दुप्चेश्वर मेला सम्पन्न

दुप्चेश्वर मेला सम्पन्न

त्रिशुली ।  नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६ राउतबेँसीमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा यो वर्षको मेला सम्पन्न भएको छ । यही मङ्सिर १७ गते एकादशीबाट सुरु भएको मेला उत्साहका साथ आज द्वितीयाको दिन सम्पन्न भएको हो ।

दोस्रो पशुपतिनाथका रूपमा परिचित दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको दिन विशेषरूपमा मेला लाग्न पुजारी भगवानहरि धितालले बताए । कोरोना महामारीका कारण पछिल्ला दुई वर्ष हुन नसकेको मेलामा यसवर्ष १५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । धान्य पूर्णिमामा दिन भने मेलामा पाँच हजारभन्दा बढी भक्तजनको सहभागिता थियो ।

करिब चार सय वर्षअघि राउतबेँसीका स्थानीय वासु तामाङको गाई सूर्यमती  ‘तादी’ नदी किनार छेउको भिरमा पुगेर बच्चा जन्माई भगवान्लाई दूध चढाएर बसेको स्थानलाई भक्तजनले दुप्चेश्वर महादेवको रूपमा पुज्दै आइएको छ ।

‘दुप्चेश्वर क्षेत्र विकास कोष’का संयोजक एवं दुप्चेश्वर गाउँपालिका अध्यक्ष शङ्कर थापाले गाईले दूध चढाइ बसेकाले सुरुमा दुधेश्वर महादेवको स्थानसमेत भनिने गरेको र पछिल्लो समयमा अपभ्रंश  हुँदै दुप्चेश्वर महादेवको नाम रहन गएको हो ।

समुद्रमन्थन गर्दा निक्लिएको कालकुट विष सेवनबाट छट्पटिएका महादेव शिव काठमाडौंको पशुपतिनाथ मन्दिर हुँदै नुवाकोटको दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड पुगेको किंवदन्तीसमेत छ ।

दुप्चेश्वर मेलाको चिनोका रूपमा बाँस र निगालोबाट बनेको थुन्से, नाङ्लो, भकारी, चल्नुलगायतका हस्तकलाका सामग्री, पशुचौपायलाई धुवाउन धुपीको लौरोको कारोबार हुने गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved