धनगढीमा सडक चौडा बनाउन अवैध संरचना भत्काउने कार्य तीव्र

उपमहानगरपालिकाले केही निजी संरचनामा समेत डोजर लगाएपछि हाल घरधनीले स्वस्फूर्त रूपमा संरचना भत्काइरहेका छन् ।

नेपालभ्युज

धनगढीमा सडक चौडा बनाउन अवैध संरचना भत्काउने कार्य तीव्र

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको मुख्य सडक फराकिलो पार्न ६० करोड बजेट विनियोजन गरेपछि अवैध संरचना भत्काउने कार्य तीव्र पारिएको छ ।

धनगढी उपमहानगरपालिकाले माग गरेपछि प्रदेश सरकारले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडक निर्माणका लागि ६० करोड बजेट विनियोजन गरेको छ । कैलालीपुलदेखि क्याम्स रोड सम्मको २ दशमलव ३ किलोमिटर क्षेत्रमा दुई सय २९ भौतिक संरचना भत्काउने तयारी छ ।

धनगढी उपमहानगरले मुख्य सडक फराकिलो बनाउन सडकको केन्द्रदेखि दायाँबायाँ १५-१५ मिटर क्षेत्र खालि गरिने जनाएको छ । यसअघि उपमहानगरले सडक क्षेत्राधिकार भित्र पर्ने संरचना खाली गर्न पत्राचार गर्दै भत्काउन सुरु गरेको थियो । केही निजी संरचनामा समेत डोजर लगाएपछि हाल घरधनीले स्वस्फूर्त रूपमा संरचना भत्काइरहेका छन् ।

उपमहानगरले विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरेर तिहारलगत्तै सडकको दायाँबायाँ १५-१५ मिटर सडक क्षेत्रभित्र पर्ने संरचना हटाउने निर्णयलाई कार्यान्वयनमा ल्याएको हो । उपमहानगरको यो निर्णयलाई नगरका बासिन्दाले खुलेर समर्थन गर्दै आ–आफ्नो संरचना भत्काइरहेका छन् ।

धनगढीको त्रिनगर माध्यामिक विद्यालयका प्रमुख भूपेन्द्र खडकाले आफुले पनि विद्यालयका ५ वटा सटर फोडेर उपमहानगरको अभियानमा सहयोग गरेको बताए । त्यस्तै स्थानीय नरेन्द्र बहादुर शाही भन्छन् ‘उपमहानगरपालिकाले १५ मिटर छोड्नु भनेको थियो, तर मैले १६ मिटर छोडेको छु। सडक चौडा बनाउने निर्णय एकदमै सहि छ, सबैले यो पालना गरेर सहयोग गर्ने हो भने धनगढी साँच्चिकै सुन्दर हुन्छ ।’

उपमहानगरपालिकाले धनगढीको मुख्य सडक छेउमा रहेका भौतिक संरचना हटाउन भदौमा सूचना जारी गरेको थियो । हुलाकी सडक आयोजनाले क्याम्पस चोकदेखि ट्राफिक चौराहासम्म संरचना हटाउन नसकी अलपत्र छाडेको सडकमा उपमहानगरपालिकाले डोजर चलाएपछि नगरका बासिन्दा खुसी छन् ।

अहिले धनगढीको मुख्य सडक साघुरो हुँदा ट्राफिक जामदेखि दैनिक सवारी दुर्घटना बढेको छ । सडक क्षेत्राधिकारभित्र पर्ने अधिकांश सरकारी भौतिक संरचनामा उपमहानगरपालिकाले डोजर चलाइसकेको छ ।

सडक फराकिलो बनाउने कार्यमा स्थानीयले  सहयोग गरेकाले निरन्तर रूपमा काम अघि बढेको मेयर गोपाल हमालले बताए । उनले संरचना भत्काउन सूचना जारी गर्दा ४२ वटा मुद्दा परेकोमा १८ जनाले फिर्ता लिएको र अझै लिने क्रम जारी रहेको पनि बताए ।

धनगढीको क्याम्पसचोकदेखि भन्सार रोडसम्मको सडक हुलाकी सडक आयोजना अन्तर्गत निर्माण हुने भनिए पनि तत्कालीन समयमा भौतिक संरचना भत्काउनुपर्ने भएकै कारण भारतीय कम्पनीले सर्वे गर्न अस्वीकार गरेको थियो । अहिले सुरु भएको मुख्य सडक समयमा नै निर्माण भए धनगढी बजारकै स्वरूप परिवर्तन हुने अपेक्षा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved