अध्यक्ष तिमिल्सिनाको गुनासो- सुविधा बढाउन नमान्दा कर्मचारीले माइक बिगारिदिए

नेपालभ्युज

अध्यक्ष तिमिल्सिनाको गुनासो- सुविधा बढाउन नमान्दा कर्मचारीले माइक बिगारिदिए
फाइल फोटो

काठमाडौं । संसद सचिवालयले १६ औँ संसद सेवा दिवस मनाइरहेको छ । संसद सेवा दिवस मनाइरहँदा भएका गतिविधिहरुले सबैको ध्यान तानेको छ । मंगलबार संसद सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद सचिवालयको लागि बजेट बढाउन नमिल्ने र जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरुले आफ्नो सुविधा थप गर्न माग गर्न नहुने बताएका थिए ।

अध्यक्ष तिमिल्सिनाको उक्त भनाइबाट रुष्ट संसद सचिवालका कर्मचारीहरुले बुधवार संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा पुस्तक विमोचन र प्राविधिक कुरामा समस्या खडा गरिदिए । तोकिएको समयमा कर्मचारीहरु कार्यक्रम स्थलमा नपुगेको र कार्यक्रममा माइक बिगारिदिएको आरोप अध्यक्ष तिमिल्सिनाले लगाए ।

सेवा, सुविधा अहिले बढाउनसक्ने अवस्था छैन भन्दैमा यस्ता त्रुटीहरु गरेको भन्दै उनले घोर आपत्ति जनाए । उनले कर्मचारीले जनतालाई दिने सेवा सुविधा र पाउने सेवा सुविधा एक आपसमा जोडिने भन्दै कहिले काहीँ सुविधाहरु कम हुँदा पनि सेवालाई अघि बढाउने कुरामा पछि हट्नु नहुने बताए ।

उनले विमोचन गर्ने पुस्तक ढिला ल्याउनु, राष्ट्रगान बजाउने बेलामा माइक नै बिगार्नु र प्राविधिक विषयमको व्यवस्थापन नभइकन कार्यक्रम सञ्चालन गर्नु सेवा नै नपुगेर हो ? भन्दै प्रश्नसमेत गरे । उनले आफ्ना दायित्व कर्मचारीहरुले पूरा नगरेको कुरा सम्झिने की नसम्झिने भन्दै प्रश्न गरे । उहाँले संघीय संसदमा काम गर्ने कर्मचारीले भन्सारको डिजी हुन चाहेको भाषणा गरेको भन्दै आपत्ति जनाए ।

अध्यक्ष तिमिल्सिनाले राजनीतिमा सांसद भएपछि मन्त्री हुनुपर्ने, मन्त्री हुन पाएन भने पार्टी फुटाउने काम गर्नु उचित नहुने भन्दै जनताले पुराना पार्टी र नेताहरुलाई यो निर्वाचनमा सुध्रिनका लागि अवसर दिएको समेत बताए । उनले माइक बिगारेर, कार्यक्रममा अन्टसन्ट गरेर सेवा,सुविधा बढ्छ भन्ने भ्रम पालेर नबस्न आग्रह गरे ।

अध्यक्ष तिमिल्सिनाले आफूले कोही पनि कर्मचारीलाई गोजीबाट पुरस्कृत र बढुवा गरेको देखाउन चुनौती दिँदै त्यस्तो पाए आफूले तत्काल पदबाट राजीनामा दिनेपनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved