चुनावसँगै एमालेसँगको तालमेल पनि सकियोः जसपा अध्यक्ष यादव

नेपालभ्युज

चुनावसँगै एमालेसँगको तालमेल पनि सकियोः जसपा अध्यक्ष यादव
फाइल तस्वीर

काठमाडौं ।  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनाव सकिएसँगै एमालेसँगको तालमेल सकिएको र अब नयाँ धरातलमा नयाँ ढंगले अगाडि बढ्ने बताएका छन् ।

आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले एमालेसँगको सहकार्य गठबन्धन नभएर चुनावी तालमेल भएको जिकिर गरे । उनले भने,  ‘एमालेसँग तत्कालरुपमा केही सिटमा तालमेल गरेका हौं । कुनै मोर्चाबन्दी र गठबन्धन थिएन । चुनावमा हामीले केही सिट र एमालेले केही सिट छोडेको तर त्यो चुनावसँगै सकियो ।’

चुनाव सकिएसँगै नयाँ धरातलमा नयाँ ढंगले सबैले आ–आफ्ना ठाउँमा कसरी जाने तय गर्ने अवसर पाएको यादवले तर्क गरे ।

अब संघ र प्रदेशमा कसको सरकारलाई समर्थन गर्ने निर्णय पार्टीको कार्यसमिति बैठकले तय गर्ने बताए । उनले भने, ‘कसले सरकार बनाउँछ, त्यसले नीति के लिन्छन् त्यसले हाम्रो मुद्दालाई कसरी हेर्छन् र राष्ट्रिय समस्याहरुलाई कसरी हल गर्छन् । ती कुराको प्रस्टताका आधारमा हामीले समर्थन, विरोध वा सहकार्यको कुरा हुन्छ ।’

उनले अब बन्ने सरकारलाई आँखा चिम्लेर समर्थन नगर्ने बताए । भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित यादवले भने, ‘मुलुक आर्थिकरुपले निकै तल जाँदै छ त्यसलाई कसरी सम्हाल्नेलगायत विषय हेरेर सरकारको समर्थन गर्छौं ।’

संविधान संशोधन वा परिमार्जनको मुद्दालाई अगाडि बढाउने संकेत गरेका यादवले अहिलेकै अवस्थामा संविधानलाई अगाडि बढाए व्यवस्था नै धरापमा पर्ने जिकिर गरे । ‘निर्वाचन प्रणाली, न्यायिक प्रणाली, समावेशीकरणका सवाल, पहिचानका सवाल र प्रदेशलाई अधिकार सम्पन्न बनाउनेजस्ता आधारभूत कुराहरुलाई ठीक पार्नु आवश्यक छ,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved