखि ३३ केजी सुनसम्म ओम्नी, यति प्रकरणदेखि बुढीगण्डकीसम्मका कुरा गरेर ताली खाने काम गरेपनि आफ्नै सरकार र आफ्नै पार्टी सभापति हुँदा ठूला काण्डहरूको बारेमा छानबिन हुन नसकेको बताए ।

उनले पूर्व प्रधानन्याधीश वा अन्य कसैको संयोजकत्वमा निष्पक्ष जाँचबुझ आयोग गठन गरेर वास्तविकता जनतालाई दिनुपर्ने आवश्यक्ता रहेको बताए । नेता केसीले यथास्थितिमा बसेर काम गर्न रहर नरहेको तर नयाँ सरकार र नयाँ पात्रहरूबाट देशका लागि केही गरौँ भन्ने किसिमको सरकार निर्माण भए देशका लागि केही योगदान गर्ने इच्छा रहेको बताए ।

उनले भने, ‘मेरो कुनै अपेक्षा छैन, अहिलेको परिस्थितिलाई नयाँ पन र नयाँ ड्राइभ दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार विरोधको आवाज, विधि विहीनता विरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा एउटा असल सांसदको रूपले मैले भूमिका निभाउँछु, त्यहाँ मात्रै म अहिले प्रथम चरणमा सिमित हुनेछु । कसैसँग केही माग्न जाने पक्षमा छैन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved